देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

चितवनमा कांग्रेसको अधिवेशन बिहीबार हुने

देशान्तर

काठमाडौँ – पटक–पटक स्थगित हुँदै आएको कांग्रेस चितवनको १४औं जिल्ला अधिवेशन बिहीबार र शुक्रवार हुने भएको छ । कांग्रेसको केन्द्रीय महाधिवेशन अगाडि नै गरिसक्नु पर्ने जिल्ला अधिवेशन विभिन्न कारण देखाउँदै स्थगित भएको थियो । अब भने अधिवेशन निश्चित भएको कांग्रेस चितवनका सचिव उत्तम जोशीले जानकारी दिए ।

नारायणगढको नारायणी कला मन्दिरमा हुने अधिवशेनले सात पदाधिकारीसहित ४८ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ । अधिवशेनले जिल्लाका तीन निर्वाचन क्षेत्रबाट ११ जनाका दरले ३३ महासमिति सदस्यको चयन गर्नेछ ।
कांग्रेस जिल्ला सभापतिका लागि ५ जनाले आकांक्षा राखेका छन् । सभापतिका लागि उत्तम जोशी, सूर्यकान्त घिमिरे, कैलाश कोइराला, राजेश्वर खनाल र मिलनबाबु श्रेष्ठ चुनावी प्रतिस्पर्धामा उत्रिदैछन् । जोशी कांग्रेस चितवनका सचिव हुन् । घिमिरे नेविसंघका पूर्वजिल्ला सभापति, कोइराला जिल्ला उपसभापति हुन् । खनाल महासमिति सदस्य हुन् भने श्रेष्ठ बागमती प्रदेशसभा सदस्य एवम् प्रदेशमन्त्री हुन् ।

आंकाक्षीहरुको संख्या घटाउनका लागि नेताहरूले छलफल तीव्र पारेका छन् । कांग्रेसका केन्द्रीय नेतासमेत चितवन आएर आआफ्ना पक्षलाई जिताउन लविङ थालेका छन् । कांग्रेसको सबैभन्दा बढी क्रियाशील सदस्य भएको जिल्लाका रुपमा चितवनलाई लिने गरिन्छ । सोही कारण केन्द्रीय नेताहरूले यसलाई विशेष महत्त्व दिने गरेका छन् ।

चितवनमा तुलनात्मक रुपमा कमजोर मानिएको देउवा पक्षबाट सभापतिको एक मात्रै उम्मेदवार मिलनबाबु श्रेष्ठ हुन् । बाँकी सबै पौडेल–कोइराला पक्षका हुन् । रामचन्द्र पौडेलका उम्मेदवार सूर्यकान्त घिमिरे हुन् भने, उत्तम जोशीले आफू शशांक कोइराला पक्षको आधिकारिक उम्मेदवार भएको बताउँदै आएका छन् । कैलाश र राजेश्वर खनालले पनि आफूलाई कोइराला पक्षको भन्छन् । जिल्लामा पूर्वसभापतिहरूको समूह कतातर्फ लाग्छ त्यसतर्फ नै जितको सम्भावना देखिन्छ ।

संस्थापन इतरका उम्मेदवारमध्ये एक बनाउन गृहकार्य भइरहेको छ । सभापति निर्वाचित हुनका लागि ५१ प्रतिशत मत आवश्यक पर्छ । पहिलो चरणमा ५१ प्रतिशत मत ल्याउन नसके दोस्रो चरणमा सबैभन्दा धेरै मत ल्याउने दुई जनाबीच पुनः मतदान गर्नुपर्ने हुन्छ ।

दुई हजार ९०६ मतदाता छन् । शुक्रबार मनोनयनको कार्यक्रम सम्पन्न गरी शनिबार मतदान प्रक्रिया अघि बढाइने निर्वाचन समितिका संयोजक ज्ञानेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।