देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

ओली ‘हिस्स बुढी निच्च दाँत’को अवस्थामा

देशान्तर

काठमाडौं – ‘हिस्स बुढी निच्च दाँत’भन्ने नेपाली उखान हालै सम्पन्न संघ र प्रदेशको चुनावमा नेकपा एमाले र त्यसका नेता एवं अध्यक्ष केपी ओलीमा ठ्याक्कै लागू भएको छ । चुनावको दुई दिन अघिसम्म १५० सिट ल्याएर एमालेको बहुमतको सरकार बनाउँछु भनी दाबी गर्ने उखानटुक्के नेताको रूपमा परिचित ओलीले पश्चगामीहरूसँग गठबन्धन गर्दासमेत उनले भनेको संख्या नपुगेका कारण जतिसुकै षड्यन्त्र र चलखेल गरे पनि उनको नेतृत्वमा सरकार बन्ने देखिँदैन ।

अहिलेको मिश्रित निर्वाचन प्रणालीले गर्दा अपवादबाहेक कुनै पनि दलले बहुमत पाउने अवस्था नभएपनि प्रत्यक्षतर्फ एक सय सिट जित्ने समानुपातिकबाट ५० जित्ने दाबी गर्दै ओली हिँडेका थिए । तर, पूर्वप्रधानमन्त्रीसमेत रहेको ओलीलाई आम जनताले ‘गफाडी’को संज्ञा दिएकाले उनको कुरालाई धेरैले पत्याएका थिएनन् । तर, राष्ट्रिय प्रजातन्त्र पार्टीसहित दक्षिणपन्थी शक्तिहरूलाई साथमा लिएर प्रदेश र प्रतिनिधिसभा निर्वाचनको केही परिणाम आफ्नो पक्षमा पार्न ओली नेतृत्वको एमाले सफल भएको थियो ।

प्रत्यक्षतर्फ ४४ सिट जितेको एमालेले निर्वाचन परिणाम आएसँगै संसद्मा रहेका नेपाली कांग्रेस, माओवादी केन्द्रसहितका दलहरूलाई विभिन्न आश्वासन दिएर अहिलेको गठबन्धन टुटाउने प्रयास गरेका थिए । र, अहिले पनि त्यसलाई जारी राखेका छन् । कांग्रेस नेतृत्वको वर्तमान सत्ता गठबन्धन टुटाउन सके केही महिनापछि भने सत्तारोहण गर्न सकिने र प्रदेशका साथै राष्ट्रपति, सभामुखसहितका पदमा आफ्नो हिस्सेदारी लिएर विगतमा जस्तै वितन्डा मच्चाउन सकिने दाउमा एमाले रहेको छ । त्यसका लागि उसले अहिले पनि विभिन्न प्रयास जारी राखेको छ । निर्वाचनको मुखमा सत्तागठबन्धनमा रहेको उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीलाई आफ्नो पक्षमा पारेर मधेसका केही क्षेत्रको परिणाम आफ्नो पक्षमा पार्न सफल भएको छ । तर, यादव नेतृत्वको पार्टी अहिले हाँसको चाल न कुखुराको तालमा पुगेको छ ।

यादव नेतृत्व पार्टीकै जस्तो अवस्था अन्य दलको पनि बनाउन ओलीले फेरि सत्ता साझेदारीमा नाममा निर्वाचनपछि भ्रम छरेर गठबन्धन फुटाउन लागि परेका छन्। ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई आगामी पाँच वर्ष सरकारको नेतृत्व दिने भन्दै सहकार्यका लागि प्रस्ताव गरेका छन्। ओलीको प्रस्तावमा दाहालले अहिलेसम्म विश्वास गरेका छैनन् । अहिलेकै गठबन्धनलाई निरन्तरता दिने दाहालको चाहना रहेको देखिन्छ।

माओवादी, नेकपा एकीकृत समाजवादीबाट कांग्रेसलाई अलग गराउन उसले कांग्रेस नेतृत्वलाई पाँच वर्ष सरकारको नेतृत्वगर्न पनि भन्दै आएको छ । तर, कांग्रेस पनि एमालेको अहिलेको आश्वासनमा पर्ने पक्षमा देखिएको छैन । कांग्रेस, माओवादी,एकीकृत समाजवादी बाहेका दलहरूलाई मिलाएर सरकारको नेतृत्व लिने कसरत एमालेले जारी राखेको छ । नयाँ शक्तिकारूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी अहिले नै एमालेलाई सहयोग गर्ने पक्षमा देखिएको छैन । यद्यपि उक्त दलभित्र विवाद र विभाजन ल्याउन एमाले सक्रिय भएको छ।

राष्ट्रिय स्वतन्त्र दलले सहयोग गरिहालेको अवस्थामा पनि उसलाई लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टीले पनि समर्थन गर्ने देखिएको छैन। उनीहरू मात्र होइन निर्वाचनमा गठबन्धन गरेको जनता समाजवादी पार्टी अध्यक्ष उपेन्द्र यादवले पनि एमालेसँगको सहकार्य चुनाव सकिएसँगै सकिएको बताएका छन्। त्यसले गर्दा आफ्नो नेतृत्वमा संघमा मात्र होइन प्रदेशमा पनि सरकार गठनको सम्भावना न्यून हुँदै गएपछि ओली उचालिएर थचारिने अवस्थामा पुगेका छन्। र, कांग्रेस नेतृत्वको सत्ता गठबन्धन कसरी अघि बढ्छ त्यसको प्रतीक्षा गरेर बस्ने अवस्थामा पुगेका छन्। अहिले प्रतिनिधिसभामा कांग्रेस ८९, एमाले दुवैतर्फगरी ७८को सांसदसहित संसद्को दोस्रो दल बन्नेछ।