काठमाडौँ – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूलाई संसदीय दलको नेतामा प्रस्ताव गर्न प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवालाई आग्रह गरेका छन् । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा नेता पौडेलले पार्टीको संसदीय दलको नेतामा आफ्नो नाम प्रस्ताव गरिदिन आग्रह गरेका हुन् ।
पौडेलले पार्टी र देशकै परिस्थिति अनुकूल नभएको र पार्टीको महाधिवेशनमा पनि आफूले पूर्ण रुपमा साथ दिएको भन्दै संसदीय दलको नेतामा आफ्नो नाम प्रस्ताव गर्न अनुरोध गरेका हुन् । पौडेलले गिरिजाप्रसाद कोइरालाको पालामा उनीसँग देउवाले संघर्ष गर्दा आफूले साथ दिएको स्मरण गराउँदै गठबन्धनको निर्माण गर्न र टिकाउन पनि आफूले भूमिका खेलेको बताएका छन् । ‘मेरो भूमिकालाई न्याय गर्दै मलाई संसदीय दलको नेता चुनिन सहयोग गर्नुस्’, पौडेलले देउवालाई भने ।
आफू प्रधानमन्त्री बन्दा सबैले स्वीकार्ने दावी पनि पौडेल गरेका छन् । पार्टीमा आफूले पनि सभापति देउवाजत्तिकै योगदान गरेकाले संसदीय दलको नेतामा आफू निर्वाचित भए पार्टीपंक्ति र सबैमा राम्रो सन्देश जाने उनले बताए ।
सभापति देउवाले भने निर्वाचनको अन्तिम मतपरिणाम नआइसकेकाले त्यसबारे छलफल गरेर अघि बढ्नुपर्ने बताए ।
प्रतिक्रिया