देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मुख्यमन्त्रीको लागि दौडधुप

देशान्तर

काठमाडौं – नेपाली कांग्रेस नेतृत्वमा रहेको वर्तमान सत्ता गठबन्धनले आगामी दिनमा पनि निरन्तरता पाउने भएपछि सातै प्रदेशमा मुख्यमन्त्री बन्नका लागि प्रमुख दलका नेताहरूले सक्रियता बढाएका छन् । पहिलो पटक भएको प्रदेशसभा चुनावमा परिणाम आउनेबित्तिकै कसको सरकार बन्छ भन्ने स्पष्ट थियो । यसपटक सत्तारूढ गठबन्धन निरन्तरता हुँदा बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिममा गठबन्धनकै सरकार बन्ने भए पनि प्रदेश १, मधेस र लुम्बिनीमा भने अन्य दलहरूको पनि सहयोग लिनुपर्ने हुन्छ ।

कांग्रेस नेतृत्वको गठबन्धनमा नरहेका दलहरूले पनि मुख्यमन्त्री बन्न प्रयास सुरु नगरेको भने होइन । कुनै पनि दलको मात्र होइन केही प्रदेशमा कांग्रेस नेतृत्व गठबन्धनको पनि स्पष्ट बहुमत नदेखिएका कारण निर्णायक भूमिकामा रहेका दलहरूलाई आफ्नो पक्षमा पारेर प्रदेशको सरकार गठनका लागि एमालेसहितका दलहरूले प्रयास थालेका हुन् । सातमध्ये चारवटा प्रदेशमा वाम–लोकतान्त्रिक गठबन्धनको सरकार बन्ने अंकगणित देखिन्छ । बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिममा सत्तागठबन्धनमा आबद्ध दललाई बहुमत पुग्नेछ । प्रदेश १, मधेस र लुम्बिनीमा दुवै गठबन्धनसँग स्पष्ट बहुमत पुग्ने देखिन्न । यस्तोमा साना दलहरू जसले जुटाउन सक्छ, उसैले सरकार बनाउने सम्भावना छ । मधेसमा सरकार बनाउन १३ सिट रहेको जनमत पार्टी र स्वतन्त्र ६ सांसदको निर्णायक भूमिका रहन्छ ।

प्रदेश १ को मुख्यमन्त्रीका कांग्रेसका केन्द्रीय सदस्य अमृत अर्याल,केदार कार्की, एमाले स्थायी समिति सदस्य हिक्मत कार्की, पोलिटब्युरो सदस्य तिलविक्रम मेन्याङबो, माओवादी केन्द्रका इन्द्रबहादुर आङ्बो, एकीकृत समाजवादीबाट राजेन्द्रकुमार राई लागि परेका छन् । प्रदेश १ मा सबैभन्दा ठूलो राजनीतिक दल नेकपा एमाले रहे पनि सरकार बनाउनका लागि समानुपातिकतर्फ १ सिट प्राप्त गरेको जसपा निर्णायक हुने देखिन्छ । एमालेको ४० स्थान रहेको छ । तर बहुमतका पुयाउनका लागि ७ स्थानमा अपुग रहेको छ । ९३ सदस्यीय प्रदेशसभामा सरकार बनाउन ४७ सांसद आवश्यक हुन्छ। चुनावी तालमेल गरेको राप्रपाले ६ स्थानमा प्राप्त गरे पनि १ सिट अपुग हुन्छ । तर कांग्रेस २९ सिटसहित प्रदेशसभामा दोस्रो स्थानमा छ । तेस्रो स्थानमा रहेको माओवादी केन्द्रको १३ सिट छ । एकीकृत समाजवादीको ४ सिट छ । सत्तारूढ गठबन्धनको बहुमतका लागि जसपाकै समर्थन आवश्यक हुन्छ ।

मधेसमा कांग्रेसबाट मुख्यमन्त्रीका आकांक्षी कांग्रेस मधेस प्रदेश सभापति कृष्ण यादव र नेता वीरेन्द्र सिंह, जनता समाजवादी पार्टी जसपा नेता लालबाबु राउत, एमालेबाट सरोजकुमार यादव, रामचन्द्र मण्डलका साथै मधेसमा नयाँ शक्तिका रूपमा उदय भएको जनमत पार्टीले पनि दाबी गर्दै आएका छ । लोकतान्त्रिक समाजवादी पार्टी लोसपाबाट जितेन्द्र सोनल पनि छन् । १ सय ७ सदस्यीय प्रदेशसभा रहेको मधेसमा २३ स्थानमा जित्दै एमाले सबैभन्दा ठूलो दल बनेको छ ।

