देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सिने जगतः “साम्राज्ञीको पारिश्रमिक १५ लाख”, “अनमोल सवैभन्दा महँगा नायक”

देशान्तर

काठमाडौं । पछिल्लो समय नेपाली चलचित्र क्षेत्रमा कसले कति पारिश्रमिक पायो, कसले थोरैमा चलचित्र खेल्यो भन्ने कुराको चर्चा खुबै हुने गरेको छ । चलचित्रकर्मीहरू अभिनयभन्दा पनि पारिश्रमिक बढी देखाउने होडबाजीमा लागेका छन् । यसमा पुरानाभन्दा पनि नयाँ चलचित्रकर्मीहरू अगाडि छन् ।

विगतमा नाम चलेका राजेश हमाल, भुवन केसी, निखिल उप्रेती, विराज भट्ट, आर्यन सिग्देलले कति पारिश्रमिक लिए भन्ने त्यति धेरै चर्चा हुन्नथ्यो । बरु एकै वर्षमा दर्जन बढी चलचित्रमा अभिनय गर्दा स्वभावैले कलाकारको आम्दानी धेरै हुन्थ्यो ।

विगतमा भुवन केसीबाहेक राजेश हमाल, निखिल उप्रेती, विराज भट्ट, रमेश उप्रेतीले एक वर्षमा १२ वटाभन्दा बढी चलचित्रमा अभिनय गरेका थिए । कतिसम्म एकैदिन एउटा नायकले चारवटा चलचित्रको सुटिङ सेटमा पुग्नुपथ्र्यो । त्यसैले थोरै पारिश्रमिक पाए पनि हातमा धेरै चलचित्र हुँदा उनीहरूको आम्दानी बढी हुने गथ्र्यो ।

उनीहरू आफ्नो पारिश्रमिक भन्न पनि चाहँदैनथे । तर, पछिल्लो समय कुन कलाकारले कति पारिश्रमिक लियो भन्ने कुराले धेरै महत्व पाउन थालेको छ ।

चर्चाको होडमा तीन अभिनेत्री
यतिखेर धेरै पारिश्रमिक लिने होडमा देखिएका छन् तीन अभिनेत्री । जसमा साम्राज्ञीराज्यलक्ष्मी शाह, पूजा शर्मा र नम्रता श्रेष्ठ पर्छन् । साम्राज्ञी पछिल्लो समयकी हिट अभिनेत्री हुन् । उनले लगातार हिट चलचित्र दिन नसके पनि केही चलचित्र दर्शकको रोजाइमा परेका छन् ।

उनले हालै एक चलचित्र अभिनयका लागि १५ लाख रुपैयाँ लिएको विषयले चलचित्र क्षेत्रमा निकै चर्चा पायो । उनलाई सो पारिश्रमिक निर्माता पुनम गौतमले आफूले निर्माण गर्ने नयाँ चलचित्रका लागि दिएकी हुन् । सो चलचित्रको अहिलेसम्म शीर्षक राखिसकिएको छैन ।

‘ए मेरो हजुर २’ र ‘इन्टु मिन्टु लन्डनमा’ हिट भएपछि साम्राज्ञीको डिमान्ड बढेको हो । अभिनयभन्दा पनि सुन्दरताका कारण साम्राज्ञी युवा पुस्तामा लोकप्रिय छिन् ।
साम्राज्ञीको १५ लाख पारिश्रमिकको चर्चा सेलाउन नपाउँदै अर्की अभिनेत्री पूजा शर्माले पनि आफूले पनि त्यति नै पारिश्रमिक पाएको हल्ला चलाइन् ।

उनी आफैं निर्माता पनि हुन् । उनले निर्माण गरेको ‘म यस्तो गीत गाउँछु’ र ‘रामकहानी’ दुवैलाई दर्शकले मन पराए । उनी आफंै १५ लाख कमाउन नसक्ने अभिनेत्री होइनन् । किनभने रामकहानी चलचित्र बनाउँदा उनले करिब ८० लाख रुपैयाँ खर्च गरेकी थिइन् । ‘

धेरै पारिश्रमिक लिने प्रचारको होडमा नम्रता श्रेष्ठ पनि परेकी छन् । उनले प्रदर्शनमा आउन लागेको चलचित्र ‘प्रसाद’ मा १५ लाख रुपैयाँ लिएको चर्चा गर्न पछि परिनन् । चलचित्र चल्नुअघि नै नम्रता र विपीन कार्कीको हातमा ५० लाख भनेर प्रचार गरिसकिएको छ ।

