देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एक नेपाली युवाको अमेरिकी सैन्य अनुभव

देशान्तर

बरुण विष्ट

 

“म त यहाँको आर्मीमा थिएँ नि !” कुरैकुरामा उनले भने । तर मैले पत्याइँन ।

अमेरिका छिरेका युवाहरू यहाँ बाँच्न, टिक्न र अघि बढ्न अनेकौं उपाय गर्छन– हरेक अवसरको उपयोग गर्छन् । धेरै ठाउँ चहार्छन् । आज यहाँ जमेको मान्छे भोलि अर्को ठाउँ मा “मुभ” हुन्छ । स्टोर वा रेस्टुरामा काम गरिरहेको मान्छे भोलि ट्याक्सी–उवर चलाउन थाल्छ, आई.टी.तिर लाग्छ, आई.टी.को मान्छे ग्यास स्टेशन र आफै स्टोर खोल्न खोज्छ । एउटा काम केही गरेपछि अर्कोतिर फलिफाप हुन्छ कि भनेर नयाँ ठाउँ र नयाँ धन्दा खोजी रहन्छन् । अझ नयाँ गरौं, अझ अघि बढ़ौं– सबैको यही ध्याउन्न छ । सर्बत्र छटपटी छ । उच्च अध्ययन पूरा नगरी यहाँ आएका वा अध्ययन अनुसारको व्यवसायिक र स्थायी काममा जम्न नसकेका युवाहरू यसैगरी भौतारिदै कुनै न कुनै काममा अल्झेका हुन्छन् र काम जस्तै भएपनि सुखी देखिन्छन् । कुन काम सानो र कुन ठूलो, कुन प्रतिष्ठित र कुन अपहेलित– केही भेदभाव छैन । सबै कामको उत्तिकै मर्यादा छ । श्रमको समान सम्मान छ । त्यसैले आवश्यक पर्दा कोही पनि कुनै पनि पनि काम गर्न संकोच मान्दैनन्, पछि हट्दैनन् । यो बाध्यता मात्र हैन केही समय पसिना झारेर पाखुरा र मन बलियो पारेपछि संस्कार र स्वभाव नै त्यस्तो बनि सक्छ । त्यसैले आफ्नो देशमा उच्च ओहोदामा पुगेका, सम्भ्रान्त परिवारको सदस्यको रुपमा चिनिएका र करोडपतिको सूचीमा परेकाहरू पनि नेपाली परम्परागत दृष्टिले ‘अनपेक्षित’ र ‘अशोभनिय’ ठानिने काममा खुशीसाथ संलग्न भएको पाइन्छ । जस्तो काम भएपनि खुशी छन्, सुखी छन् र समृद्धितिरै अघि बढेका छन् । नेपालीहरू मात्र हैन जुनसुकै देशबाट र जुन हैशियतमा आएको भए पनि सबैको प्रायः उस्तै मानसिकता र हालत हुन्छ । विद्यार्थीको रुपमा प्रवेश गरेकाहरूको लागि अध्ययनकाल सबैभन्दा कष्टकर र तनावपूर्ण समय हो । यो काल सहजरूपमा पार भयो भने उनीहरूको नयाँ जीवन आरम्भ हुन्छ । त्यसबेलासम्म उनीहरूले पढाई सकिनासाथ फर्किन्छु भनी बाबु–आमा वा साथी–शुभेच्छुलाई दिएको वचन विर्सिसक्छन् । घर, परिवार र स्वदेशमा पाएको र भविष्यमा अझ बढी मायाँ–स्नेह, सुविधा र सम्मान पाउने सम्भावनाले उनीहरूलाई पटक्कै आकर्षित गर्दैन । तर यहाँ टिक्नका लागि स्थायी आवासको अनुमति पत्र (पी.आर./ग्रिनकार्ड) अपरिहार्य भएकाले ग्रीन कार्ड वा पी.आर. प्राप्त गर्नका लागि राज्यले धेरै वटा बाटो बनाइदिएको छ । ग्रीन कार्ड पाउनासाथ उनीहरू पखेटा हालेर एउटा नयाँ आकाशमा उड्न थाल्छन्- स्वतन्त्र, स्वच्छन्द, निर्बन्ध । यसको सामु बाँकी संसारमा केही छैन । सबै फीका, निरस । बिभिन्न देशहरूबाट रंगीन सपना बोकेर आफ्नै खर्चमा आएका बलिया, जाँगरिला, सुपठित र उद्यमशील युवाहरूलाई उम्किन नदिन सरकारले ग्रीन कार्ड वा पी.आर.को लागि अनेक मार्ग बनाइ दिएको छ । इच्छा हुने प्रायः जो पनि कुनै न कुनै मार्गबाट छिर्न सक्छन्, कुनै अपवाद वाहेक । यस्तै मध्ये युवाहरूको रोजाईको एउटा मार्ग हो, सेनामा भर्ती हुने । सेनामा भर्ती हुने, तालिम लिने र ‘रिजर्भ’मा बस्ने । संकट परेको र बोलाएको बेला मात्र काममा खटिनु पर्ने, अरु बेला सामान्य नागरिक सरह घरमै बस्न र स्वतन्त्र ढंगले काम गर्न पाउने । यसवापत छिट्टै ग्रीन कार्ड र विभिन्न सुविधा प्राप्त हुन्छ । यो आकर्षणले गर्दा थुप्रै नेपाली युवक/युवतीले यो बाटो पनि प्रयोग गरेका छन् । त्यसैले बरुणले ‘म पहिले अमेरिकी आर्मीमा थिएँ’ भन्दा मैले त्यस्तै ठानें र सोधें– किन, ग्रीन कार्ड लिन ? लियौं त ?

