सम्माननीय प्रधानमन्त्री खड्गप्रसाद ओलीसँग पहिलो (वास्तवमा एकल) साक्षात् भेट १८÷१९ वर्ष पूर्व भएको थियो । उहाँ त्यसबखत उपप्रधान एवंं परराष्ट्रमन्त्री हुनुहुन्थ्यो । उहाँको स्वागतार्थ स्विट्जरल्यान्ड)का महामहिम राजदूत डा. शम्भु सिँखड़ाले सामूहिक ‘लन्च’ भेटघाट कार्यक्रमको आयोजना गर्नुभएको थियो । झन्डै दुई घण्टा ढिलो गरेर सेतो कुर्ता सुरुवाल पहिर्याइएका ओलीज्यू हाम्रासामु ‘जेट ल्याग भएछ । म ता निदाएको निदाए नै भएँ’ भन्दै उपस्थित हुनुभयो । ढिला गरेर कुरा दिएबापत उहाँमा कुनै क्षमाको भाव थिएन । त्यहाँ खडा भएका हामी ८÷१० जनामध्ये एक मित्रले आफ्नो परिचय दिन सुरु गरेका मात्र के थिए तिनलाई रोक्दै ‘नाम म बिर्सी हाल्छु त्यसको आवश्यकता छैन’ भन्नुभयो । एमाले नेताको अनायासै समय खेर जान नदिने शैलीलाई खुबै जँच्यो । उहाँको अनौपचारिक शैली रमाइलो थियो । सुरुमै उहाँले आफ्नै दल सभापति मनमोहन अधिकारीको क्याबिनेटमा सहभागी हुँदाका अनुभव छोटकरीमा वर्णन गर्नुभयो । ‘माधव (उपप्रधान एवं परराष्ट्रमन्त्री) जस्तो ‘वाइह्यात’ व्यक्तिलाई शक्तिशाली पदमा आसीन हुने निर्णयलाई उहाँले ‘महान् गल्ती गरेको’ भन्नुभयो । त्यसपश्चात् उहाँले प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको विस्तृत बयान गर्न थाल्नुभयो । गिरिजाप्रसादको गुणवर्ण शैली पञ्चायती कालकै थियो । पञ्चहरूले राजाको गुणगान गरेको भाषाको अत्यधिक प्रयोग गर्नुभयो । उहाँको भनाइमा नेपालमा मात्र होइन एसियाकै महान् नेताको कोटीको नेता थिए गिरिजाप्रसाद । गिरिजाप्रसाद तथा मनमोहनबीच तुलना सायद गर्दै हुनुहुन्नथ्यो ।
घडी हेरेर ‘ए राजदूतजी मित्रहरूलाई भोक लागिसक्यो होला । के छ तपाईंले उहाँहरूलाई खुवाउने गरेको व्यवस्था’ भन्दै ‘ल खान जाउ राजदूतले तपाईंहरूलाई मेरा स्वागतार्थ लन्चको व्यवस्था गरेका छन् भन्ने सुनेको थिए । राम्रै त होला’ फतपÞmते शैलीमा भुतभुताउँदै उहाँ राजदूतावास भवनतर्फ लाग्नुभयो । हामी उहाँकै पछि लाग्यौं। लन्च खाँदाखाँदै उपप्रधानमन्त्री आफ्नो कक्षतर्फ हिँडनु भयो । हामी अलमलमा पर्यौं । त्यतिन्जेलसम्म बेलुकी ५ बज्न लागिसकेको थियो । राजदूत महोदयलाई धन्यवाद दिँदै हामी आफ्नो डेरातर्फ लाग्यौं ।
घर फर्कंदै गर्दा बाटोमा धेरै कुरा मनमा खेले । ओलीज्यूको व्यक्तित्व विद्यार्थी हँुदा पढेको जेम्स हार्डली चेल्सको एउटा पुस्तक ‘फ्लेस अफ द अर्चाड’मा बर्णन गरेको प्रमुख पात्रको नेपाली संस्करण जस्तो लाग्यो । त्यही उचाइ शारीरिक बनावट तथा सबैलाई होच्याउन सक्ने व्यक्तित्व । जेनेभामा महामहिम राजदूतको सौजन्यमा देखेका एमाले नेता जस्तै राजेन्द्र श्रेष्ठ तथा उपप्रधानमन्त्री माधव नेपालभन्दा पृथक् थियो । मित्र भीम उदासको अतिथि भएर बस्नु भएको पूर्वमन्त्री (त्यहाँ आउँदा) झलानाथ खनालजस्तो संवाद रुचाउने उहाँ हुनुहुन्नथ्यो । राजदूतावासमा २÷४ पटक भेटेर गपिÞmएका आरके मैनाली तथा संसद प्रेमसिंह धामीजस्ता मिलनसार स्वभाव उहाँमा पटक्कै थिएन ।
