देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रदीप नेपाललाई भीसा नदिदैमा बेलायत नेपालबाट लखेटिनु पर्ने ?

देशान्तर

गोरखापत्रको यही बैसाख १२ गते— “भीसा नदिने मुलुकलाई हामीले किन आफ्नो जमीन भोगचलन गर्न दिने ?” भन्ने शीर्षकमा प्रदीप नेपालको एउटा लेख छापिएको छ । प्रदीप नेपालले चार वर्ष अघि, भूकम्प गएको बेला बेलायत जान भीसाको निमित्त निवेदन दिएका रहेछन् । उनलाई त्यसबेला भीसा प्राप्त भएन छ । त्यही कारणले अहिले उनले गोरखापत्र मार्फत भीसा नदिने वृटिश दूतावासलाई नेपालबाट हटाउन पर्छ भनेका छन् । त्यो लेखको अन्त्यमा प्रदीप नेपाललाई “लेखक नेकपाका नेता हुनुहुन्छ” भनिएको छ । के नेकपाका नेतालाई भीसा नदिएको कारण नेपालको सवभन्दा पहिले दौंत्य सम्बन्ध भएको, नेपालको पुरानो भित्र देशको दूतावासलाई नेपालबाट नै हटाउनु पर्छ भन्नुलाई जायज मान्न सकिन्छ ? भीसा नदिने प्रकृया वा नीति सम्बन्धित देशको नितान्त निजी विषय हो । त्यसले कुनै कारणले कुनै व्यक्तिलाई भीसा दिएन भने के त्यो देशको दूतावास नै हटाउन सकिन्छ ? के त्यो उचित हुन्छ ? कुनै व्यक्तिको कुण्ठा, उसको सनक र आक्रोसमा, नेपालसति सवभन्दा पहिले दौंत्य सम्बन्ध कायम गरेर नेपालमा धेरै पहिलेदेखि रहेको, धरै पहिलेदेखि नेपालको मित्र भएर, नेपालको सुख र दुःखमा सहयोग गर्ने देश बेलायतको दूतावासलाई नेपालबाट हटाउनु पर्छ भन्नु कतिसम्मको गैर जिम्मेवार र घमण्डपूर्ण कुरा हो ? अवश्य पनि यो राष्ट्रघाती र बहुलठ्ठी भनाई हो । के प्रदीप नेपाललाई अरु देशका दूतावासले पनि बेलायतले जस्तै भीसा दिएनन् भने के ती सबै देशका दूतावासलाई नेपालबाट हटाउने ? नेकपाका नेता प्रदीप नेपाल जस्तो महान व्यक्तिलार्य पनि भीसा नदिने देशको दूतावासलाई नेपालमा रहने कुनै अधिकार छैन भन्दै ती दूतावासलाई लखेट्ने ?

प्रदीप नेपालले आफ्नो लेखको सुरुमै, उनको त्यो लेखको विषय “मूलतः नेपाल सरकारसँग र विशेष रुपमा परराष्ट्र मन्त्रालयसँग सम्बन्धित छ” भनेका छन् । त्यस अर्थमा, नेकपाको एकलौटी सरकार रहेको बेला, नेकपाको नेताले जे लेख्या, त्यसलाई सरकारले हुवहु पालन गर्नु पर्छ भन्ने प्रदीप नेपालको सोचाइ छ र त्यसलाई जोड दिंदै गोरखापत्रले आफ्नो गरिमा र स्वस्थ पत्रकारिताको कर्तव्यलाई तिलाञ्जली दिएर, प्रदीप नेपाल समक्ष नतमस्तक भएर यो विवादास्पद लेख छापेको छ ।

गोरखापत्र नेपालको पुरानो पत्रिका हो र यसले नेपालको निरंकुश राणाशासनको साथै पञ्चायतको अर्को निरंकुश शासनलाई पनि नजिकैबाट देखेको छ । त्यसबेला यो पत्रिकाले बाङ्गो रुखलाई पनि सोझो भन्दै आफूलाई चाकरीको माध्यम बनाउनु पथ्र्यो । अहिले २०७६ सालमा आइपुग्दा, मुलुक धेरै अगाडि गैसकेको छ । अब बाङ्गो रुखलाई सोझो भनेको खण्डमा सबैले त्यही बोलीमा लोली मिलाउँदैनन् र सत्य बोल्ने हिम्मत देखाउन सक्नेछन् भन्ने सोचाइ राखेर गोरखापत्रले जे पायो उही छाप्ने काम तुरुन्त रोकोस् । यो मोही माग्ने ढुंग्रो लुकाउने जमाना होइन । भ्रम नहोस्, जे छ सबैले स्पष्ट देख्ने यो पारदर्शी जमाना हो । यो पनि ध्यान रहोस् कि गोरखापत्र जनताले तिरेको करबाट चलेको पत्रिका हो । यसमा वहुलठ्ठी, सनक र क्रोधमा लेखिएका यस्ता राष्ट्र हित विपरीतका सामाग्री छाप्ने काम नहोस् ।

