देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

उत्तर पश्चिम भारतमा भारी वर्षा, आज दिल्लीका सबै विद्यालय बन्द

देशान्तर

नयाँ दिल्ली । उत्तर पश्चिम भारतका अधिकांश भागहरूमा वर्षाको मौसम जारी छ। देशका धेरै राज्यमा भारी वर्षा भइरहेको छ । दिल्लीका धेरै ठाउँमा पानी जमेका कारण मानिसहरूलाई समस्या भएको छ । मौसम पूर्वानुमान महाशाखाले अलर्ट जारी गरेको छ । अवस्थालाई ध्यानमा राख्दै अरविन्द केजरीवाल सरकारले सोमबार विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

अरविन्द केजरीवालले ट्विट गर्दै दिल्लीमा विगत २ दिनदेखि परेको मुसलधारे वर्षा र मौसम विभागको चेतावनीलाई ध्यानमा राख्दै सोमबार दिल्लीका सबै विद्यालय एक दिनका लागि बन्द गरिएको बताए ।

दिल्लीमा जुलाईमा अहिलेसम्म १६४ मिलिमिटर वर्षा भइसकेको छ । सहरमा महिनाभर औसत २०९.७ मिलिमिटर वर्षा हुन्छ। अविरल वर्षाका कारण सहरका धेरै पार्क, अन्डर पास, बजार तथा अस्पताल परिसर जलमग्न भएका छन् भने सडक जाम भएको छ । 

सडकमा घुँडा गहिरो पानीमा डुबेका मानिसहरूको तस्बिर र भिडियोहरू सामाजिक सञ्जालमा भाइरल भएका छन्, जसले सहरको ड्रेनेज प्रणालीमा धेरै प्रश्नहरू खडा गरेको छ। हावाहुरी र वर्षाका कारण धेरै क्षेत्रमा विद्युत् र इन्टरनेट सेवा पनि प्रभावित भएको छ ।

उता, दिल्ली एनसीआरमा भारी वर्षा भइरहेको छ। दिल्लीको छेउमा रहेको हरियाणाको गुरु ग्राममा प्रशासनले कर्पोरेट र निजी क्षेत्रमा काम गर्ने मानिसहरूलाई घरबाटै काम गर्न सल्लाह दिएको छ।