उनले थपे– मेरो त स्वतः ग्रीन कार्ड थियो । म स्टुन्डेन्ट भिसा हैन फेमिली भिसामा आएको हुँ । मेरो बुवा–मम्मी पहिलेदेखि अमेरिकामा बस्नु हुन्थ्यो ।

बरुण विष्टको पुख्र्यौली थलो डडेलधुरा भए पनि उनी काठमाडौं मै जन्मिए, हुर्केका हुन् । बालुवाटारमा घर छ । सुशिक्षित र सम्भ्रान्त परिवार । राजधानीको स्तरीय विद्यालयमा अध्ययन गरे । कक्षामा अब्बल थिए । खेल र मनोरञ्जनात्मक कार्यक्रमहरूमा पनि सहभागी हुन्थे । सुन्दर र फूर्तिला थिए । सहपाठीहरूबीच सबैको प्रिय थिए । तर अध्ययन क्रमलाई बीचमै छाडेर, एस.एल.सी. पास गर्नासाथ, अमेरिका पुगे । त्यतिखेर उनी १६ वर्षका थिए । त्यहाँ प्लस टु गर्नासाथ सेनामा भर्ना भए । उमेर पुग्नासाथ कुनै न कुनै काममा लागि हाल्ने अमेरिकाको चलन नै छ । नेपालीहरू नेपाल बाहिरको औपचारिक सरकारी सेनामा भारत, बेलायत र बेलायत संरक्षित केही ठाउँमा कार्यरत रहेको सर्वविदित छ । तर खोज्ने हो भने अरु देशमा पनि पाइने रहेछ । यस्तै एउटा उदाहरण हुन् बरुण विष्ट ।

“अन्त काम पाउने सम्भावना हुँदाहुँदै सेनामा भर्ती हुन चाहनुको कारण के थियो ?”  उनले मुस्कुराउँदै बताए– रहर । मलाई बच्चादेखि नै सेनामा जाने रहर थियो । जब म सेनाको युनिफर्म लगाएको मानिस देख्थें, उ धेरै ठूलो मान्छे रहेछ भन्ने लाग्थ्यो । म सोच्दथे– एक दिन म पनि यसैगरी युनिफर्म लगाएर सबैको अगाडि टक्क उभिन पाए कस्तो हुन्थ्यो । त्यो दिन कहिले आउला ? अनि मौका पाउनासाथ सेनामा भर्ना भइहालें ।

बरुण र श्रद्धा

० कसैको प्रेरणा, सल्लाह केही थियो ? आर्मीमा कोही आफन्त थिए ?

