देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

यसकारण कार्यकर्ता प्रशिक्षण आवश्यक छ

देशान्तर

अहिले दुई तिहाइको सरकार छ । नेपालको इतिहासमा यो अहिलेसम्मको सबैभन्दा बलियो सरकार हो । सरकार गठन भएको ६ महिनाको मूल्यांकन पनि भइसकेको छ । ६ महिनाको मूल्यांकनमा सरकार जसरी रमाएको छ त्यसैगरी जनताले बलियो सरकारको अनुभूति गर्न पाएका छैनन् । बलियो हुँदाहुँदै पनि सरकार आफ्नै हिसाबमा अल्मलिएको छ भने अहिलेसम्म प्रजातन्त्रका लागि लड्दै रक्षा गर्दै आएको नेपाली कांग्रेस प्रतिपक्षमा छ र ऊ पनि पार्टीका आन्तरिक विषयमै रुमलिएको छ । सत्तापक्षलाई प्रजातान्त्रिक रूपमा अगाडि बढाउन पे्ररित गर्ने र पार्टी संगठनलाई सुदृढ बनाउने दोहोरो दायित्वमा कांग्रेस छ । कांग्रेसले पार्टीलाई बलियो बनाउन कार्यकर्ताहरूलाई सबल बनाउन आवश्यक छ ।

अहिले नयाँ धेरै मतदाताहरू थपिएका छन् र उनीहरूलाई पार्टी र प्रजातान्त्रिक प्रणालीका विषयमा प्रशिक्षण दिन आवश्यक छ । यसका लागि हालसालै गठन भएको नेपाली कांग्रेसको नीति तथा प्रशिक्षण प्रतिष्ठानले देशभरि पार्टी कार्यकर्ताहरूलाई प्रशिक्षण दिने तयारी गरिरहेको छ । नेपाली कांग्रेसको महाधिवेशन सकिएपछि यो गठन हुनुपर्ने थियो । तर, भर्खरै उपसभापति नियुक्त भएकाले उपसभापतिले यसको गठन गर्ने प्रावधानअनुसार गठन पनि भएको छ । प्रतिष्ठान गठन भएपछि अब यसले काम सुरु गर्दैछ । प्रतिष्ठानले अब नेपाली कांग्रेसको लागि नीति र नियमहरू बनाउने काम पनि सुरु गरेको छ । खासगरी यसका दुईवटा काम महत्वपूर्ण छन् । एउटा नीतिनिर्माण गर्ने र अर्को नेपाली कांग्रेसको नीति के हुने, अबको परिस्थितिमा कसरी अगाडि बढ्ने भन्ने विषयहरू छन् ।

कांग्रेसले हिजो लिएका नीतिहरू अहिलेको बदलिँदो समयमा कति सान्दर्भिक छन् र यसलाई कसरी परिमार्जन गर्ने भन्ने एउटा पक्ष छ भने अर्को प्रशिक्षणका लागि यो अगाडि तयार भएका सामग्रीहरू परिवर्तन गर्न आवश्यक भएको छ । किनभने अहिले २०७० सालदेखि बनाएका सामग्रीहरू छन् । ती सामग्रीले अहिले काम दिने कि नदिने भन्ने प्रश्न पनि आउन सक्छन् । त्यसकारण यसलाई परिमार्जन गर्न आवश्यक ठानेर काम पनि सुरु गरिएको छ । अहिले देशको राजनीतिक अवस्थामा परिवर्तन आएको छ । परिवर्तित समयअनुसार नीति निर्माण गर्न आवश्यक छ । यसलाई संस्थागत बनाउन आवश्यक छ । अहिले कतिपय नीतिहरू हिजो पनि आएका छन् र यी नीतिहरूलाई समयसापेक्ष बनाउनुपर्छ । संघीय प्रणालीअनुसार हामी अहिले सात प्रदेशको खाकामा गएका छौं । स्थानीय तह र प्रदेशमा छुट्टाछुट्टै सरकार बनेका छन् । उनीहरूको काम, कर्तव्य र अधिकार पनि त्यहीअनुसार भएको छ ।

तर, नेपाली कांग्रेस यसमा पूर्ण रूपले विस्तार भएको छैन र यसका लागि पनि कार्यकर्ता प्रशिक्षण आवश्यक देखिएको छ । अब हामीले स्थानीय तहमा कांग्रेस कसरी प्रस्तुत हुने, प्रदेशमा र केन्द्रमा कसरी प्रस्तुत हुने भन्ने विषयहरूमा कार्यतालिका बनाएर जान आवश्यक भएको छ । यसका लागि नीतिगत निर्णयहरू गर्न आवश्यक छ । स्वास्थ्य, शिक्षा र अन्य विषयहरूमा पनि सोच्न आवश्यक भएको छ । विदेश नीति कस्तो हुने र कांग्रेसले कस्तो विदेश नीति लिने भन्ने विषयहरू तयार भएपछि प्रशिक्षणका काम अघि बढाउने तयारी भइरहेको छ । देश अहिले समावेशितामा गएको छ । संघीयतासहितको गणतन्त्रमा गएको छ । यसमा कांग्रेस कसरी अगाडि जाने भन्ने विषयमा पनि नीति बनाउन आवश्यक भइसकेको छ । अहिले सरकारमा बसेकाहरू साम्यवादमा विश्वास गर्ने दल छन् ।

