देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

विवादित डा. शर्मा र केएमसी

देशान्तर


काठमाडौं । कहिले सदनमा आफ्नै पार्टीका मन्त्रीको राजीनामा माग्ने, कहिले संसद् भवनभित्रै आमरण अनशन बस्छु भन्ने, कहिले केपी बा जिन्दावादको नारा लगाउने आईएस्सी उत्तीर्णको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली बोकेको आरोप खेपिरहेका नेपाली कांग्रेसका तर्फबाट निर्वाचित विवादित मेडिकल व्यवसायी डाक्टर सांसद सुनील शर्माले आफ्नो सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) का आवासीय डाक्टर विशद दाहाललाई प्रतिशोधपूर्ण तरिकाले निलम्बन गरेर अर्को विवाद निम्त्याएका छन् ।


दाहाललाई निलम्बन गर्दा अपनाउनुपर्ने न्यूनतम प्रक्रिया पनि नपनाएको र प्रतिशोध साँधेर निलम्बन गरिएको भन्दै अहिले केएमसीको निर्णयको चौतर्फी आलोचना भएको छ । कलेजले उनलाई निलम्बन गर्नुअघि पहिले मौखिक र त्यसपछि पनि लिखित स्पष्टीकरण सोध्नुपर्नेमा त्यसो नगरेको पाइएको छ । निलम्बन नियमसंगत र मनासिव कारणसमेत नभएको भन्दै आवासीय चिकित्सकहरू आन्दोलनमा छन् भने नेपाल चिकित्सक संघले पनि निर्णय तत्काल फिर्ता लिन र नलिए आन्दोलन गर्ने चेतावनी दिएको छ । संघले गत शुक्रबार एक विज्ञप्तिमार्फत निलम्बन फिर्ता गरेर अध्ययन, अध्यापनका लागि अघि नबढाए आवासीय चिकित्सकका संघसंस्थासँग छलफल गरी आन्दोलनका कार्यक्रम सार्वजनिक गर्न बाध्य हुने बताएको छ ।
शर्मा सञ्चालक रहेको केएमसीले गरेको यो प्रकरणमा दाहालको निलम्बन फिर्ता गर्न निर्देशनसहित काठमाडौं विश्वविद्यालयले कलेज प्रशासनलाई गत मंगलबार पत्र पठाएको थियो । केयूले दाहालको निलम्बनबारेको पत्र प्राप्त भएको जनाउँदै हाललाई उक्त निर्णय स्थगन गरिएको जानकारीसहित केएमसी कलेजमा एमडी, इन्टरनल मेडिसिनको दोस्रो वर्षमा अध्ययनरत डा.दाहाललाई निलम्बन गरिएको बारे चिकित्सा शिक्षा आयोगको पनि पत्र प्राप्त भएको भन्दै तीन बुँदामा जवाफ मागेको थियो । केयूको उक्त निर्देशनपछि अध्ययनका लागि सिनामंगल पुगेका दाहाललाई कलेज प्रशासनले छिर्न रोक लगाएको छ ।


यता संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले केएमसीमा उत्पन्न विवाद छानबिन गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको गत बिहीबार बसेको बैठकले शिक्षा मन्त्रालयलाई केएमसीमा भएको विवादबारे छिटो छानबिन गर्न निर्देशन दिएको हो । फिल्ड वर्क र कलेज प्रशासनको विकृतिबारे सार्वजनिक रूपमा आवाज उठाएपछि डा. दाहाललाई केएमसीले पुस १२ गते एक महिनाका लागि निलम्बन गरेको थियो । कलेजले आवासीय चिकित्सकहरूलाई स्वास्थ्य शिविरहरूमा बढी खटाउन थालेकोबारे दाहालले गत वर्षदेखि नै कुरा उठाउँदै आएका थिए । सांसद शर्माले केएमसीमार्फत पहिल्यैदेखि विभिन्न ठाउँहरूमा यस्ता स्वास्थ्य शिविरहरू सञ्चालन गर्दै आएका छन् । जहाँ उनको स्वार्थ पनि जोडिएको प्रस्ट छ । उनी आफ्नो प्रभाव छोड्नका लागि शिविरहरू सञ्चालन गर्दै आएका छन् ।


दाहालले राजनीतिक र व्यक्तिगत स्वार्थका लागि कलेजले प्रयोग गरेर श्रम शोषण गरेको बताएपछि निलम्बन गरिएको थियो । उनी पहिलादेखि नै डा. गोविन्द केसीको आन्दोलनका समर्थक हुन् । त्यसकारण पनि कलेज प्रशासनको तारो बनेको हुन सक्ने उनको बुझाइ रहेको जनाइएको छ । दुई वर्षअघि पनि केएमसी एमबीबीएस र बीडीएसका विद्यार्थीसँग चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा अतिरिक्त शुल्क उठाउन खोजेर विवादमा परेको थियो । चिकित्सा शिक्षा आयोगले तोकेको शुल्क भन्दा २० लाख बढी शुल्क असुल्न खोजेको थियो ।