देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

काेभिड खाेप लगाएका केहीमा असर, उपचारपछि सामान्य

देशान्तर

काठमाडाैं । कर्णाली प्रदेशमा काेभिड १९ विरूद्धको खोप लगाएका केहीमा असर देखिएकाे छ । खाेप लगाएकामध्ये एकजनामा गम्भीर असर देखिएकाे हाे । कर्णाली प्रदेशकाे सामाजिक विकास मन्त्रालय अन्तर्गतकाे स्वास्थ्य सेवा निर्देशनालयले यसबारे जानकारी गराएकाे हाे ।

प्रदेश अस्पताल सुर्खेतमा १४ गते २ सय ९८ जनाले खाेप लगाएका थिए । तीमध्ये ४ जनामा सामान्य र १ जनामा गम्भीर असर देखिएकाे हाे । अहिले उनकाे स्वास्थ्य अवस्था सामान्य रहेकाे कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका निमित्त निर्देशक डा. रविन खड्काले जानकारी दिए । ती व्यक्तिमा अन्य कुनै राेग नभएकाे पनि उनले बताए ।

साेही दिन डाेल्पा अस्पतालमा खाेप लगाएका १० जनामध्ये दुई जनामा पनि सामान्य लक्षण देखिएकाे छ ।

यसअघि शुक्रराज ट्रपिकल तथा सरूवा राेग अस्पतालमा खाेप लगाएका मध्ये आइ.सी.यु, वार्ड, इमर्जेन्सीमा काम गर्ने २९ स्वास्थ्यकर्मीसँग साेधपुछ गर्दा २३ जनामा कुनै न कुनै लक्षण देखिएकाे पाइएकाे थियाे । अस्पतालका प्रमुख कन्सल्टेण्ट डा. अनुप बास्ताेलाका अनुसार साेधपुछका क्रममा ६ जनामा एउटा मात्र लक्षण, ६ जनामा दुई, तीन जनामा तीन प्रकारका लक्षण, एक जनामा चार, दुई जनामा पाँच, चार जनामा ६ र एक जनामा आठ वटासम्म लक्षणहरु देखिएकाे पाइएकाे थियाे ।

यस्ता लक्षणहरु कुनै उपचारबिना र सामान्य उपलब्ध औषधिको प्रयोगले ठिक भएको सबैको अनुभव छ । खोप लगाएपछि देखिएका लक्षणका कारण कसैलाई गम्भीर स्वास्थ्य समस्या वा अस्पताल भर्ना हुनुपर्ने अवस्था नरहेकाे उनले जानकारी दिए । खोप लगाएपछि देखिने सामान्य लक्षणलाई सामान्य रुपमै लिनुपर्ने उनकाे भनाइ छ ।