भूमिगत तथा जेल जीवनी बितेका अग्रपंक्तिका एमाले नेताहरूका विषयमा धेरथोर सुनेको थिएँ । उहाँहरूसँग बिगतमा परिचित हुने अवसर मिलेको थिएन । वास्तवमा उहाँहरूलाई देखेको पनि थिइनँ । परिचित कांग्रेस तथा पञ्च नेताहरूको भन्दा उहाँहरूको बोली व्यवहार फरक थियो । उहाँहरूसँग संवाद गर्न पाउँदा नौलो तथा अनौठो अनुभूति हुने गर्दथ्यो । ओलीसँग दोहोरो संवाद गर्ने सौभाग्य कहिल्यै पनि मिलेन । कुनै पनि मानिसहरूबाट चाँडै प्रभावित हुने आदत छ । त्यस दिनपछि धेरै दिनसम्म मलाई लाग्थ्यो गिरिजाप्रसादले कांग्रेस ओलीलाई कांग्रेस दल प्रवेश गराउँदै हुनुहुन्छ । त्यही कारणले गर्दा गिरिजाप्रसादले एमाले वरिष्ठ नेतालाई क्याबिनेटमा उपप्रधान एवं परराष्ट्रमन्त्री चयन गर्दै हुनुहुन्छ । ओली कांग्रेस प्रवेश कुन हैसियतमा गर्लान् ? समकालीन कांग्रेस नेताहरूले तिनलाई कसरी स्विकार्लान् ? तिनको प्रवेशपछि कांग्रेस दलको भविष्य कस्तो होला ? सोच्दा साच्दै मस्त निदाएँ ।
कालान्तर, साक्षात् नभएता पनि टेलिभिजनको पर्दामा ओलीज्यूसँग बरोबर भेट हुने अवसर जुर्दै आएको छ । केही वर्ष पूर्व उहाँ सत्तासीन हुँदा प्रयोग गर्न दिएको विद्युुत् प्राधिकरणको ‘गाडी’ फिर्ता प्रकरण, एमाले अध्यक्ष पद निर्वाचन हार व्यहोर्दा तथा ‘चरी’ नाम गरेका गुण्डा नाइकेलाई प्रहरीले हिरासतमा लिँदा उहाँबाट भएको विरोध । विद्यार्थी जीवनमा देखेको ताण्डव नृत्यजस्ता थिए । आलोपालो प्रधानमन्त्री पद प्राप्त गर्दा पद त्याग पूर्व ओलीले तोडेको ‘भद्र सम्झौताहरू’ पदत्याग कुनै पनि हालतमा नगर्ने तिनको जिद्दी । शक्तिशाली दुईतिहाइ प्राप्त कम्युनिस्ट दल स्वघोषित कोपाइलट एवं सहअध्यक्ष प्रधानमन्त्री खड्गप्रसाद ओली । तिनले आफ्नो नेतृत्वको सरकारमा बिना कुनै सर्त कांग्रेसलाई सामेल हुन गरेको आह्वान आदि । ‘देशलाई भ्रष्टाचारमुक्त तुल्याउने । भ्रष्टाचारीलाई नजिक नराख्ने । शून्य सहनशीलता नीतिका घोषणा । जस्ता फलाक्दै गर्दा तिनकै कार्यकक्ष निर्माण प्रक्रियामा भएको भ्रष्टाचार । तिनको सबल नेतृत्वको सरकारको पालोमा भएका बहुप्रचारित भ्रष्टाचारका काण्डहरू (वाइड बडी जहाज खरिद प्रकरण, यती कम्पनीलाई कानुनी प्रक्रिया त्यागेर सुम्पिएको सरकारी सम्पत्ति, कोभिड महामारीबाट देशलाई बिना कुनै पूर्वतयारी तथा सूचना चार दिवारमा अनिश्चित कालसम्म कुल्चन बाध्य नागरिक । जीवन जोगाउन धौ धौ परेका नागरिकका निमित्त खरिद गरिएका कोभिड उपकरण प्रकरण, पशुपति झलारी काण्ड । आदि आदिलगायत तिनको शरणमा रामभक्त हनुमान हुन पुगेका माओवादी अध्यक्षप्रतिको तिनको व्यवहार । पटकपटक तिनले संविधानलाई लत्याउँदै संघीय संसद्उपर गरेको खड्ग प्रहार आदि जति बिर्सन खोज्दा पनि दिमागमा घुमिरहने घटना हुन् ।
ओलीले गिरीबन्धु चिया बगानको जमिन ‘कांग्रेसले बेचेर खाएको’ आरोप लागेका । ‘झुट नबोल्ने’ काग्रेस अध्यक्षले कांग्रेसले होइन एमालेले बिक्री गरेको वास्तविकता खोलेको केही दिनपछि नै त हो ओली निवासमा दही चिउरा प्रीति भोजको आयोजना भएको । उक्त भोजले एमालेसँग कांग्रेसलाई लगनगाँठो कस्न कति हतारो गरेको जस्तो लाग्छ । बिना कुनै पूर्वाग्रह भन्नु पर्दा एमाले कांग्रेसलाई मैत्री पूर्ण नजरले न विगतमा