काठमाडौं । तोकिएको मितिमा निर्वाचन र विश्वसम्मेलन भएको भए विश्वभर फैलिएका गैरआवासीय नेपालीहरूले आगामी दुई वर्ष (२०२१–२०२३) का लागि नयाँ नेतृत्व चुनिसकेका सकेका हुने थिए । विश्व सम्मेलनबाट नयाँ कार्ययोजना तय हुने थियो । मातृभूमिको विकास र समृद्धिका लागि नयाँ खाका कोरिने थियो । ८० लाख प्रवासी नेपालीहरूमा नयाँ आशाको रक्तसञ्चार हुने थियो । गैरआवासीय नेपाली संघ (एनआरएनए) को जिम्मेवारी नयाँ नेतृत्वले सम्हाल्ने थियो ।
तर, अवस्था फरक रह्यो । न विश्व सम्मेलन भयो न निर्वाचन । दुई वर्षअघि निर्वाचित आईसीसी कार्यसमिति विधानको सहारामा ६ महिने आयु लम्ब्याएर बसेको छ ।
एनसीसीहरूको अधिवेशन भयो । नयाँ नेतृत्व पनि चयन भयो । केही एनसीसीहरूको निर्वाचन प्रक्रिया विवादित बने पनि अधिकांश एनसीसीहरूमा लोकतान्त्रिक विधिबाटै नयाँ पदाधिकारी चुनिएका छन् । तर, आईसीसीले भने जबर्जस्ती आफ्नो आयु आफैंं लम्ब्याउँदै छ ।
खासगरी अक्टोबर २० का लागि प्रस्तावित निर्वाचन र २३ देखि २५ सम्मका लागि तोकिएको विश्व सम्मेलन अनिश्चित भएको छ । विधानविपरीत एकै पटक ६ महिना म्याद बढाएको दाबी गरेको आईसीसीले आफ्नो म्याद बढाउनुपर्ने कारण र औचित्य भने स्पष्ट पार्न सकेको छैन । १८ वर्ष लामो एनआरएनएको इतिहासमा पहिलो पटक संस्था नै कुहिरोको काग बनेको छ । कुमार पन्त नेतृत्वको वर्तमान नेतृत्व आफैं हराएको छ । हेमराज शर्मा नेतृत्वको सचिवालय एकपछि अर्को अवैध योजनामा लागेको छ । संस्था र सचिवालयको नेतृत्व एकसाथ बरालिएको छ । संस्थापक, संरक्षक र नियामक सबै निकायबाट टाढिएको छ । समग्रमा आम गैरआवासीय नेपालीहरूको नजरबाट गिरेको छ । नेतृत्व गिर्दा संस्थाको गरिमा, मर्यादा र साख पनि गिरेको छ । तर, नेतृत्व ‘बहादुरी प्रदर्शन गरेको भावमा’ बहकिएको छ ।
आईसीसीको नेतृत्वले समयमा निर्वाचन र विश्व सम्मेलन गर्न नसकेको अवस्थामा यसै साता एनसीसीहरूको विश्व सम्मेलन सम्पन्न भएको छ । एनसीसीहरूको सम्मेलनले आईसीसी नेतृत्वलाई बलियो झापड हानेको छ ।
जुर्मुराएका एनसीसी
संघको संशोधित विधानमा जुलाई महिनालाई एनसीसीहरूको अधिवेशन महिनाको रूपमा उल्लेख गरिएको छ । जुलाई महिनामा सबै एनसीसीहरूको अधिवेशन र निर्वाचन गरिसक्नुपर्ने हुन्छ । सोहीअनुसार अधिकांश एनसीसीमा अधिवेशन र निर्वाचन भयो । अमेरिकाले उसको आफ्नो परम्पराअनुसार एक महिनाअगावै अधिवेशन र निर्वाचन ग¥यो भने केही एनसीसीले जुलाईमा सुरु गरेर अगस्टमा निर्वाचन प्रक्रिया सम्पन्न गरे ।
एनसीसीहरूले आफ्नो नेतृत्व मात्रै चुनेनन्, महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधि (डेलिगेट्स) पनि चयन गरे । विधानले नै तोकेबमोजिम ६५, २५ र १० प्रतिशतको प्रावधानअनुसार नै डेलिगेट्सको सूची एनसीसीहरूले आईसीसीमा पठाए । एनसीसीहरूले यी सबै काम गर्नुको एउटा प्रमुख उद्देश्य थियो, अक्टोबर २३–२५ मा विश्व सम्मेलन गर्नु र त्यसअगावै नयाँ नेतृत्व निर्वाचन गर्नु ।
