देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कोसीमा कार्कीले पीठ फर्काए

देशान्तर


काठमाडौं । विश्वासको मत लिनका लागि बोलाइएको कोसी प्रदेशसभाको बैठकमा मुख्यमन्त्री हिक्मत कार्कीले राजीनामा दिएका छन् । सर्वोच्च अदालतको परमादेशपछि दोस्रो पटक विश्वासको मत पाउने आशाका साथ मुख्यमन्त्री बनेका कार्कीले हिजो शनिबार विश्वासको मत लिनका लागि प्रदेशसभाको बैठक बोलाउन लगाएका थिए । तर, विश्वासको मत नपाउने निश्चित भएपछि इज्जतका साथ राजीनामा दिएर पीठ फर्काए । उनले विश्वासको मत लिनअघि नेपाली कांग्रेस, माओवादी केन्द्रसहितको गठबन्धनले मुख्यमन्त्रीमा कार्कीलाई विश्वासको मत दिन नसक्ने निर्णय गरेका थिए ।


आफूले विश्वासको मत नपाउने पक्का भएपछि मुख्यमन्त्री कार्कीले प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै राजीनामा दिने घोषणा गरेका हुन् । प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै कार्कीले प्रदेशको स्थायित्वका लागि सबै एक भएर अगाडि बढ्नु अहिलेको आवश्यकता भएको बताउँदै मध्यावधि जनताको चाहना नभएको पनि उल्लेख गरे । उनले मध्यावधिलाई रोक्न आफ्नो दल एमालेले जस्तोसुकै त्याग गर्न तयार रहेको पनि बताए । उनले भने, ‘एमालेले ककस्तो त्याग गर्दा तत्काल निर्वाचन रोकिन्छ, त्यसका लागि एमाले तयार छ ।’


यदि उनले विश्वासको मतका लागि सदनमा प्रस्तुत भएमा र विश्वासको मत नपाए स्वतः पदमुक्त हुने थिए । त्यस्तो अवस्थामा संविधानको धारा १६८ (५) अनुसार मुख्यमन्त्रीमा दाबी गर्न नपाउने कानुन व्यवसायीहरूको सल्लाहपछि प्रदेशसभा बैठकमा राजीनामा दिने निर्णयमा पुगेको एमालेका नेताहरूले बताएका छन् ।
अब कोसी प्रदेशमा संविधानको धारा १६८ को उपधारा ५ अनुसार कुनै पनि प्रदेशसभा सदस्यको नेतृत्वमा सरकार गठनका लागि बाटो खुला भएको छ । यसरी गठन हुने सरकारले (मुख्यमन्त्री) पनि विश्वासको मत ३० दिनभित्र प्राप्त नगरेमा प्रदेशसभा स्वतः विघटन हुनेछ भने ६ महिनाभित्र मध्यावधि चुनाव गर्नुपर्ने हुन्छ ।