– त्यस्तो केही थिएन । हुन त हजुरबुवा नेपाल प्रहरीमा हुनुहुन्थ्यो । शायद एस.एल.पी.सम्म भएर रिटायर हुनुभयो । उहाँले युनिफर्म लगाउँदा, उहाँका पछाठि पुलिसहरुको लस्कर देख्दा, उहाँले पुलिसलाई अर्डर दिएको देख्दा, उहाँको पोज र रवाफ देख्दा, ओहो, म पनि यस्तै हुन पाए हुन्थ्यो भन्ने त लाग्थ्यो, तर पुलिसभन्दा सेनाकै युनिफर्म र शान मन पर्दथ्यो । कसैको सल्लाह र प्रेरणा थिएन ।

० नेपाली सेनामा किन नगएको ?

– नेपालमै बसेको भए कोशिस गर्ने थिएँ । सेनाको युनिफर्म लगाएर छाति तन्काएर, शिर ठाडो पारेर बुट बजार्दै काठमाण्डौं थर्काउने इच्छा थियो । अमेरिकीभन्दा नेपाली सेनालाई नै प्राथमिकता दिने थिएँ । तर त्यसका लागि उमेर नै नपुगी यता आएकाले त्यो मौका टर्‍यो । नेपालमा भएको भए शायद अलि धेरै पढेपछि मात्र जागीर खाने थिएँ र ठूलै अफिसर हुने थिएँ कि ? जे होस्, सन्तोष छ ।

० भर्ना हुँदा शुरुमा डर लागेन ?

–डर त लागेन, शुरुशुरुमा केही गाह्रो चाहिं भयो । सेनाको तालिम निकै डेन्जर हुन्छ भन्ने पहिले नै लागेको थियो । तर डर नलाग्ने किसिमले ट्रेनिङ दिन्थे । रमाइलै थियो । खाना पनि राम्रै हुन्थ्यो । मानिसलाई अमेरिकी सेनामा गाईको मासु खानै पर्छ भन्ने लाग्छ होला, तर त्यस्तो हुँदैन् । मासु त खानैपर्छ, तन्दुरुस्तीका लागि । तर चिकन, पोर्क, विफ जे खाए पनि हुन्छ । खाने कुरामा अफिसर र नन अफिसर भन्ने भेदभाव हुँदैन– सबैलाई समान हुन्छ । क्यालोरीहरु मिलाएर विभिन्न प्रकारका खाना दिन्थे । म जे पनि खाइ दिन्थें ।

० युद्धको मैदानमा पनि जानु पर्‍यो ?

– गए नि । मलाई युद्धको मैदान हेर्ने पनि इच्छा थियो । इराक र अफगानिस्तानको मोर्चामा गएँ । तालिम सकिएपछि कस्तो क्षेत्रमा काम गर्ने भनेर छान्न दिइन्छ । मैले कम्ब्याट इंजिनियरिङ्गको काम छानें । अर्थात् वम सम्बन्धी काम । ३ वर्ष कतै जानु परेन । त्यसपछि ३ वर्ष जर्मनीमा, त्यहाँको स्वाइनफोर्ड क्षेत्रमा खटिएँ । त्यतैबाट केही समय इराक जानु पर्यो । अमेरिकाले इराक छोड्ने बेलाको परिस्थितिको कल्पना गर्नुस्, त्यसेबला म त्यहाँको विकट ठाउँमा कार्यरत थिएँ । त्यस्तै, अफगानिस्तानमा दुईपल्ट खटिएँ– एकपल्ट १३ र अर्कोपल्ट ११ महिना । कस्तो भयावह अवस्था थियो !