तर, अक्टोबर २० का लागि प्रस्तावित निर्वाचनको तीन दिनअघि आईसीसीले निर्वाचन स्थगित भएको सूचना जारी ग¥यो । निर्वाचन रोकिएपछि विश्व सम्मेलन पनि रोकियो ।
निर्वाचन र विश्व सम्मेलन रोकिएपछि अक्टोबर २४, २०२१ मा एनसीसीहरूको विश्व सम्मेलन गरियो । अमेरिका, बेलायत, अस्ट्रेलियासहितका केही ठूला एनसीसीहरूको अग्रसरतामा आयोजना गरिएको भर्चुअल विश्व सम्मेलनमा ८० प्रतिशतभन्दा बढी एनसीसीका अध्यक्ष, पदाधिकारी र प्रतिनिधिहरूको सहभागिता रह्यो । त्यही सम्मेलनमा आईसीसीका अध्यक्ष कुमार पन्त अनुपस्थित रहनुले एनसीसीहरू सक्रिय छन् र आईसीसी नेतृत्व निकम्मा छ भन्ने स्पष्ट पारेको छ ।
संरक्षकदेखि आईसीसी पदाधिकारीहरूको सहभागिता
एनसीसीहरूको विश्व सम्मेलनमा अध्यक्ष कुमार पन्त र महासचिव हेमराज शर्मा सहभागी नभए पनि आईसीसीका अधिकांश पदाधिकारी, आईसीसी सदस्यहरू, क्षेत्रीय संयोजक तथा सहसंंयोजकहरूको उपस्थिति रह्यो । संघका पूर्वअध्यक्ष तथा संरक्षक देवमान हिराचन पनि सम्मेलनमा सहभागी भए । सहभागी सबैले एनसीसीहरूको सक्रियताको खुलेरै प्रशंसा मात्रै गरेनन्, आईसीसीलाई ठोस मार्गनिर्देशन दिन पनि सुझाए ।
संस्थाको नेतृत्वकर्ता पन्त र सचिवालयको नेतृत्वकर्ता शर्मा र आगामी महाधिवेशनमा अध्यक्षको उम्मेदवारी घोषणा गरेका बद्री केसी भने सम्मेलनलाई नै असफल पार्न प्रयत्नरत रहे । यी तीन मुख्य पदाधिकारीहरूको बुझाइ थियो, सम्मेलन उनीहरूका विरुद्ध थियो । गलत बुझाइसहित यी तीन पदाधिकारी सम्मेलन असफल पार्न, सहभागी हुन नदिन र विधानविपरीत छ भन्ने भ्रम फैलाउन भरमग्दुर प्रयासमा लागे । अध्यक्ष पन्त र महासचिव शर्माले त अधिकांश एनसीसीहरूलाई इमेल नै गरेर सम्मेलनमा सहभागी नहुन र सहभागी भए कारबाही हुने धम्की पनि दिए । सम्मेलनमा भएको सहभागिताले उनीहरूको धम्कीको पनि कुनै तुक देखिएन । पन्त र शर्माको नेतृत्व पूर्ण रूपमा असफल भएको सिद्ध मात्रै भएन कि उनीहरू नेतृत्व र दायित्वबाट समेत च्युत भएको स्पष्टै देखियो ।
आईसीसीको नेतृत्वले एनसीसीहरूको विश्व सम्मेलनलाई विरोधी समूहको भेलाको रूपमा परिभाषित गर्ने असफल प्रयास ग¥यो । विभिन्न जालझेल र तिकडम गरेर महाधिवेशन नै स्थगित गरेको आईसीसीको नेतृत्वको सबै प्रयास त्यतिबेला विफल भयो, जतिबेला एनसीसीहरूको विश्व सम्मेलनमा व्यापक सहभागिता देखियो ।
विश्व सम्मेलनको अध्यक्षता गरिरहेका एनसीसी अमेरिकाका अध्यक्ष बुद्धिसागर सुवेदीले सुरुमै ‘यो सम्मेलन कसैको विरोध र कसैको समर्थनमा नभई संस्था र समग्र पञ्जीकृत सदस्यको हितका लागि आयोजना गरिएको हो’ भनेर प्रष्ट पारिदिए, त्यसपछि पन्त–शर्मा–केसी समूहका लागि तर्क गर्ने कुनै ठाउँ नै रहेन ।
एनसीसीहरू आईसीसीका मेरुदण्ड हुन् । एनसीसीहरू नै नभए आईसीसी नै हुँदैन । १८ वर्ष पुरानो संस्थामा रहेकाहरूले यो तथ्यलाई राम्ररी बुझेका छन् । तर, पनि एनसीसीहरूलाई सहयोगी र पिछलग्गु संस्थाको रूपमा व्यवहार गर्न छाडेका छैनन् । आईसीसी नेतृत्वले यस सम्मेलनबाट गतिलो पाठ सिकेको हुनुपर्छ ।
सम्मेलनको सुझाव र संरक्षकहरूको सक्रियता
