देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

युक्रेनको मारिउपोल शहर रुसी सेनाको कब्जामा

देशान्तर

काठमाडौं – रुसी सेनाले युक्रेनको समुद्री क्षेत्रमा रहेको शहर मारिउपोललाई आफ्नो कब्जामा लिएको छ । पूर्वी युक्रेनको महत्वपूर्ण शहरमा बिहीबार रुसी सेनाले कब्जा जमाएको हो ।

मारिउपोल शहरका मेयरले दिएको जानकारी अनुसार रुसी सेनाले अहिले सहरको विद्युत्, खाद्यान्न, पानी र यातायात सेवा अवरुद्ध पारेको छ । मारिउपोल शहरका मेयर भादिम बोयचेन्कोले रुसले शहरको चारैतिरबाट धेरा हाल्दै आवश्यक सामग्री आपूर्तिमा अवरोध सिर्जना गरेको बताएका छन् ।

उनले यसलाई दोस्रो विश्वयुद्धमा नाजिहरुले अपनाएको खराब रणनीतिको संज्ञा दिएका छन् । दोस्रो विश्वयुद्धमा नाजिहरुले रुसको दोस्रो ठूलो शहरमा आवश्यक सामग्रीको आपूर्ति रोकेका थिए । जसको कारण शहरमा बस्ने हजारौं मानिसको मृत्यु भएको थियो ।

बोयचेन्कोका अनुसार रुसी सेनाले शहरको रेल सेवा अवरुद्ध पारेको छ । जसको कारण सहरका महिला तथा बालबालिकाको उद्धार पनि गर्न नसकिएको उनको भनाइ छ । यो युक्रेनको रणनीतिक शहर हो । यहाँको जनसंख्या ४ लाखभन्दा धेरै छ । यसअघि रुसी सेनाले युक्रेनको खेरसन शहरमा कब्जा जमाएको थियो । रुसी सेनाले युक्रेनको दोस्रो ठूलो शहर खारकिभमा पनि कब्जा जमाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।