काठमाडौं – ठूलो रस्साकस्सी र खिचातानीबीच नेपाली कांग्रेसका सहमहामन्त्री युवा नेता जीवन परियार सांसद बन्न सफल भएका छन् भने पूर्वउपसभापति गोपालमान श्रेष्ठ राष्ट्रियसभा सदस्य बन्ने आश्वासनसहित समानुपातिकतर्फको प्रतिस्पर्धाबाट बाहिरिएका छन् । अन्तिमसम्म सभापति शेरबहादुर देउवाले प्रवक्ता डा.प्रकाशशरण महत र पूर्वउपसभापतिद्वय विमलेन्द्र निधि र गोपालमान श्रेष्ठलाई नै समानुपातिकतर्फबाट सांसद बनाउने अडान लिए पनि कांग्रेसकै इतरपक्ष र विशेषगरी महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अडानका कारण र परियार वर्तमान निर्वाचित सहमहामन्त्री भएकाले पनि देउवा बनाउन बाध्य भएको बुझिएको छ । कांग्रेसले समानुपातिकमा पाएको ३२ जनामध्ये ३ जनामात्र पुरुष सांसद बनाउन पाउने संवैधानिक बाध्यता छ ।
नेपाली कांग्रेसले प्रतिनिधिसभाको समानुपातिकतर्फ पाएको ३२ सिटमा सबैभन्दा बढी खस आर्यको नाम पठाएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको कार्यसम्पादन समितिले समानुपातिकको बन्द सूचीमा रहेको नामबाट सांसद निर्वाचन गर्नका लागि आयोगलाई गरेको सिफारिसअनुसार खसआर्यबाट १० जनाको नाम पठाएको छ । उसले आदिवासी जनजातिबाट ९, दलित र मधेसीबाट ५/५, थारूबाट २ र मुस्लिम तथा पिछडिएको क्षेत्रबाट १/१ जनाको नाम पठाएको हो ।
कांग्रेसले सबै समावेशी समूहबाट गरेर २९ जना महिलाको नाम अनिवार्य पठाउनुपर्ने भएपछि ३ जना मात्र पुरुष समानुपातिकबाट परेका छन् । जसमा खस आर्यबाट डा.प्रकाशशरण महत, अम्बिका बस्नेत, सरिता प्रसाईं, आरजु राणा देउवा, ईश्वरी न्यौपाने, प्रतिमा गौतम, मञ्जु खाँण, रमा कोइराला पौडेल, कान्तिका सेजुवाल र मैना रावल कार्कीको नाम सिफारिस भएको छ ।
आदिवासी जनजातिबाट ९ जनामा कांग्रेसले सरस्वती वजियम, लीलादेवी बोखिम, सीताकुमारी राना, सुशीला थिङ, सपना राजभण्डारी, माया राई, कुसुम थापामगर, मनोरमा शेरचन छन् । दलितबाट सहमहामन्त्री जीवन परियारसहित महिलामा शान्ति विक, रूपा विक, सीता मिजार, आशा विकको नाम सिफारिस भएको छ । मधेसी ५ जनामा विमलेन्द्र निधि, नागिना यादव, मुक्ताकुमारी यादव, चन्दा चौधरी, संगीता मण्डल र मीनुकुमारी कर्ण परेका छन् । थारू २ जनामा कल्पना चौधरी र वीनाकुमारी थनेत, मुस्लिम एक जनामा जावेदा खातुनको नाम कांग्रेसले पठाएको छ ।
समानुपातिकतर्फ पहिलो दल बनेको नेकपा एमालेले विवादास्पद व्यक्ति एकनाथ ढकालसहित ३४ जनाको नाम निर्वाचन आयोगमा पठाएको छ । पार्टी कार्यालय च्यासलमा शनिबार बसेको बैठकले २२ महिला र १२ पुरुष गरी ३४ सांसदको नाम टुंग्याएर निर्वाचन आयोगमा बुझाएको छ ।