उनीहरू आफूलाई वामपन्थी भन्दै साम्यवादको लक्ष्यमा अगाडि बढिरहेका छन् । वामपन्थी त हामी पनि हौ तर, नेपाल कम्युनिस्ट पार्टी भनेको साम्यवादी शक्ति हो । यसलाई नजिकबाट कांग्रेसले नियाल्ने समय आइसकेको छ । कांग्रेसभित्र आमूल परिवर्तनको आवश्यकता छ । अब कांग्रेसले कार्यकर्ताभन्दा पनि साथी र सदस्य बढाउन आवश्यक छ । यसकारण मैले योभन्दा अगाडि पनि भन्दै आएको छु कि कांग्रेसमा अब कार्यकर्ता भन्ने शब्द हटाउन पर्छ । कार्यकर्ता भन्ने शब्द हटाएर साथीहरू वा सदस्यहरू भन्ने चलन बसाउनुपर्छ । र, म प्रतिष्ठानमा आएपछि नेपाली कांग्रेसबाट कार्यकर्ता भन्ने शब्द हटाउन खोजेको छु । अब नेपाली कांग्रेसका साथीहरू र सदस्यहरू भन्ने भन्ने प्रस्ताव मैले योभन्दा अगाडि पनि ल्याएको हो । यसलाई अगाडि बढाउनु पर्छ । अर्को कांग्रेसले मनन् गर्नैपर्ने कुरा के हो भने अहिले ७० प्रतिशतभन्दा बढी साम्यवादी दलहरूको पकड रहेको छ । यो शक्तिसँग नेपाली कांग्रेस कसरी लड्ने ? कसरी अगाडि बढ्ने ? आम कार्यकर्ताहरूलाई कसरी अगाडि लाने भन्ने विषयहरू मिलाउन आवश्यक देखिएको छ ।

प्रजातन्त्र भनेको व्यावहारिक आचरण हो । यसलाई विकास गर्ने सोचमा हामी लागेका छौं । हामीले केन्द्रमा यसलाई व्यवस्थापन गर्नेछौं । जिल्ला र स्थानीय तहका विषयमा प्रस्ट पार्न आवश्यक छ । अहिले नेपाली कांग्रेसको विधानमा पनि परिवर्तन गर्न आवश्यक छ । हामी वैचारिक र व्यावहारीक रूपमा अगाडि बढ्नैपर्छ अर्को विकल्प छैन । अहिले सबै जिल्लाका साथीहरूलाई त्यहाँको विवरण मागेका छौं । कार्यक्रम आरम्भ गर्नुमात्र ठूलो कुरा होइन । नेपाली कांग्रेसमा अहिले केही जटिलताहरू रहेका छन् । वैचारिक भिन्नता छ । नेतृत्वमा मिलाप छैन । यो गल्ती कुरा हो । यो कांग्रेसमा मात्र हैन नेपालका अधिकांश पार्टीहरूमा समस्या छ । महासमितिको बैठक भदौ १५ भित्र भनिएको थियो त्यो भएको छैन । कांग्रेस प्रदेश र स्थानीय तहमा कसरी जाने भन्ने कुराको निर्णय केन्द्रीय कमिटीले तत्कालै गर्न सक्नुपर्ने थियो तर भएको छैन । अहिले विधान नै नभए पनि कांग्रेस केन्द्रीय समितिको बैठकले तदर्थ समिति बनाएर पनि काम गर्न सकिन्छ । किनभने केन्द्रीय समितिको निर्णय भनेको पनि विधान नै हो । एक वाक्य लेख्दा यो विषय सकिन्छ । तर, कांग्रेसमा व्यक्तिगत लाभ र हानीको विषय झांगिँदै गएको छ । व्यक्तिगत लाभ, हानी र समूहका विषयलाई तल्लो तहसम्म पुर्याइएको छ । यसलाई कांग्रेसले अन्त्य गर्नुपर्छ । आत्मकेन्दित मूल्यांकन गर्न आवश्यक छ ।
(नेपाली कांग्रेसको केन्द्रीय नीति तथा प्रशिक्षण निर्देशक दाहालसँगको वार्तामा आधारित)