देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

यतीलाई गोकर्ण रिसोर्ट : ओली सरकारको ठूलो नीतिगत भ्रष्टाचार

देशान्तर

काठमाडौं । पूर्वएमालेलाई पार्टी कार्यालय दिनेलगायतका धेरै पार्टीका नेताहरूले भ्रष्टाचार गरेर कमाएको पैसा लगानी गरी व्यवसाय गर्ने र भ्रष्टाचारबाट आर्जित सम्पत्तिको संरक्षण तथा त्यसबाट अझ फाइदा दिलाउने यती होल्डिङ्स प्रालिका दिवंगत मालिक आङछिरिङ शेर्पाको व्यवसायलाई अझ मलजल गर्न र विस्तारित गर्न भ्रष्टाचार र सुशासनको भाषण गरेर कहिल्यै नथाक्ने केपी शर्मा ओलीले गैरकानुनी रूपमा पुरानो सम्झौताको अवधि ६ वर्ष बाँकी छँदै पुनः २५ वर्ष गोकर्ण रिसोर्टको २८ सय रोपनी जग्गा कौडीको भाउमा मन्त्रिपरिषद्बाट निर्णय गरेका छन् । ओली र अन्य राजनीतिज्ञले भ्रष्टाचार गरेर कमाएको पैसा लगानी रहेको यती होल्डिङ्स प्रालिलाई सरकारी सम्पत्ति त्यसरी ऐन, नियम मिचेर प्रतिरोपनी मासिक ५ सय ६४ रुपैयाँमा भाडामा दिनु यो सरकारको सुशासन र भ्रष्टाचार शून्य नीति ‘देखाउने दाँत’ मात्र रहेछ भन्ने पुष्टि भएको छ ।

व्यवसायीबीच केपी ओलीको धर्मपुत्र भनेर प्रचारित स्वर्गीय आङछिरिङ शेर्पाको कम्पनी यती होल्डिङ्सलाई पहिलोपटक २०५० माघको अन्त्यमा राजदरबारको नजिक रहेका सिंगापुरको एलएम सुभिर ब्रदर्स ट्रेडिङ प्रालि २०५२ साउन ३१ गते सरकारलाई भाडा तिरेर रिसोर्ट सञ्चालन गर्ने ३० वर्षको लागि अनुमति पाएको थियो । सम्झौतामा ३० वर्ष सञ्चालन गरेर रिसोर्ट र गल्फ कोर्स चालू अवस्थामै सरकारलाई हस्तान्तरण गर्ने सर्त थियो । जब २०६२/६३ को आन्दोलनपछि राजतन्त्र फ्याकियो राजदरबारको सम्पूर्ण सम्पत्ति नेपाल ट्रस्टको नाममा राखियो ।

त्यसपछिदेखि नै स्व. आङछिरिङले गोकर्ण रिसोर्ट हत्याउनलाई अनेक चलखेल गरिरहेका थिए । तर सम्झौतामा सुभिर ब्रदर्स ट्रेडिङले ५१ प्रतिशत सेयर राख्नै पर्ने सर्तका कारण यती होल्डिङस्को नाममा आउनलाई व्यवधान भइरहन्थ्यो । जब २०७० सालमा लोकमानसिंह अख्तियार प्रमुख भएर आए उनले शेर्पाको प्रभावमा ट्रस्टको सञ्चालक समितिलाई गैरकानुनी दबाब दिएर सेयर हस्तान्तरणको लागि लागिरहे । तर अवैधानिक भनेर सञ्चालक समितिका सदस्य ट्रस्टका सदस्यसचिव नमानेपछि उनले दबाब दिएर सरुवा गराई २०७० माघको अन्तिम साता यती होल्डिङसको नाममा सम्पूर्ण सेयर हस्तान्तरण गराएरै छोडे ।

संवैधानिक राजतन्त्र र लोकमानको पालामा समेत निकै पापड पेलेर निम्त्याएको यो काम अहिले यति होल्डिङ्स प्रालिले आफूलाई सदाचारी, नैतिकवान दाबी गर्ने तर आफू र आफ्नो मान्छेको लागि गर्न संविधान, ऐननियम सबै मिच्ने दुई तिहाइ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले ६ वर्ष अवधि बाँकी छँदै आफन्त पोस्न कौडीको भाउमा पुनः स्व. शेर्पाको कम्पनी यती हाल्डिङ्सलाई बिना प्रतिस्पर्धा कौडीको भाउमा २५ वर्षको लागि दिए । ट्रस्ट सञ्चालक समितिका अध्यक्ष उपप्रधानमन्त्री ईश्वर पोखरेलको सिफारिसमा मन्त्रिपरिषद् बैठकमा पेस भएको यो प्रस्तावमा अन्य मन्त्रीहरूले झिनो विरोधको स्वर निकाले पनि दम्भी प्रधानमन्त्री ओलीको सामु निरीह देखिए ।

यसमा ओली र पोखरेललाई राम्रै शुभलाभ भएको चर्चा नेकपा भित्रै छ । यती होल्डिङेसले नेपाल ट्रस्टसँगै कौडीको भाउमा जग्गा लिएर तत्कालीन नारायणहिटी दरबार अगाडि पनि ठूलो व्यावसायिक भवन बनाइसकेको छ । सो जमिन दिलाउन पनि नेकपाको सरकार टुप्पी कसेर लागेको बताइन्छ । स्व. शेर्पाको यती होल्डिङ्सले अन्यत्र रहेका नेपाल ट्रस्टको सम्पत्तिमा पनि आँखा लगाइरहेको व्यवसायीहरू बताउँछन् ।

गत वर्ष ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा मन्त्री रवीन्द्र अधिकारीसँगै निधन भएका स्व. आङछिरिङ शेर्पाको निधनको खबरबाट एक दर्जनभन्दा बढी अकुत सम्पत्ति कमाएका नेताहरू रातभरि सुत्न सकेनन् भन्ने चर्चाले त्यतिबेला बजार तातेको थियो ।