देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेसले गण्डकीको संसद् बैठक बहिष्कार गर्ने :बैठक सञ्चालन नगर्न सभामुखलाई आग्रह

देशान्तर

काठमाडौ । नेपाली कांग्रेसले गण्डकीको संसद् बैठक बहिष्कार गर्ने भएको छ । संसदीय दलको बैठकले संसद बैठक र कार्यव्यवस्था परामर्श समितिको बैठक समेत बहिष्कार गर्ने निर्णय गरेको हो ।

दलका नेता सुरेन्द्रराज पाण्डेले प्रदेश प्रमुख र मुख्यमन्त्रीले गैरसंवैधानिक काम गरेको र असंवैधानिक हिसाबले बोलाइएको बैठकमा सहभागी नहुने निर्णय भएको बताएका हुन् । कांग्रेसले बैठकको निर्णयसहित ज्ञापनपत्र सभामुख कृष्ण धिताललाई बुझाएको छ ।

सर्वोच्च अदालतबाट प्रदेश सरकारलाई नियमित कार्य सञ्चालन बाहेक दीर्घकालीन असर पर्ने प्रकृतिका निर्णय नगर्न आदेश भएको र यस्तो परिस्थितिमा प्रदेशसभाको अधिवेशन बोलाइएकोले उक्त अधिवेशन बोलाउने कार्य पनि गैरकानुनी र सर्वोच्चको आदेश विपरीत कार्य भएको ज्ञापन पत्रमा उल्लेख छ ।

आदेश र मुद्दाको पेशी समेतलाई बेवास्ता गर्दै अधिवेशन आह्वान गर्न सिफारिस गर्नु र प्रदेश प्रमुखले अधिवेशन आह्वान गर्नु दुवै गैरजिम्मेवार काम भएको कांग्रेसको तर्क छ । कांग्रेसले मुद्दाको किनारा नलाग्दासम्म कुनै पनि बैठकमा सहभागी नहुने निर्णय सभामुखलाई सुनाएको छ । बैठक सञ्चालन नगर्न पनि सभामुखलाई कांग्रेसले आग्रह गरेको छ ।