दुई साता भयो, नेपालका प्रख्यात् होटल व्यवसायी, श्यामबहादुर पाँडेले यो संसार छाडेको । जसले यो देशको भ्रमणमा आउने पर्यटकलाई श्याङ्ग्रिला, अर्थात् स्वप्नलोकको चमत्कारिक उज्यालो अवलोकन गराउने गरेका थिए, नियतिले उनलाई नै हाम्रा माझबाट खोसेर लगेको छ । पाँचतारे होटल व्यवसाय गर्ने धेरै छन् । सफल पनि भएका छन् । तर विश्वको जुनसुकै कुनाबाट आएका पर्यटक किन नहुन्, तिनलाई यो देशको माया गर्न सिकाउने स्वप्नदर्शी आफैं भने उनले खडा गरेको भूस्वर्गमा अब छैनन् । हामी सबैलाई टुहुरा बनाएर उनी साँच्चैको स्वर्गलोकमा विचरण गर्न गइसकेका छन् ।
एक पटक उनको निकटमा पुगेको कसैले पनि उनलाई बिर्सन सक्तैनन्, किनभने उनको मन्दमुस्कानको जादू नै यस्तो थियो, जुन भारतको अयोध्याका रामको मूर्ति अथवा फ्रान्सको पेरिस संग्रहालयमा राखिएको मोनालिसाको तस्वीरभन्दा कम थिएन । अहिलेको शोकावस्थाको भावुकतामा त्यसको चर्चा गर्नुभन्दा यथासमय तिनमाथि प्रकाश पार्न सामयिक हुनेछ । नत्र उनले पनि एडमण्ड हिलारी, तेन्जिङ शेर्पा, टोनी हेगन, डेस्मण्ड डोईलाई मात्र होइन, बीपी कोइराला र आफ्नै सम्धी गणेशमान सिंहका देश र जनताका लागि गर्ने भनेको काम कहाँ पुगेको छ हँ, भनेर सोध्ने प्रश्नको के जवाफ दिउन् !
श्यामबहादुर पाँडे, उदार प्रजातन्त्रवादी, त्यसैले कांग्रेस समर्थक थिए । होटल व्यवसायका क्षेत्रमा मात्र होइन, समग्र आर्थिक विकासका दिशामा मुलुकलाई अघि बढाउन प्रजातान्त्रिक व्यवस्था अपरिहार्य छ भन्नेमा कुनै शंका नभएकाले उनी निख्खर प्रजातन्त्रवादी थिए । त्यसमाथि पनि बीपी कोइरालाको दूरदृष्टि र गणेशमान सिंहको त्याग र वलिदानप्रति उनको श्रद्धा उच्च कोटीको थियो । ती सबै विषय अर्थात् प्रजातान्त्रिक आन्दोलन र श्यामबहादुर पाँडेको योगदानमाथि भविष्यमा विस्तृत विवेचना गर्ने प्रतिवद्धता व्यक्त गर्दै ऐलेलाई बीपी कोइरालाको निधनभन्दा करीव एक वर्षअघिको शाङ्ग्रिला भिजिटको ऐतिहासिक प्रसंगको आड लिएर श्यामबहादुर पाँडेको अमर आत्माको चिरशान्तिको कामनासाथ यो लेखलाई यही विश्राम दिन्छु ।
“यो २०३८ साल मंसीर महिनाको एक बिहानको कुरा हो । अघिल्लो दिन, बीपी कोइरालाको स्वास्थ्यलाभको कामना गर्न भारतका विख्यात् समाजवादी नेता तथा जनता पार्टीका अध्यक्ष चन्द्रशेखर दिल्लीबाट काठमाडौं आउनु भएको थियो । बेलुका नै कोइरालाजीलाई भेट गरेर उहाँ आफू बस्ने एभरेष्ट होटलमा फर्कनु भएको थियो । भोलिपल्ट लगभग ११ः३० बजे उहाँ एक्लै होटलको गाडीमा चावेललस्थित कोइराला निवास आइपुग्नु भयो । कोइरालाजीले आफूलाई