यी तीन नायिकाको पारिश्रमिक चर्चाले अहिले चलचित्र क्षेत्रमा हिरोइन महँगिएको अनुमान गर्न सकिन्छ । तर उनीहरूले भनेझंै पारिश्रमिक पाए पाएन् ? त्यो एकिन गर्नसक्ने अवस्था छैन ।

किनभने यी तीनै अभिनेत्रीले अभिनय गरेका सबै चलचित्र हिट छैनन् । न त अभिनेत्रीका कारणले चलचित्र चल्छ भन्न सकिने अवस्था नै छ । साम्राज्ञी अहिलेकी डिमान्डकी हिरोइन हुन् । तर उनी अभिनित सबै चलचित्र सफल भने भएका छैनन् । ‘ड्रिम्स’ बाट रजतपट भित्रिएकी साम्राज्ञीका दुई चलचित्र तिमीसँग र कायरा फ्लप भए ।

पूजा शर्मा मिडियामा मात्र हिट हुन् । उनी प्रचार स्टन्ट गर्न माहिर मानिन्छिन् । अभिनेता प्रदीप खड्कासँग ‘प्रेमगीत’ हिट दिएपछि पूजा आफूलाई चल्तीको नायिका भन्न पछि पर्दिनन् ।

नायिका नम्रता श्रेष्ठको अवस्था पनि त्यस्तै छ । ‘मेरो एउटा साथी छ’  चलचित्रबाट दर्शकको नोटिसमा परेकी नम्रताले एक दर्जन बढी चलचित्रमा आफ्नो अभिनय क्षमता देखाइसकेकी छन् । जसमध्ये फ्लप चलचित्रको संख्या धेरै छ । पर्व, मेघा, नोभेम्बर रेन, मौन, सम्बन्ध, मिस यु, छड्केलगायतका चलचित्र उनका असफल भए ।

तर, सुन्दरताका कारण नम्रता सधैं चर्चामा छिन् । उनी अहिले ‘प्रसाद’ र ‘जायरा’ चलचित्रका कारण दर्शकमाझ लोकप्रिय छिन् । बेलाबेलामा विभिन्न काण्डमा फसे पनि नम्रता आफ्नो फिल्मी क्यारियरलाई चुपचाप अघि बढाउने नायिकामा पर्छिन् । नायिकाले धेरै पारिश्रमिक लिएको बजार हल्लापछि सो चलचित्रका नायकहरू तनावमा परेका छन् ।

नायकहरू पनि कम छैनन्
नायिकाको तुलनामा नायकहरूले धेरै पारिश्रमिक लिने गरेका छन् । अहिलेसम्म सार्वजनिक भएको तथ्यअनुसार अनमोल केसी महँगा नायक हुन् ।

उनले ‘ए मेरो हजुर ३’ का लागि ५० लाख रुपैयाँ पारिश्रमिक लिएका छन् । त्यो पारिश्रमिकमा चलचित्रको सेयर पनि जोडिएको छ । यसअघि उनले ‘कृ’ चलचित्रबाट २० लाख रुपैयाँ पारिश्रमिक लिएका थिए । अनमोल विज्ञापनबाट पनि धेरै कमाउने नायकमा पर्छन् ।

यस्तै, प्रदीप खड्का दोस्रा महँगा नायक हुन् । उनले चलचित्र ‘लिलीबिली’ का लागि २५ लाख रुपैयाँ लिएका थिए । त्यसबेला उनी धेरै पैसा लिने नायकमा परेका थिए । अहिले उनले ‘लभ स्टेसन’ का लागि पनि करिब ३० लाख रुपैयाँ पारिश्रमिक लिएको हल्ला चलाइएको छ ।

‘प्रेमगीत’, ‘प्रेमगीत २’, ‘लिलीबिली’ चलचित्र हिट भएपछि प्रदीपको मार्केट बढेको हो । चकलेटी अनुहारका कारण प्रदीपलाई लाखौं रुपैयाँ खर्च गर्न निर्माता निर्देशक पछि पर्दैनन् ।

अनमोल र प्रदीपपछि सलिनमान बानिया धेरै पारिश्रमिक लिने नायकमा पर्छन् । सलिनमान बानियाले ‘यात्रा ः ब्लग’ का लागि १० लाख रुपैयाँ पारिश्रमिक लिएको बजार हल्ला छ ।

उनको अहिलेसम्म ‘ए मेरो हजुर २’ मात्र चलचित्र दर्शकमाझ आएको छ । निर्माता केशव भट्टराईले निर्माण गरेको ‘यात्रा ः ब्लग’ सलिनमानको दोस्रो चलचित्र हो । कोरियन लुक्सका कारण सलिनमानको डिमान्ड बढ्दै गएको हो ।