देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपालले दियो स्कटल्यान्डलाई १३६ रनको लक्ष्य

मुख्य प्रशिक्षक देसाई बिहीबार दक्षिण अफ्रिका प्रस्थान

देशान्तर

काठमाडौं । आइसीसी एकदिवसीय विश्वकप छनोटको तयारी स्वरुप पहिलो एकदिवसीय अभ्यास खेलमा नेपालले स्कटल्यान्डलाई १३६ रनको लक्ष्य दिएको छ । दक्षिण अफ्रिकामा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले २८ ओभर ५ बलमा अल आउट हुँदै मात्र १३५ रन बनायो । नेपालका लागि कुशल मल्लले सर्वाधिक ३७ रनको योगदान गरे । उनले २६ बलमा ४ चौका र २ छक्का प्रहार गरे । त्यस्तै ओपनर आसिफ शेखले २८ रन बनाउँदा कुशल भुर्तेल १६ रन बनाए । नेपालका लागि दीपेन्द्र सिंह ऐरीले १३ रन बनाउँदा अन्य ब्याट्म्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । स्कटल्यान्डका ब्रेन्डन म्याकुमलन र ज्याक जार्विसले तीन–तीन विकेट लिए । त्यस्तै शफ्यान शरिफले दुई विकेट लिँदा निल र हम्जा ताहिरले समान एक विकेट लिए । विश्वकप छनोटका लागि तयारीमा रहेको नेपालले अन्तिम तयारी स्वरुप दक्षिण अफ्रिकामा अभ्यासरत छ ।
यसैबीच नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मोन्टी देसाई एकदिवसीय विश्वकप छनोटका लागि आज (बिहीबार) दक्षिण अफ्रिका प्रस्थान गरेका छन् ।
विश्वकप छनोटका लागि नेपालले दक्षिण अफ्रिकामा अभ्यास सत्र राखे पनि देसाई टिमसँग गएका थिएनन् । जुन १८ देखि जुलाई ९ सम्म जिम्बाब्वेमा हुने विश्वकप छनोटको तयारी लागि नेपाली टिम जेठ १६ गते दक्षिण अफ्रिका प्रस्थान गरेको थियो । तर, टिमसँग मुख्य प्रशिक्षक देसाई र लेग स्पिनर सन्दीप लामिछाने गएका थिएनन् । सन्दीप २२ गते दक्षिण अफ्रिका गए पनि देसाई भने भिसा प्रकृयामै अड्किएका थिए ।
आज स्कटल्यान्डसँग तयारी खेल खेलेको नेपालले जुन १० मा नेदरल्यान्ड्ससँग खेल्नेछ । दक्षिण अफ्रिकामा १० दिनको तयारीपछि नेपाली टिम विश्वकप छनोटका लागि जिम्बाब्वे प्रस्थान गर्नेछ ।
विश्वकप छनोटको समूह ‘ए’मा रहेको नेपालले जुन १८ मा घरेलु टिम जिम्बाब्वेविरुद्ध खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । यस्तै, जुन २० मा नेपालले अमेरिकासँग, जुन २२ मा वेस्ट इन्डिजसँग र जुन २४ मा नेदरल्यान्ड्ससँग समूह चरणको अन्तिम खेल खेल्ने छ ।
नेपालले छनोटअघि जिम्बाब्वेमै दुई ‘वार्म अप म्याच’ पनि खेल्ने भएको छ । नेपालले पहिलो वार्म अप म्याचमा युनाइटेड अरब इमिरेट्स (यूएई)सँग जुन १३ मा र दोस्रो खेल जुन १५ मा ओमानविरुद्ध खेल्नेछ ।