काठमाडाैं – सत्तारुढ गठबन्धन दलले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनले गठबन्धनको आवश्यकता र सान्दर्भिकता पुष्टि गरेको निश्कर्ष निकालेका छन् ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाको बैठकले गठबन्धनको सान्दर्भिकता पुष्टि भएको निश्कर्ष निकालेको हो ।
बैठकपछि कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीद्वारा जारी संयुक्त विज्ञप्तिमा मुलुकका सामु विद्यमान चुनौतीहरुको सामाना गर्नु पर्ने अवश्यकताले पनि यो गठबन्धनलाई निरन्तरता दिनु जरुरी रहेको उल्लेख गरिएको छ ।
मुलुकका सामु विद्यमान चुनौतीहरुको सामाना गर्नु पर्ने अवश्यकताले पनि यो गठबन्धनलाई निरन्तरता दिनु जरुरी छ । निर्वाचनको नतिजाले राजनीतिक स्थायित्व र आर्थिक समृद्धिको बाटोमा आपसी सहमति र सहकार्यका साथ मिलेर अघि बढ्नु पर्ने स्पष्ट सन्देश दिएको विज्ञप्तिमा भनिएको छ।
निर्वाचनको दौरानमा गठबन्धनले केन्द्रबाट स्पष्ट निर्णय र निर्देशन गर्दागर्दै पनि कतिपय निर्वाचन क्षेत्रमा केही असहयोग र असमझदारीका घटना देखिएको भन्दै बैठकले निर्वाचनका दौरानमा देखिएका ति असमझदारीहरुको पनि आगामी दिनमा उचित समिक्षा र सम्बोधन गर्नुपर्नेमा जोडदिएको छ।
शान्तिपूर्ण रुपले निर्वाचन सम्पन्न गरेकोमा नेपाल सरकारलाई धन्यवाद ज्ञापन गर्दै निर्वाचन आयोग, निर्वाचनमा खटिएका सम्पूर्ण कर्मचारी, सुरक्षा निकाय, निर्वाचनमा सहभागि राजनीतिक दल, नागरिक समाज, संचारकर्मी, राष्ट्रिय र अन्तराष्ट्रिय निर्वाचन पर्यवेक्षक लगायत सबैलाई समेत हार्दिक धन्यवाद व्यक्त गरेको छ ।
प्रतिक्रिया