भेट्न आउने साथीहरु सबैलाई बिदा गरिसक्नु भएको थियो । केही अटेरी मात्र बाँकी थिए । उनीहरु चन्द्रशेरखरजीलाई भेटेर मात्र जान पर्खेर बसेका थिए । तीमध्ये म पनि एक थिएँ । मेरो दाउ बेग्लै थियो, मौका परे उहाँको एउटा अन्तरवार्ता फुत्काउने । तर उहाँले आफू कोइरालाजीलाई भेट्न र स्वास्थ्यलाभको कामना गरेर फर्किन मात्र आएको बताउनुभयो, कोइरालाजीले काठमाडौंमा नयाँ खुलेको राम्रो होटलमा मिठो खाना ख्वाउन लैजान्छु भन्नु भएकाले उहाँको आज्ञा पालन गर्न मात्र आएको हुँ, अन्तरवार्ताको पासोमा पर्न होइन, भनेर टक्टकिनु भयो । मैले पनि ढिपी छाडिन ।
लुगा फेरेर आउँछु भनेर जानु भएका कोइरालाजी भ¥याङ् उक्लिन मात्र लाग्नु भएको थियो, चन्द्रशेखरजीसंग मेरो गलफति परेको देखेर उहाँ फर्केर आउनु भयो र मेरो परिचय गराएर यिनको पुनर्जागरण हाम्रै पत्रिका हो, त्यसैले हामी सबैले सहयोग गरेका छौं, तपाई पनि अन्तरवार्ता दिएर सहयोग गरिदिनोस् । कन्ट्रोभर्सी हुने छैन, त्यसमा धन्दा मान्नु पर्दैन, भन्नुभयो ।
चन्द्रशेखरजीले हाँसेर भन्नुभयो– ठीक है, आप तैयार होकर आइए, तबतक मै यिन सें निपट लुंगा ।
मसंग क्यासेट र प्रश्नको लिस्ट तयार थियो । त्यसरी एउटा विचारोत्तेजक तथा प्रभावशाली अन्तरवार्ता तयार भयो । चन्द्रशेखरजी त्यही दिन बेलुका दिल्ली प्रस्थान गर्नु भयो । भोलिपल्ट बिहानको भेटघाटपछि कोइरालाजीले अन्तरवार्ताका वारेमा सोध्नुभयो । मैले त्यो त हिजो बिहानै तयार पारिसकें भनें । उहाँ खुशी हुनुभयो र शाङ्ग्रिला होटलको भव्य सजावट र उच्च कोटिको आत्मीय अतिथि सत्कारबाट आफू मुग्ध भएको घटनामाथि प्रकाश पार्नथाल्नु भयो ।
कोइरालाजी खानाको त पारखी हुनुहुन्नथ्यो नै, साजसज्जामा प्रयुक्त कलात्मकताको शुक्ष्म अन्वेषक पनि हुनुहुन्थ्यो । शाम्वाला नामाकरण गरिएको खुला बगैंचा, जसको डिजाइन प्रख्यात् पत्रकार तथा कलाकार डेस्मोन डोईले गरेका थिए, त्यसको पनि उहाँले खुलेर तारिफ गर्नुभयो । कोइरालाजी आफैं सिद्धहस्त साहित्यकार हुनुहुन्थ्यो, त्यसैले पनि काठमाडौंमा त्यसअघि नदेखेको प्राकृतिक छटा झल्कने रंगीचंगी फूलका बिरुवाले सजिएको होटलको खुला बगैंचालाई कलात्मक तरीकाले श्रृगारेर प्रस्तुत गरिएको चित्ताकर्षक दृश्यले सम्पूर्ण वातावरणलाई नै मनमोहक तुल्याएको थियो । बडो उत्साहपूर्ण ढंगले कथा वर्णनको शैलीमा होटलको वर्णन जसरी गर्नु भएको थियो, त्यसले हामी जो त्यस दिनका श्रोता थियौं, सबैलाई शाङ्ग्रिलाको सत्कार प्राप्त गर्न आतुर तूल्याइदिनु भएको थियो ।” (देशान्तर साप्ताहिकबाट)
प्रतिक्रिया