तर सो दललाई बहुमत पु¥याउनका लागि अझै ३१ सिट अपुग हुनेछ । केन्द्रमा कायम रहेको कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र लोसपाको गठबन्धनको ४६ स्थान रहेको छ । सो गठबन्धनलाई सरकार बनाउनका लागि अन्य दलको समर्थन आवश्यक हुन्छ । मधेस प्रदेशमा ६ स्वतन्त्र सांसद रहेका छन् । समानुपातिकतर्फ १० वटा दलको प्रतिनिधित्व रहेको छ । जसमा जसपाको १६, जनमतको १३, नेपाल संघीय समाजवादी, राप्रपा र नागरिक उन्मुक्ति पार्टीको १/१ स्थानमा रहेको छ ।

बागमतीमा कांग्रेस प्रदेश सभापति इन्द्र बानियाँ, बहादुरसिंह लामा, कुन्दनराज काफ्लेसहितका नेता आकांक्षी छन् । माओवादीबाट शालिकराम जम्कट्टेल, एकीकृत समाजवादीका कृष्ण खनाल पनि मुख्यमन्त्रीका आकांक्षी छन । एमालेबाट केशवप्रसाद पोखरेल, अमनकुमार मास्के, प्रकाश श्रेष्ठले पनि उक्त पद दाबी गर्दै आएका छन् । गण्डकीमा मुख्यमन्त्रीका दाबेदारमा कांग्रेसका सुरेन्द्र पाण्डे, महेन्द्रध्वज जीसी, बिन्दुकुमार थापासहितका नेता छन् । एमालेबाट पूर्वमन्त्री खगराज अधिकारीसहितका नेता छन् भने माओवादीका हरिबहादुर चुमानले पनि दाबी गर्दै आएका छन् ।

लुम्बिनीमा कांग्रेस नेता अब्दुल रज्जाक, वीरबहादुर राना, राजु खनाल, एमाले पोलिटब्युरो सदस्य तथा लुम्बिनी प्रदेश सहइन्चार्ज लीला गिरी पनि मुख्यमन्त्रीको लबिङ गरिरहेका छन् भने माओवादीबाट स्थायी कमिटी सदस्य जोखबहादुर महरा पनि छन् । लुम्बिनी प्रदेशसभा एमाले सबैभन्दा ठूलो राजनीतिक दलको रूपमा रहेको छ । एमालेको २९ र कांग्रेसको २७ सिट भएको छ । माओवादीको ९ र लोसपाको ३ स्थान रहेको छ भने राष्ट्रिय जनमोर्चा र एकीकृत समाजवादीको १/१ स्थानमा छ । सरकार बनाउन सत्तारूढ गठबन्धनलाई ३ सिट अपुग हुन्छ ।

कर्णालीमा कांग्रेसबाट मुख्यमन्त्रीका आकांक्षी जीवनबहादुर शाही, राजीवविक्रम शाहसहितका नेता आकांक्षी छन् भने माओवादीका विन्दमान विष्ट, राजकुमार शर्मासहितका छन् । एमालेबाट आकांक्षी यामलाल कँडेल र विनोद शाह पनि छन् । सुदूरपश्चिमको मुख्यमन्त्रीका लागि माओवादीका प्रदेश इन्चार्ज खगराज भट्ट, कांग्रेसबाट दिवानसिंह विष्ट र बहादुरसिंह थापा आकांक्षी छन् । कांग्रेसबाटै प्रकाश देउवा, पृथ्वीबहादुर सिंहको नाम पनि चर्चामा छ ।

पहिलो पटक भएको प्रदेशसभा चुनावमा परिणाम आउनेबित्तिकै कसको सरकार बन्छ भन्ने स्पष्ट थियो । सातमध्ये ६ प्रदेशमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रको वामपन्थी गठबन्धन र मधेस प्रदेशमा तत्कालीन मधेसवादी गठबन्धनको सरकार बन्ने निश्चित थियो । यसपटकको निर्वाचन परिणाम झनै खण्डित आएको छ । सत्तारूढ गठबन्धन निरन्तरता हुँदा बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिममा गठबन्धनकै सरकार बन्ने भए पनि प्रदेश १, मधेस र लुम्बिनीमा भने अन्य दलहरूको पनि सहयोग लिनुपर्ने हुन्छ ।