देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भक्तपुरको स्तरोन्नति

देशान्तर

भक्तपुर । बागमती प्रदेश सरकारले जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भक्तपुरलाई अब १६ शैयाको जिल्ला आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा स्तरोन्नति गर्ने भएको छ  । स्तरोन्नति गर्ने निर्णय सँगै दरबन्दी पनि स्वीकृत भएको छ ।  अब चाँगुनारायण नगरपालिका–७ खारिपाटी कृषि सेवा केन्द्रमा रहेको २१ रोपनी सार्वजनिक जग्गा मध्ये ११ रोपनी जग्गामा उक्त अस्पतालको भवन निर्माण गर्ने प्रक्रिया अगाडि बढ्ने भएको छ । 

यस अघि जिल्ला आयुर्वेद अस्पतालका लागि नगरपालिकाले ११ रोपनी जग्गा अस्पताल निर्माणका लागि प्रदान गर्ने निर्णय गरेको थियो । प्रदेश सरकारले आयुर्वेद स्वास्थ्य केन्द्रलाई अस्पतालमा परिणत गर्ने निर्णय गर्दै दरबन्दी थप गरेकोमा खुसी व्यक्त गर्दै चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले अहिले कमलविनायकमा भाडाको भवनबाट सेवा प्रवाह गर्दै आएकोमा सरकारले छिटो निर्णय गरिदिए अर्को वर्ष भवन निर्माणले सार्थकता पाउने बताए । 

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भक्तपुरका प्रमुख डा. नरेन्द्रप्रसाद गिरीले चाँगुनारायणको जग्गा उपयुक्त भनेर सिफारिस गरेको भए पनि सरकारले जग्गा उपलब्ध गराउने निर्णय नगरेसम्म भवन निर्माणको प्रक्रिया अगाडि नबढ्ने बताएका छन् । अहिले दैनिक ५० जना भन्दा बढी बिरामीलाई ओपिडी सेवा दिँदै आएको र  जिल्लामा भवन बन्न सके आयुर्वेद उपचारले फड्को मार्ने उनले बताए ।