देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

हुलाकी सडक : अतिक्रमित र पुराना संरचना भत्काइँदै

देशान्तर

काठमाडौं । हुलाकी सडक क्षेत्र अतिक्रमण गरेर बनाइएका संरचनालाई धमाधम हटाउन र भत्काउन थालिएको छ ।

हुलाकी राजमार्ग योजना कार्यालय इटहरीले सडकका दायाँबायाँ १५–१५ मिटरभित्र बनाइएका राजविराज नगर क्षेत्रका भौतिक संरचनालाई डोजर लगाएर भत्काउन शनिबारदेखि शुरुवात गरेको हो । नगर क्षेत्रका राममन्दिर, हुलाक, जिल्ला प्रशासन, मालपोत र जिल्ला अदालतलगायत कार्यालयको परिसर भत्काइएको छ ।

बहुप्रतीक्षित हुलाकी सडक निर्माणका क्रममा अतिक्रमित संरचना आफै हटाउन प्रशासन र पालिकाले समेत सार्वजनिक सूचनामार्फत सहयोगका लागि सबैसँग अनुरोध गरेका छन् ।

कार्यालयका इञ्जिनीयर आशुतोष कर्णले राजमार्ग निर्माणका क्रममा सिरहा सडकमा केही समस्या देखिए पनि त्यसलाई स्थानीय जनप्रतिनिधि, प्रशासन र सम्बन्धित पक्षबीच छलफल गरेर सहमतिका माध्यमबाट निकास दिने काम भइरहेको जानकारी दिए । उनले राजमार्ग अन्तर्गत अहिलेसम्म १५ किमी सडकमा पहिलो तहको कालोपत्र गर्ने काम सम्पन्न भएको बताए ।

सप्तरीका कञ्चनपुरदेखि राजविराजकासम्म र राजविराजदेखि बलान विहुलसम्मका दुई खण्डमा ४६ किमी सडकखण्डमा २२ पुल निर्माण गर्नुपर्ने कार्यालयले जनाएको छ । तीमध्ये अहिलेसम्म छ वटा मात्र सम्पन्न भएको छ । बाँकी निर्माणकै क्रममा रहेको कार्यालयले जनाएको छ । ती दुई खण्ड झण्डै दुई अर्ब रुपैयाँमा निर्माण हुने छ । विसं २०७८ वैशाखसम्म सडकको सप्तरीखण्डको काम पूरा गरिसक्ने लक्ष्य रहेको छ ।

यस्तै सप्तरीको बोदेबर्साइन नगरपालिकाले पनि हुलाकी सडकको बिसनपुर–स्वर्णपट्टी सडकखण्डमा अतिक्रमण हटाउन सुरुआत गरेको छ । नगरपालिकाले नगर क्षेत्रको सडकअन्तर्गत बिसनपुर–स्वर्णपट्टी खण्डमा सडकका दायाँबायाँ अतिक्रमण हटाएको स्थानीयवासी लोकेन्द्रप्रसाद यादवले जानकारी दिए ।

उनका अनुसार नगरपालिकाले निर्माण सामग्री बालुवा, गिट्टी, छड, काठ, दाउरालगायत कठघरा (गुम्टी), खाद्यान्न, गुइँठा, गाडी र अस्थायी पसल हटाएको थियो । सडकमा ती सामग्री महिनौँ दिनसम्म राख्दा बाटो नै साँघुरो भएर गाडीलाई आवतजावत गर्न अवरोध हुनाका साथै सडक नै कुरुप भएको थियो । नगरपालिकाले ती अतिक्रमण हटाउन पटक–पटक सूचना जारी गर्दा पनि नगरबासीले अटेर गर्दै आएका थिए ।