देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

युरोपमा थप २ हजार सैनिक खटाउने अमेरिकाको निर्णय

देशान्तर

काठमाडौं । युक्रेनमा रुसले आक्रमण गर्न सक्ने भन्दै अमेरिकाले यसै हप्ता युरोपमा अतिरिक्त सेना पठाउने निर्णय गरेको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडनले करीब दुई हजार सैनिक युरोपको सीमा क्षेत्रमा पठाउने निर्णय गरेका ह्वाइट हाउसका अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

यी सैनिकहरु फोर्ट ब्राग, नर्थ क्यारोलिनाबाट पोल्याण्ड र जर्मनी पठाइने छ । यसैगरी जर्मनीमा पहिलेदेखि नै तैनाथ एक हजार सैनिकलाई रोमानिया तैनाथ गरिने बीबीसीले जनाएको छ ।

युरोप पठाइने अमेरिकी सैनिक युद्धमा सामेल हुने छैनन् । यी सैनिकहरु अमेरिकाको सहयोगी देशको रक्षाका लागि हुन् । यसअघि अमेरिकाले साढे आठ हजार सैनिकलाई उच्च सतर्कताका साथ राख्ने निर्णय गरेको थियो ।

रुसले युक्रेनमा आक्रमण गर्ने योजनाको खण्डन गर्दै अमेरिकाले जबरजस्ती युद्धमा धकेल्न खोजेको बताउँदै आएको छ । यद्यपि रुसले युक्रेनको सीमा क्षेत्रमा करीब एक लाख सैनिक तैनाथ गरेको छ ।

युक्रेनले भने आक्रमणको आतंकले अर्थव्यवस्था चौपट हुनसक्ने भन्दै डर नदेखाउन पश्चिमा देशहरुलाई आग्रह गर्दै आएको छ ।