देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

‘बी’ डिभिजन लिग फागुन १८ देखि, १४ टीम सहभागी हुँदै

देशान्तर

काठमाडौं । सहीद स्मारक ‘बी’ डिभिजन लिग फागुन १८ गतेबाट सुरु हुने भएको छ ।

मंगलबार एन्फा कम्प्लेक्समा एक कार्यक्रमका बीच खेलतालिका सार्वजनिक गरिएको हो । १४ टीम सहभागी हुने लिग राउण्ड रोविनको आधारमा हुने एन्फाले जनाएको छ ।

लिगमा सबैभन्दा बढी अंक हासिल गर्ने दुई टीम ‘ए’ डिभिजन लिगमा बढुवा हुनेछन् भने अन्तिममा रहेका दुई टीम ‘सी’ डिभिजन लिगमा घटुवा हुनेछन् ।

लिगमा झम्सिखेल युथ क्लब, बाँसबारी क्लब, वीरगञ्ज युनाइटेड, चर्च बोइज युनाइटेड, श्री कुमारी क्लब, रानीपोखरी कर्नर टीम, मध्यपुर युथ एशोसिएसन सहभागी हुँदैछन् ।

यस्तै, सामाजिक युथ क्लब, खुमलटार युथ क्लब, नयाँबस्ती युथ क्लब, टुसाल युथ क्लब, बोइज युनियन क्लब, सरस्वती युथ क्लब र श्री भगवती क्लबले बी डिभिजन लिगको यो संस्करण खेल्दैछन् ।

लिगको उद्घाटन १८ गते विहान साढे ९ बजे झम्सिदेल युथ क्लब र श्री भगवती क्लबबीच हुनेछ । सोही दिन पौने १ बजे बाँसबारी युथ क्लब र सरस्वती युथ क्लबले भिड्दा ४ बजे हुने तेस्रो खेलमा वीरगञ्ज युनाइटेड र बोइज युनियनले प्रतिस्पर्धा गर्नेछन् ।

लिगको बिजेता टीमले १५ लाख रुपैयाँ पुरस्कार पाउँदा, उपविजेताले १० लाख र तेस्रो हुनेले ५ लाख रुपैयाँ पुरस्कार पाउनेछन् । प्रत्येक म्याच विजयी टीमलाई २५ हजार रुपैयाँ प्रदान गरिनेछ भने खेल बराबरी भएको खण्डमा दुवै टीमलाई १०–१० हजार रुपैयाँ दिइने एन्फाले जनाएको छ ।

प्रतियोगिताको तयारीका लागि भन्दै एन्फाले हरेक टीमलाई १२ लाख ५० हजार रुपैयाँ उपलब्ध गराएको छ । टीमलाई लिग सुरु हुनुअघि ६ लाख रुपैयाँ, लिग चलिरहेको समयमा ४ लाख र बाँकी २ लाख ५० हजार लिग समाप्त भएपछि दिनेछ ।

चैत २७ गतेसम्म चल्ने लिगका सम्पूर्ण खेलहरू एन्फा कम्प्लेक्स, सातदोबाटोमा हुनेछ ।