प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन समानुपातिकतर्फको मतगणना सकिएको छ । यससँगै सात राजनीतिक दलले ‘थ्रेस होल्ड’ कटाएर राष्ट्रिय दल बन्ने निश्चित भएको छ ।
समानुपातिकतर्फ सबैभन्दा बढी मत ल्याएर एमाले पहिलो दल बनेको छ । लोकप्रिय २८ लाख ४५ हजार ६ सय ४१ मत ल्याएको मतअनुसार उसले समानुपातिकतर्फ ३४ सिट पाउने पक्कापक्की भएको छ ।
यसैगरी, समानुपातिकतर्फ कांग्रेस दोस्रो दल भएको छ । उसले समानुपातिकतर्फ २७ लाख १५ हजार २ सय २५ मत ल्याएको छ । जसअनुसार कांग्रेसले समानुपातिकतर्फ ३२ सिट पाउने भएको छ ।
नेकपा एकीकृत समाजवादीले भने ‘थ्रेसहोल्ड’ कटाउन नसक्दा राष्ट्रिय पार्टी हुने अवसर गुमाएको छ । निर्वाचन आयोगका अनुसार नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टीले ३ प्रतिशत ‘थ्रेसहोल्ड’ कटाएका छन् ।
निर्वाचन आयोगका अनुसार समानुपातिकतर्फ करिब १ करोड ९ लाख मत खसेकोमा १ करोड ५ लाख ६० हजार ६७ मत सदर भएको छ । जसमा ‘थ्रेसहोल्ड’ कटाउने ७ दलले प्राप्त गरेको ९२ लाख ७१ हजार ७ सय ११ मत समनुपातिकतर्फको ११० सिट बाँडफाँटमा भाग लाग्ने भएको छ ।
‘थ्रेसहोल्ड’ नकटाउने ४० दलले प्राप्त गरेको १२ प्रतिशत अर्थात् १२ लाख ८८ हजार ३ सय ५६ अर्थात् १२ प्रतिशत मत खेर गएको छ । ४० दलमध्ये सबैभन्दा बढी २.८२ प्रतिशत अर्थात् २ लाख ९८ हजार ३ सय ९१ मत प्राप्त गरेको नेकपा (एकीकृत समाजवादी)को मत खेर गएको छ ।
नतिजाअनुसार सबैभन्दा बढी नेकपा (एमाले)ले ‘थ्रेसहोल्ड’ कटाउने सात दलको मत जोडेर आउने हिसाबको ३० प्रतिशत मत प्राप्त गरेर ३४ र दोस्रोमा नेपाली कांग्रेसले २९ प्रतिशत मत प्राप्त गरेर ३२ सिट प्राप्त गर्ने भएको छ ।
त्यस्तै, तेस्रोमा नेकपा (माओवादी केन्द्र)ले १२ प्रतिशत मत प्राप्त गरेर १४ सिट, राष्ट्रिय स्वतन्त्र पार्टीले पनि ‘थ्रेसहोल्ड’ कटाउने सात दलले प्राप्त गरेको मत हिसाब गर्दा १२ प्रतिशत नै प्राप्त गरेर १३ सिट प्राप्त गर्ने भएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले ६ प्रतिशत मत प्राप्त गरेर ७ सिट, जनता समाजवादी पार्टीले ४ प्रतिशत मत प्राप्त गरेर ५ सिट र जनमत पार्टीले पनि ४ प्रतिशत नै मत प्राप्त गरेर ५ सिट नै प्राप्त गर्नेछ ।
आयोगको निर्देशिकाअनुसार जम्मा खसेको मतको सदर मतबाट पनि ३ प्रतिशत मत प्राप्त गर्ने दलले मात्रै समानुपातिकतर्फको सिट बाँडफाँटमा सहभागी हुन पाउनेछन् । प्रतिनिधिसभामा २ सय ७५ जनामध्ये १ सय ६५ जना यसअघि नै प्रत्यक्ष निर्वाचन प्रणालीबाट निर्वाचित भइसकेकाले अब १ सय १० जना मात्रै राजनीतिक दलले यसअघि नै पेस गरेको अन्तिम बन्दसूचीमा रहेकाबाट चुनिनेछन् ।
सबै दलले पेस गरेको बन्दसूचीबाट हरेक कलस्टरको पहिलो तथा दोस्रो नम्बरमा रहेका व्यक्ति नै पहिलो प्राथमिकतामा पर्नेछन् ।
यद्यपि, संघीय संसद्मा महिलाको सहभागिता ३३ प्रतिशत अनिवार्य गरिएका कारण प्रत्यक्षतर्फबाट ३३ प्रतिशत नपुगेका कारण ३३ प्रतिशत पु¥याउन पहिलो तथा दोस्रो नम्बरमा पुरुषको नाम भएको अवस्थामा जति पछाडि भए पनि पहिलो र दोस्रो नम्बरमा रहेका महिला पहिलो प्राथमिकतामा पर्नेछन् । राजधानी दैनिकबाट ।
प्रतिक्रिया