० त्यहा‘ कस्तो कस्तो खतरा झेल्नु प¥यो ?

– युद्धको मैदानमा आर्मीले झेल्नु पर्ने हरेक प्रकारको स्वभाविक खतरा झेलियो । मेरो काम बन्दुकले लड्ने थिएन । ठाउँ ठाउँमा राखिएका बमहरु हटाउने, निष्क्रिय पार्ने र बाटो क्लियर गर्ने काममा हुन्थें म । तर एक्लै होइन । गाडी भित्रै बसेर यो काम गथ्र्यौ । ४–५ वटा गाडी सँगै हुन्थे । अत्याधुनिक उपकरणहरु हुन्थे । तैपनि कते कतै दुर्घटना भइ हाल्थ्यो । कैयौं साथीहरु गुमाउनु पर्‍यो । कैसों साथी अपांग र अशक्त भए ।त्यस्ता बलिया गाड़ी पनि कतै कतै बिस्फोटनमा प्रेरित कच्याककुचुक र ध्वस्त हुन्थे । अफगानिस्तानमा म पनि झन्नै झन्नै…… । नराम्रोसँग घाइते भएँ, तुरुन्तै अस्पताल लगियो । शरीरभित्र रहेको छर्रा र विष्फोटक पदार्थका टुक्राहरु झिके । घाइतेहरूको उपचार अत्यन्तै छिट्टो र राम्रोसंग हुन्छ । म घाइते हुदा पनि तुरून्तै उपचार भयो ।अरू देशमा भएको भए के हुन्थ्यो , भन्न सकिन्न । गारै थियो । उपचारपछि मलाई शारीरिक र मानसिकरूपमा असक्त भएको र पूर्बवत काम गर्न नसक्ने ठहर गर्दै मेडिकल कारणले अर्थात पीटीएसडीको कित्तामा राखी अवकाश दिइयो ।अहिले पेन्सन पाउछु । (अवकाश पाए पनि आर्मीको अनुशासनले गर्दा धेरै कुरा भन्नु उचित हुदैन । त्यसैले भित्री कुरा नसोध्नु होला ।)

० त्यसरी घाइते भएपछि पछुतो लागेन ?

– पछुतो त लागेन । रिजर्भमा नबसेर नियमित आर्मीमा गएपछि जे पनि हुन सक्छ भन्ने थाहै थियो । डर हटी सक्छ । जे भए पनि आफुलाई केही हुदैन भन्ने आत्मविश्वास जाग्छ ।

० पेन्सनले पुग्छ ?

– कुन स्तरको जीवन जिउने, त्यसमा निर्भर गर्छ । मलाई चाहिं पुग्दैन । त्यसैले त अहिले घरबाटै अरु काम पनि गरिरहेको छु ।कम्प्युटरबाट काम गर्ने हो । शारीरिक परिश्रम धेरै गर्न मिल्दैन । श्रीमती ( श्रद्धाश्री कार्की) पनि काम गर्छिन् । उनको राम्रो काम छ ।

० आर्मीमा काम नगर्न आफन्त, परिवारबाट दबाब आएन ?

– त्यसबेला विहा गरिसकेको थिइन, त्यसैले श्रीमतीको दबाब आउने कुरै भएन । पछि थाहा भयो– आर्मीमा काम गर्नेले राम्री र आफूले चाहेजस्तै केटी पाउन गाह्रै हुने रहेछ । त्यसबेला रिटायर्ड भई नहालेको भए श्रद्धालाई पनि पाउने थिइन कि ? तर उनको मम्मी–ड्याडी समझदार हुनु भएकोले विहा सम्भव भयो । मेरो मम्मी भने धेरै चिन्तित हुनुहुन्थ्यो । फोन गर्‍यो कि ‘बाबु, बरु जागिर छोडि दे’ भन्नुहुन्थ्यो । चाडै रिटायर्ड भएर राम्रै भयो ।

२०७८ भदौ ६ गतेको देशान्तर साप्ताहिकमा प्रकाशित