देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

वीरका उपसचिवद्वयको कमाउ धन्दा

देशान्तर


काठमाडौं । मुलुककै जेठो र गरिबको भरपर्दो अनि विश्वासिलो वीर अस्पतालका दुई जना उपसचिवले अदालतबाट थमौती पाएका कार्यकारी निर्देशक डा. सन्तोष पौडेलसँग मिलेर अनियमितता गरेको भन्दै वीरका कर्मचारीहरूले छानबिनको माग गरेका छन् ।


उपसचिवद्वय थमनारायण शर्मा र बाबुराम घिमिरेले निर्देशक पौडेलसँग मिलेर प्रशासनिक अनियमितता, प्रि–पेड भ्रष्टाचार गरेको भन्दै वीर अस्पताल केन्द्रका कर्मचारीहरूले राष्ट्रिय सतर्कता केन्द्रसहित विभिन्न निकायमा उजुरी दिएका छन् ।
अनियमितताको फेहरिस्त भए पनि यसबारे सञ्चारमाध्यम बोल्न भने कर्मचारीहरू डराएका छन् । देशान्तरसँगको कुराकानीमा अस्पतालका एक कर्मचारीले यसबारेमा सञ्चारमाध्यममा आफूले सत्य तथ्य बोले उनीहरूले आफ्नो जागिर खाइदिन सक्ने डर रहेको बताएका छन् । यसबारे स्वास्थ्य मन्त्रालयले पनि निगरानी गरिरहेको र विभिन्न इकाइमार्फत जानकारी लिइरहेको पाइएको छ ।


लेखा उपसचिव शर्मा र खरिद प्रमुख रहेका घिमिरेका कारण अहिले अस्पताल नै धराशायी हुने अवस्थामा पुगेको निवेदनमा उल्लेख गर्दै उनीहरूलाई अस्पतालका निर्देशक पौडेलले संरक्षण गरेको दाबी गरिएको छ ।
वीरका दुवै उपसचिवहरूले कर्मचारी भर्नामा पनि पैसा असुली गरेको बुझिएको छ । उनिहरूमाथि कार्यालय सहयोगी, कम्प्युटर अपरेटर, ल्याब असिस्टेन्ट, ड्राइभरलगायतका पदमा ज्यालादारी नियुक्त गर्दा जनही दुई, दुई लाख रुपैयाँ उठाएको पनि आरोप रहेको छ ।


यसैगरी, सामान खरिदमा पनि अस्पताललाई मार पर्ने गरी आफू निकटका लागि मात्रै हुने गरी स्पेक बनाउने कार्यमा संलग्न रहेको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ । टेन्डरमा आउने सामानको भुक्तानी दिँदा व्यापारीसँग २० प्रतिशत कमिसन माग्ने गरेको, ल्याब, रेडियोलोजी, एनेस्थेसिया भत्ता कर्मचारीलाई दिँदा उल्टै उनीहरूसँग पनि कमिसन खाने गरेको कर्मचारीहरूले आरोप लगाएका छन् ।


कमिसनको लागि कोटेसनमा महँगोमा सामान खरिद गर्ने गरेको, ५ लाखमा मर्मत भएर सञ्चालन हुने अक्सिजन मेसिन मर्मत नगरी दैनिक एक लाख खर्च गरी अक्सिजन खरिद गर्ने गरेको र अस्पताललाई वार्षिक ३ करोड घाटा पु¥याएको आरोप छ । अस्पतालमा अक्सिजन आयात रोकिने अवस्था देखिएपछि अर्थ मन्त्रालयले साढे चार करोड रुपैयाँ बजेट उपलब्ध गराएको छ । अक्सिजन आयातकर्ता शंकर अक्सिजन ग्यास प्रालिले झन्डै दुई करोड रुपैयाँ बक्यौता रहेको भन्दै वीरलाई ग्यास आपूर्ति रोक्ने चेतावनी दिएको थियो । तर शंकर अक्सिजनसँग कमिसनमा काम गर्ने गरेको, अस्पतालमा बिरामीलाई खाने खुवाउने, फार्मेसीमा मेडिसिन ल्याउने व्यापारीलगायत कसैलाई पनि कमिसनबिना काम नै नगर्ने गरेको आरोप छ । कमिसन र अनियमितताका कारण अस्पतालमा रहेका विरामीहरूलाई आवश्यक पर्ने औषधि फार्मेसीमा पाइन छाडेको छ भने बिमालगायतका कार्यक्रमहरू अस्तव्यस्त हुँदा गरिब गुरुवाका लागि सहज मानिएको वीर अस्पतालमा अप्रेसनलगायतका कार्यहरू बन्द हुने अवस्थामा पुगेका छन् ।


आवश्यक सामानको भुक्तानी नदिने तर अनावश्यक समानको भुक्तानी दिँदै कमिसन लिने गरेको, ल्याब, एक्सरे ब्यापारीलगायतको भुक्तानीमा कमिसन मागेको, यती क्याम्पलाई १ करोड भुक्तानी दिँदा १५ लाख कमिसन लिएको पनि आरोप लागेको छ । अपरेसन गर्दा प्रयोग हुने सामान पकाउने अटो क्लेफ मेसिन कमिसन नपाएको कारण फाइल अगाडि नबढाउँदा अपरेसन बन्द हुने अवस्थामा पुगेको त्यहाँ कार्यरत कर्मचारीहरूको भनाइ छ ।
लेखा उपसचिव शर्माले त श्रीमती न्यायाधीश छ भन्दै व्यापारी र उनीहरूको कर्तुतको विरोध गर्नेहरू सबैलाई उल्टै सीआईबी, अख्तियार लगाउने धम्की दिने गरेको पीडितहरूको गुनासो छ ।
कर्मचारीहरूले छानबिनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबार, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, अर्थ मन्त्रालय, स्वास्थ्य मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, सम्पत्ति शुद्धीकरण विभाग र राष्ट्रिय सतर्कता केन्द्रमा उजुरी दिएका छन् । यसको बोधार्थ चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा पनि बुझाएका छन् ।