देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

 पूरा हुँदै वाइड बडीको सपना नेपाल वायुसेवा निगमको

देशान्तर

काठमाडौं । कुशल व्यवस्थापक पाउन सक्यो कुनै पनि धराशायी संस्था माथि आउन धेरै समय लाग्दैन भन्ने उदाहरण बनेको छ नेपाल वायुसेवा निगम । नेपालको एकमात्र राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम निकै लामो समयदेखि धराशायी अवस्थामा चल्दै आएको थियो । तर, जब यसको व्यवस्थापन सुगतरत्न कंसाकारले सम्हाले, दुई वर्षकै अवधिमा यो संस्थामा लयमा फर्किएको छ । कंसाकार पछिल्लोपटक महाप्रबन्धक बनेर निगममा फर्किएपछि उनको एकसूत्रीय जोड रहँदै आएको छ– नयाँ जहाज खरिद । नभन्दै उनी आएपछि निगमले दुईवटा न्यारोबडी जहाज खरिद गरिसकेको छ । उक्त जहाजका कारण निगमको विदेशी गन्तव्य फराकिलो भएको छ । यसै मेसोमा शुक्रबार कंसाकारले एकैसाथ दुईवडा वाइडबडी जहाज खरिद गर्ने सम्झौता गरेर निगमकै इतिहासमा सबैभन्दा महत्वपूर्ण निर्णय गरेका छन् । वाइडबडी जहाज खरिद गर्ने निगमको निकै लामो समयदेखिको सपना थियो । यो सम्झौतापछि उक्त सपनालाई कंसाकारले साकार रूप दिने निश्चित भएको छ ।

नेपाल वायुसेवा निगमले शुक्रबार दुईवटा ए ३३०–२०० वाइडवडी एयरबस खरिद गर्नेसम्बन्धी ऐतिहासिक सम्झौता गरेपछिमा हस्ताक्षर सम्पन्न गर्‍यो । सम्झौतामा निगमका तर्फबाट महाप्रबन्धक सुगतरत्त कंसाकार र विक्रेता कम्पनी एएआरका तर्फबाट दीपक शर्माले हस्ताक्षर गरेका छन् । निगमले दुई वाइड बडी जहाज २०९.६ मिलियन अमेरिकी डलर २०१६ को आधार मूल्यमा खरिद गर्दैछ । सम्झौतालगत्तै निगमले पहिलो किस्ताबापत करिब ३५ प्रतिशत रकम पठाउने सहमति भएको छ । अमेरिकी कम्पनीले १० कम्पनीलाई पछि पार्दै निगमले गरेको ग्लोबल टेन्डर जितेको थियो । निगमले खरिद गर्ने जहाजमा २५० देखि २८० सम्म सिट हुनेछ ।

निगम र एएआरबीचको सम्झौताअनुसार निगमलाई दुवै जहाज सन् २०१८ को दोस्रो त्रैमासिकमा हस्तान्तरण गरिनेछ । दुई जहाज थपिएपछि निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि पाँचवटा जहाज हुनेछन् । हाल एक बोइङ ७५७–२०० र दुई एयरबस ३२०–२०० सिरिजका न्यारो बडी जहाजमार्फत ८ गन्तव्यमा उडान भरिरहेको छ । नयाँ विमानबाट निगमले दक्षिण कोरिया, जापान, अस्ट्रेलिया, साउदी अरेबियाजस्ता गन्तव्यमा उडान गर्ने योजना बनाएको छ । यसका लागि निगमले उडान गन्तव्यहरू तय गर्ने कार्यसमेत सुरु गरिसकेको छ ।
निगमले जहाज खरिदका लागि बैना रकम १ मिलियन अमेरिकी डलर माघ दोस्रो साता नै पठाइसकेको छ । हस्ताक्षर समारोहमा बोल्दै निगमका महाप्रबन्धक कंसाकारले नेपाललाई महँगो गन्तव्य मानिँदै आएकोमा निगमले वाइडवडी विमान सेवामा लगाएपछि अपेक्षाकृत भाडा सस्तो हुनुका साथै नेपाल सहज गन्तव्य हुने बताए । उनले नेपाल सरकारले पर्यटन प्रवद्र्धनमा विशेष अभिरुचि राख्दै निगमलाई विमान किन्न ग्यारेन्टी बसेकोमा आभार व्यक्त गरे । एएआरका प्रतिनिधि दीपक शर्माले नेपालसँग यस प्रकारको सम्झौता गर्न पाएकोमा आफूलाई गौरवको अनुभूति भएको बताए ।

पर्यटक भित्र्याउने चाहना
नेपाल वायुसेवा निगमका महाप्रबन्धक कंसाकारले मुलुकमा प्रशस्त पर्यटक भित्राउन सबैभन्दा पहिला राष्ट्रिय ध्वजावाहक बलियो बनाउनुपर्ने बताउँछन् । अहिले विदेशी एयरलाइन्सले नेपालीमात्र बोक्ने गरेको उनको आरोप छ । ‘पाँच वर्षको अवधिमा विदेश जाने नेपालीको संख्या दोब्बर भएछ, तर नेपाल आउने विदेशीको संख्या दोब्बर हुन १३ वर्ष लागेछ’ कंसाकारले भने– ‘विदेशी एयरलाइन्सले नेपालीमात्र बोकेछन्, पर्यटक भित्र्याउन निगम नै बलियो बन्नुपर्छ ।’ राष्ट्रिय ध्वजावाहक जहाजको कमी हुँदा विदेशी एयरलाइन्सले चर्को भाडा असुल्दै आएका छन् । अहिले २४ विदेशी एयरलाइन्सले नेपाल उडान भरिरहेका छन् । नेपालमा पर्यटक कम आउनुको कारण दोब्बर हवाईभाडा रहेको औंल्याउँदै उनले ठूला जहाज थपेर निगमले बजारमा हस्तक्षेप बढाउनुपर्ने उनको कथन छ ।