हेरेको थियो न उसले भविष्यमै हेर्नेछ । एमाले नेता हुन् अथवा माओवादी तिनका निमित्त कांग्रेस जन्मजात शत्रु हो । बुर्जुवाको दल नेपाली कांग्रेसको सामीप्य कम्युनिस्ट आउने भनेको कांग्रेसलाई सकाउनकै निमित्त मात्र हो । अवसर मिल्द साथै कम्युनिस्टले रुसमा बोल्सेभिकले समाजवादीलाई सखाप परेजस्तै नेकालाई सखाप पार्नेछन् । प्रजापरिषद्ले के नीति भोग्यो कम्युनिस्टसँग गाँठो कस्दा त्यो सम्झनलायक हुन्छ ।
साढ़ेको फलको आशा गर्ने स्यालजस्तै लोकतन्त्रवादीहरू कुनै दिन एमालेले पनि लोकतान्त्रिक धारमा समायोजित हुन्छ भन्ने आशा गर्छन् । त्यस दिनदेखि एमाले लोकतान्त्रिक समाजबादी दल बन्नेछ भन्ने कल्पना धेरै कांग्रेसजनले गर्न सक्छन् । त्यो सोच राख्ने कांग्रेसजनले के सोच्दै सोच्दैनन् भने नेपाली कम्युनिस्टहरू कमाउनिस्टमा रूपान्तरित भइसकेका छन् । कांग्रेस तिनको नजरमा रहुन्जेलसम्म उनीहरूलाई सत्तामा एकलौटी कायम गर्न कठिन हुन्छ । ओलीले दुई वर्ष पुग्न एक महिना पूर्व सत्ता छोड्ने घोषणा गरेका छन् । अर्थात् तिनले ९५ हप्ता सत्तासीन हुनेछन् । उक्त शासन अवधिको पहिलो हप्तालाई कुन दिन मान्ने हुन् तिनले त्यसको भरोषा गर्ने कुनै आधार छैन । एमाले कांग्रेसबीचको गठबन्धनलाई जतिसुकै सकारात्मक दृष्टि राखेर हेर्दा पनि मन भरंग भइनै हाल्छ । अघिल्लो रातसम्म ‘नर्क स्वर्ग सँगै जाने’ वाचा गर्ने महान् कम्युनिस्ट नेताले जादुको नम्बर लिएर खडा भएको पुष्पकमल दाहालको राडी फुत्त तानेर उत्तानो तिनलाई पछारेको चेतना ‘झूट बोल्न’ नसक्ने शेरबहादुर देउवाले खुलासा गरेपछि मात्र भएको थियो । त्यही नियति शेरबहादुर देउवाले भोग्नुपर्ने छैन भने र कसले ग्यारेन्टी गर्ने ?
उक्त ग्यारेन्टी नेपाली कांग्रेसका ती ८ उदीयमान नेताहरूले अवश्य पनि दिन सक्दैनन् । ‘बा’ का डमरुमा प्रत्येक दिन परिणत हुनेबाहेक तिनीहरूसँग अरू चारा नै के छ ? ‘बा’ नेतृत्वको क्याबिनेट सदस्य हुनु भनेको तिनको आज्ञा पालक हुनु नै हो । तिनको हैसियत ‘केटो’को भन्दा किमार्थ पृथक् हुनेवाला छैन । तिनको सनकमा निर्णय गर्ने आदतको मतियार हुनुको बिकल्प उनीहरूसँग हुनेवाला छैन । अन्यथा तिनले मन्त्रिमण्डल समावेशी नभएको गुनासा जनसमक्ष खुलासा गर्ने थिए । अलिकति भए पनि नेपालको मान र सान राख्न सक्ने व्यक्तिलाई राजदूत चयन गर्न दबाब दिने थिए । पजनी प्रथालाई दोहोर्याएर सचिवहरूको सरुवा हुन दिने थिएनन् ।
नेका सभापतिको निर्णय साहिली विचित्रको छ । कहिले तिनी पुष्पकमल दाहाललाई पाँचै वर्ष प्रधानमन्त्री होइदिन अनुरोध गर्छन् । रवि लामेछानेलाई पनि तिनले अनुरोध गर्न भ्याई दिइए । त्यस्ता अनुरोध गर्दा तिनी कांग्रेस दल अध्यक्षको हैसियतमा हुन्छन् अथवा कुनै त्रसित घरमुलीको हैसियतमा हुन्छन् । कांग्रेसजनलाई सभापतिसँग स्पष्टीकरण माग गर्ने हिम्मत हुँदैन । यदि केही हुन्छ भने झिंगाले पाखुरा निमोठेजस्तो गरेर पाखुरा निमोठ्ने जाँगर । कांग्रेसजनले शायद स्वरसम्राट् नारायणगोपाल गुरुवाचार्यको गीत गुनगुनाई रहन्छन् ‘छाती माथि ढुंगा राखी हाँस्नु परेको छ ।’ (देशान्तर साप्ताहिकबाट)
प्रतिक्रिया