देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आईपीएल क्रिकेटमा गुजरातको तेस्रो जित

देशान्तर

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा नवप्रवेशी टोली गुजरात टाइटन्सले लगातार तेस्रो जित निकालेको छ । मुम्बईमा शुक्रबार राति भएको रोमान्चक खेलमा पन्जाब किङसलाई ६ विकेटले हराउँदै गुजरातले तेस्रो जित निकालेको हो ।

पन्जाबले दिएको १ सय ९० रनको लक्ष्य गुजरातले २० ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । गुजरातको जितमा सुबमन गिलले ९६ रनको अर्धशतकीय इनिङ खेले । यस्तै, शाइ सुधर्शनले ३५ रन जोड्दा कप्तान हार्दिक पान्डयले २७ रन बनाए ।

रोमान्चक बनेको खेलको अन्तिम ओभरमा गुजरातलाई १९ रन आवश्यक थियो । अन्तिम ओभरको पहिलो बलमा पान्डय आउट भएपछि राहुल टेवाटिया क्रिजमा आए । ओभरको दोस्रो बलमा उनले १ रन जोडे । तेस्रो बलमा डेभिड मिल्लरले चौका प्रहार गरे भने चौंथो बलमा १ रन जोडेपछि गुजरातलाई दुई बलमा १२ रन आवश्यक भयो ।

स्ट्राइकमा रहेका राहुलले पाँचौं र छैटौं बलमा लगातार छक्का प्रहार गर्दै गुजरातलाई जित दिलाए । उनले ३ बलमा अविजित १३ रन जोडे । मिल्लर ६ रनमा अविजित रहे । पन्जाबका कागिसो राबडाले २ तथा राहुल चाहरले १ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ९ विकेट गुमाएर १ सय ८९ रन बनाएको थियो । पन्जाबका लियाम लिभिङस्टोनले ६४ रनको अर्धशतकीय इनिङ खेले । शिखर धवनले ३५ रन जोड्दा जितेश शर्माले २३ रन बनाए । राहुल चाहर २२ रनमा अविजित रहे । गुजरातका राशिद खानले ३ तथा दर्शनले २ विकेट लिए ।

यस जितसँगै गुजरात अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । गुजरातले ३ खेलमा ६ अंक जोडेको छ । पन्जाबको यो दोस्रो हार हो । पन्जाब ४ खेलमा २ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।