दुईवटा एयरबस ल्याउनु अगाडि २०१४ सम्म निगमको व्यापार हिस्सा औसत ६.७ प्रतिशत रहेको थियो । दुईवटा वाइड बडी ल्याउन सकेमा निगमको व्यापार हिस्सा १७ प्रतिशत पुग्ने कंसाकारले बताउँछन् । देशको हितका लागि पनि निगमले ठूला जहाज किन्नैपर्ने भएकोले जहाज खरिदको सम्झौता गरिएको उनको भनाइ छ । वाइबडी जहाज ल्याएपछि बेलायत, जापान, चीनका टाढाका सहर, सिंगापुर हुँदै अस्ट्रेलिया उड्ने योजना बनाएको छ ।

‘सन् २००० सम्म नेपाल वायुसेवा निगमले ३० प्रतिशत पर्यटक भित्र्याउँदै आएको थियो । तर, सन् २०१३ मा आउँदा २.३ प्रतिशत पर्यटकमात्र ल्याएको दयनीय तथ्यांक छ । योभन्दा लाजमर्दो के हुन्छ ?’ कंसाकारले भने– ‘अब निगम प्रशस्त पर्यटक भित्र्याउने गरी प्रस्तुत हुनुपर्छ ।’
मलेसिया, सिंगापुर र थाइल्यान्डले वार्षिक करोड/करोड पर्यटक भित्र्याउनुको मुख्य कारण त्यहाँको ध्वजावाहक बलियो भएको बताउँदै कंसाकारले भने– ‘अब हामीले जहाज किन्ने बेलामा निगमको व्यवस्थापनमा मात्र समस्या औंल्याएर लफडा गर्नु हुँदैन ।’ एउटा यात्रुले जापानबाट नेपाल आउँदा १६ सय अमेरिकी डलरसम्म खर्च गर्नुपर्ने बाध्यता रहेको बताउँदै कंसाकारले यो रकममा जापानबाट अमेरिका पुगी घुमेर फर्किन सकिने ठोकुवा गरे । नेपालमा बढी पर्यटक भित्रिने मुलुकमा सस्तो भाडामा उडान गर्नुपर्ने उनको भनाइ छ ।

थप न्यारोबडी खरिद गरिने

एग्रेसिभ बजार विस्तारको रणनीति लिएको राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमले थप चारवटा न्यारोबडी जहाज खरिदका लागि गृहकार्य थालेको छ । दुईवटा वाइडबडी जहाज खरिद सम्झौता गरेको निगमले फ्रान्सेली कम्पनी एयरबससँग जहाज खरिदका लागि गृहकार्य थालेको हो । एयरबससँग चारवटा जहाज खरिदका लागि गृहकार्य थालिसकेको निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले बताए । नयाँ जहाज खरिद प्रक्रियाका लागि कागजपत्र, जहाजको डिजाइन तथा सिट संख्यासमेत तय भइसकेको कंसाकारले बताए ।

उनका अनुसार सन् २०१९ मा दुईवटा र २०२० मा थप दुईवटा जहाज ल्याउनेगरी कागजी प्रक्रिया अगाडि बढिसकेको छ । एयरबससँग ए ३१९, ३२० र ३२१ मोडेलका जहाज निगमले ल्याउनेछ । यो जहाजमा एक सय २० देखि एक सय ८० वटा सिट रहने कंसाकारले बताए । न्यारोबडी जहाजमा आठवटा बिजनेस क्लास र बाँकी इकोनोमी क्लासका सिटहरू रहने उनले बताए ।

‘निगमको वर्षमा दुईवटा जहाज भित्र्याउने लक्ष्य अनुरूप सबै होमवर्क भइरहेको छ’ कंसाकारले भने ‘नयाँ जहाजको मूल्यका लागि पहिलो लटका जहाजको खरिद सम्झौता भएपछि नेगोसिएसन हुनेछ र त्यसबाट नेपालले अन्तर्राष्ट्रिय उडानमा फड्को मारेर निगम नम्बर वान बन्नेछ ।’ थप चारवटा विमान आएपछि एसियाली गन्तव्यमा केन्द्रित गरेर उडान गर्ने योजना निगमको छ । ती जहाजबाट चीनका मुख्य सहरहरू, भारतका मुख्य सहरहरू, सार्क देशका पर्यटकीय केन्द्र तथा एसियाका प्रमुख गन्तव्यहरूमा सेवा विस्तार गर्ने कंसाकारले बताए ।
कंसाकारले नेपालको अन्तर्राष्ट्रिय उडानमा विदेशी कम्पनीको मनोमानी भाडा रहेको बताउँदै भाडा घटाउन निगमले महत्वपूर्ण भूमिका निभाउने दाबी गरे ।

न्यारोबडी जहाज खरिदका लागि एयरबससँग सम्झौता हुने उनले बताए । ‘हामीले छिट्टो जहाज ल्याउन कम्पनीमार्फत खरिद गर्न खोजिएको हो । तर बिचौलियामार्फत खरिद गरेको भन्दै जहाज नै ल्याउन नदिने गरी चलखेल भइरहेको छ’, उनले भने, न्यारोबडी जहाज सोझै एयरबससँग हुनेछ ।’