गोरखापत्रको यो लेखमा प्रदीप नेपालले त्यतिमात्र भनेका छैनन् । उनले, “भारतमा बेलायतको दूतावास छैन । त्यहाँ उसको हाइकमिसन छ” भनेका छन् । वास्तवमा भन्नु पर्दा, भारतमा राजदूत नभएर बेलायतको हाइकमिस्नर रहन्छन् र बेलायतमा पनि भारतको हाइकमिस्नर रहने व्यवस्था छ । यो दुई देश बीचको सम्बन्धलाई विशिष्ट रुपमा राख्ने कारणले यसो गरिएको हो । तर प्रदीप नेपालले बेलायतको दूतावास पनि नरहेको रुपमा सम्झेका रहेछन् भारतलाई ।

उनले आफूलाई भीसा दिएन भन्दैमा, “नेपाली जनताका लागि काम नलाग्ने यस्ता दूतावास हाम्रो देशमा किन आवासीय भएर बसेका छन् ? यसमा छलफल चलोस् ।” भनेका छन् र उनी जस्तो “ठूलो साहित्यकार” लाई पनि भीसा नदिएकोमा आक्रोस पोखेका छन् । अनि प्रदीप नेपालले यो पनि भनेका छन् कि, नेपालीलाई भीसा दिनु नपर्ने भारतीय दूतावासको पनि आवश्यकता छैन । उनले थप भनेका छन्, “लाजिम्पाटको त्यो विशाल भूमि किन हामीले त्यसै खेर फाल्ने ? बेलायत र भारत दुवै मुलुकका दूतावास त्यहाँ जोडिएर बसेका छन् ।” यसको तात्पर्य के बेलायत र भारतको दूतावासले भोग गरिरहेको जमीन खोस्नु पर्छ भन्ने होइन ? यी दुवै मित्र देशको विरोधमा नेपालले यो कदम चाल्न सक्छ ? बेलायतको लण्डनमा र दिल्लीको वारखम्वा रोडमा के नेपालले पनि ती देशको जमीनको भोग गरेको छैन ? के यो नितान्त गैरजिम्मेवारी भनाइ होइन ? के नेकपाको नेता र आफैंले आफूलाई ठूलो साहित्यकार भन्ने व्यक्तिलाई भीसा नदिने दूतावासको नेपालमा आवश्यकता छैन भन्नेमा र लाजिम्पाटको जमीन समेत खोस्नु पर्छ भन्नेमा मतैक्य भएर नै त गोरखापत्रले पनि प्रदीप नेपालको यो लेख छापेको होला । अहिले नभए पनि भविष्यमा पनि यस्तो गैर जिम्मेवार कुरा छाप्नेहरु को–को हुन्, त्यो कुराको छानविन वर्तमान सरकारले पनि गर्ला । नेपाली जनताले पनि गर्ने छन् । यस्तो गैरजिम्मेवार मात्र होइन, नेपालसित अरु दुई देशको सम्बन्ध विगार्न नियोजित खेल खेल्ने आफूलाई आफै ठूलो साहित्यकार भन्ने लेखक प्रदीप र यस्तो गैरजिम्मेवार लेख छाप्ने गोरखापत्र दुवै दोषी छन् । यिनको राष्ट्रघाती अनुहारलाई उदाङ्गो पार्न सबैले सजग हुनुपर्छ । सरकारले पनि यसमा ध्यान दिई कि त प्रदीप नेपाल जस्तालाई भीसा नदिने दूतावासलाई नेपालबाट हटाउनै पर्छ भन्नु पर्छ । अन्यथा यस्तो गैर जिम्मेवारी लेख किन छापियो ? त्यसको जाँजबुझ गर्नु पर्छ ।
कमलामाई न.पा. सिन्धुली