गैरआवासीय नेपाली संघको लगातार दुई कार्यकाल नेतृत्व गरेका डा. शेष घले संघका प्रमुख संरक्षक हुन् । उनले केही दिनअघि एनआरएनए डेको अवसरमा बेलायतमा आयोजित एक कार्यक्रममा भनेका थिए, एनआरएनएको विवाद सुल्झाउन संरक्षक परिषद् तयार छ ।
संघका पूर्वअध्यक्षहरू संरक्षक छन् । पूर्वअध्यक्षहरू संरक्षकको भूमिकामा सक्रिय छन् । संस्थाको गरिमा गिर्दै गएकोमा उनीहरू पनि चिन्तित छन् । उनीहरूको चाहना छ, विवाद समाधान गरौं र जतिसक्दो छिटो महाधिवेशन गरौं ।
संरक्षकहरूको चाहनासँग मेल खाने गरी एनसीसीहरूको विश्व सम्मेलनले निर्णय गरेको छ । विवाद समाधानका लागि पहल गर्न सम्मेलनले संरक्षक परिषद्लाई औपचारिक रूपमा नै आग्रह गरेको छ । विश्व सम्मेलनको आग्रहअनुसार नै केही पूर्वअध्यक्ष (संरक्षक) ले चासो व्यक्त गरिसकेका छन् । केही दिनभित्रै सो चासोको परिणाम देखिने अनुमान पनि गरिएको छ ।
आचार्यको पक्षमा अत्यधिक समर्थन
संघका पूर्वउपाध्यक्ष एवम् सल्लाहकार कुल आचार्य दसौंं महाधिवेशनमा २०२१–२३ का लागि अध्यक्ष पदका उम्मेदवार हुन् । आचार्यले आफ्नो उम्मेदवारी औपचारिक रूपमा नै घोषणा गरिसकेका छन् । लामो समय विभिन्न पदमा बसेर काम गरिसकेका आचार्यलाई अध्यक्षमा निर्वाचित हुन नदिन आईसीसीकै केही पदाधिकारी सबैखाले हतकण्डा अपनाउँदै लागिपरेका छन् । खासगरी अध्यक्ष पन्त, महासचिव शर्मा र उपाध्यक्ष केसीले एनसीसीहरूको विश्व सम्मेलनलाई आचार्य पक्षधरको सम्मेलनका रूपमा भ्रम फैलाउने प्रयास गरे । तर, सम्मेलनमा भएको सहभागिता र सम्मेलनले जारी गरेको घोषणापत्रले उक्त भ्रमलाई राम्ररी चिरेको छ ।
सम्मेलनमा सहभागी भई सफलताको लागि शुभकामना व्यक्त गरेका आचार्यले महाधिवेशन हुन नसक्नुको कारणको चर्चा गरे । आईसीसीको नेतृत्वले विवाद समाधानका लागि पहल नै नगरेको र समय हुँदासम्म विवाद सिर्जना गर्ने काम मात्रै गरेको स्पष्ट पारे । संघको सल्लाहकारसमेत रहेका आचार्यले विवाद समाधानका बारेमा नेतृत्वले आफूसँग कुनै सल्लाह नै नगरेको स्पष्ट पारिदिए । विगतको विशेष महाधिवेशनमा उत्पन्न विवाद सुल्झाउन समन्वयकारी भूमिका निर्वाह गरेका आचार्यको भनाइमा अधिकांश एनसीसीले सहमति जनाए ।
नेतृत्वमा रहेका केही व्यक्तिले आफ्नो व्यक्तिगत स्वार्थ र चाहनाका आधारमा संस्थालाई सञ्चालन गर्न खोज्दा अहिलेको अवस्था आएको आचार्यको बुझाइमा पनि सहभागीहरूले समर्थन जनाए । अधिकांश सहभागीहरूको जोड थियो, अब संस्थाको नेतृत्व आचार्यले गर्नुपर्छ । आचार्यको समन्वयकारी नेतृत्वबाट मात्रै संस्थाले गति लिन सक्ने धेरैको धारणा रह्यो । वर्तमान नेतृत्व असफल भएको र संस्थालाई गति दिन आचार्यको विकल्प नभएकोमा धेरैले सहमति जनाए ।
विधानविपरीत नियमावली बनाएर एनसीसीहरूमा पठाउने महासचिव शर्मा, विधानविपरीत सदस्यता वितरण गर्ने उपाध्यक्ष केसी, स्मार्ट एनआरएनएका नाममा एमआईएस सिस्टमकै दुरुपयोग गर्ने सचिव गौरी जोशी र यी सबै कुरामा समर्थन जनाउने अध्यक्ष कुमार पन्त पछिल्लो सम्मेलनसँगै प्रतिरक्षात्मक स्थितिमा पुगेका छन् ।
प्रतिक्रिया