नेकपा एमालेले आदिवासी जनजाति पुरुषतर्फ देवीप्रसाद भट्टचन, हेमराज राई र कालुराम राईलाई सिफारिस गरेको छ। यसैगरी महिलातर्फ नैनकला थापामगर, सूर्यकुमारी श्रेष्ठ, उर्मिला थेवे, ईश्वरी घर्ती, रणकुमारी बलम्पाकीमगर, शान्ति श्रेष्ठ र सरस्वती सुब्बालाई सिफारिस गरेको छ। खस आर्य पुरुषतर्फ रघुजी पन्त, एकनाथ ढकाल र दयालबहादुर शाही रहेका छन् । महिलातर्फ मेनुकाकुमारी पोखरेल, सरिता भुसाल, शोभा ज्ञवाली, बिजुला रायमाझी, निर्मला कोइराला, सम्झना थपलिया, दीपा शर्मा र सुनीता बराल रहेका छन् । यसैगरी थारू महिलातर्फ आश्माकुमारी चौधरी र शान्ति चौधरी सिफारिसमा परेका छन्। त्यस्तै, दलिततर्फ एमालेले पुरुषमा ईश्वरबहादुर रिजाल, प्रभु हजारा पासवान र चन्द्रबहादुर विश्वकर्मालाई सिफारिस गर्दा यही क्लस्टरबाट महिलातर्फ रुकमणि राणा बराइली र हर्कमाया विश्वकर्मा सिफारिसमा परेका छन्।
मधेसी पुरुषतर्फ गंगाप्रसाद यादव, अमृतराज लालवंशी रहेका छन् । मधेसी महिलातर्फ वीनादेवी, अमृतादेवी अग्रहरी, प्रतीक्षा तिवारी मुखिया सिफारिसमा परेकी छिन् । मुस्लिमतर्फ सराजअहमद फारखीको नाम एमालेले निर्वाचन आयोगमा बुझाएको छ ।
यस्तै, सत्तारूढ गठबन्धनमा रहेको नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभाको समानुपातिकतर्फ १४ सांसद सिफारिस गरेको छ । माओवादीले विभिन्न क्लस्टरबाट १४ जनाको नाम शनिबार निर्वाचन आयोगमा पेस गरेको हो । जसअनुसार खसआर्य पुरुषमा हितराज पाण्डे, महिलातर्फ विमला सुवेदी, ज्ञानु बस्नेत सुवेदी र नारायणी शर्मा सिफारिस भएका छन् ।
आदिवासी जनजाति महिलामा दुर्गा राई, मीना तामाङ, उर्मिला माझी पौडेल र छिरिङल्यामु लामा तामाङको नाम आयोगमा बुझाइएको सूचीमा उल्लेख छ। मधेसी महिला मीना यादव र उमरावती देवी यादव, दलित पुरुषमा रणेन्द्र बराली, महिलातर्फ सुशीला श्रीपाली ठकुरी छन् भने थारू महिलातर्फ रूपा सोसी चौधरीको नाम आयोगमा पठाइएको छ । मुस्लिम महिलातर्फ कल्पना मियाँ छिन् ।
त्यस्तै, पहिलो पटक चुनाव लडेर राष्ट्रिय पार्टीको मान्यता पाएको राष्ट्रिय स्वतन्त्र पार्टीले पनि शनिबार नै १३ जनाको नाम निर्वाचन आयोगमा बुझाएको छ। शनिबार बसेको रास्वपाको बैठकले समावेशी सिद्धान्तका आधारमा १३ जनाको नाम निर्वाचन आयोगमा सिफारिस गरेको हो । जसअनुसार दलित समुदायबाट सन्तोष परियार र शिव नेपाली, जनजाति समुदायबाट ढाकाकुमार श्रेष्ठ, इन्दिरा मगर र सुमना श्रेष्ठको नाम सिफारिस भएको छ । यस्तै खसआर्यबाट डा. चन्दा कार्की, डोलप्रसाद अर्याल, निशा डाँगी र विनिता कठायतको नाम सिफारिस भएको छ। यस्तै मधेसी समुदायबाट लक्ष्मी तिवारी र मनिष झा, थारू समुदायबाट अशोककुमार चौधरी सिफारिस भएका छन् भने मुस्लिम समुदायबाट असिम साहको नाम सिफारिस भएको छ ।
प्रतिक्रिया