देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेसीले गर्व गर्नुपर्ने केही कुरा– १

देशान्तर

चन्द्र महर्जन 
नेपाली कांग्रेसमाथि प्रश्न उठाउँदै केही पहिले एउटा टिप्पणी आएको थियो – यसले आफ्नो मूल सिद्धान्त नै छाडयो, बीपीको समाजवाद छाडयो, यसको स्थापनाकालमा प्रस्ताव भएको संवैधानिक राजतन्त्र छाडयो र हुँदै जाँदा यतिखेर कांग्रेस के हो भन्ने पहिचान गर्न नै गाह्रो हुने अवस्थामा पुग्यो । सबैभन्दा लामो समयसम्म सत्तामा रहेको कांग्रेसले त्यो काल खण्डमा के गर्‍यो भन्ने कुनै अभिलेख पनि रहेनन् । वामपन्थी थोरै समय सत्तामा रहे पनि तिनले धेरै ठूला परिवर्तन ल्याए ।

कांग्रेसले आफ्नो पहिचान गुुमाएको भन्ने आरोपका साथ र वामपन्थीले थोरै समयमा धेरै काम गरेका भन्ने शब्दहरूले यी कुरा कताबाट आए भन्ने अनुमान गर्न ठाउँ दिएको छ । जहाँबाट यी कुरा आएका भए पनि कुरा चाहिँ ठीक उल्टा छन् । उहाँहरू कसले  के भन्नु हुन्छ त्यो आफ्नो ठाउँमा होला तर वास्तविकतालाई त छोप्न सकिँदैन नै । खासगरी कांग्रेसका प्रस्तावनाको हिजोआजकै अवस्था हेरियो  भने त्यो चित्र आफैं प्रकट हुन्छ, कसैले भनिरहनै पर्दैन । 

एक : नेपाली कांग्रेस त्यस्तो राजनीतिक दल हो जससँग तुलना गर्न हिजोआजसम्म कायम रहेका सय सवा सय राजनीतिक दलमध्ये एउटा पनि पाइँदैन । अहिले विद्यमान रहेका ठूलासाना जस्ता हुन् उनका स्थापना, स्थापनाकालको सिद्धान्त र अहिले उहाँहरू हिँडेको बाटो कुन हो भन्ने हेरियो भने धेरै कुरा आफैं प्रष्ट हुन्छन् । नेपालमा तीनधारको राजनीति थियो पहिले । एकदलीय, निर्दलीय र बहुदलीय । सेनाको बलमा शासन गर्ने, बन्दुकको नालबाट सत्ता परिवर्तन गर्ने र जनताको सर्वोच्चतालाई शासनको मूल आधार मान्ने बीच यतिबेला देशमा कुन विचारले शासन गरिरहेको छ भन्ने कुरा कसैले बताइरहनु पर्दैन । यसको अर्थ हो कांग्रेस नै यो देशको राजनीतिको मियो हो । 

दुई : त्यसै पनि यो सबैभन्दा पहिले स्थापित दल हो जसको स्थापनाकालदेखि अहिलेसम्म आफ्नो नीतिमा कतै यताउता गरेको छैन । यसको स्थापना हुनका लागि कारण थियो– प्रजातन्त्र । भनिएला संवैधानिक राजतन्त्र पनि त यसको स्थापनाकालको मान्यता हो त्यसमा त परिवर्तन भयो । यो भनेको राजसंस्थाले आफूलाई संवैधानिक राजतन्त्रमा राख्न नसकेको अवस्था  हो । ऊ आफंै यो मान्यतामा रहँदैन भने त्यसमा तलमाथि हुन्छ नै । निश्चय नै संवैधानिक राजतन्त्र नेपाली कांग्रेसको स्थापनाकालको मान्यता हो नै । तर यो आफैं राजा हुने होइन । जो राजा छन् तिनले नै यो मान्यतालाई खण्डित गरेपछि स्वाभाविक छ त्यो ठाउँमा नागरिक नै बस्ने भए । अहिले भएको त्यही हो । गणतन्त्र ल्याउन एउटा वाम पाको दबाब आयो होला तर तिनका शीर्ष नेताले नै पटकपटक भन्दै आएका छन्– कांग्रेसले २०६२ मा आफ्नो महाधिवेशनमार्फत गणतन्त्रतर्फ जाने निर्णय नगरेको थियो भने यो सम्भव हुने थिएन  । यसो भन्ने नेताहरू जीवितै हुनुहुन्छ । यो अवस्था आउनुमा राजा आफैं दोषी हुन् भन्ने जगजाहेर नै । संवैधानिक राजतन्त्रको ठाउँबाट माथि उठेर प्रत्यक्ष शासन गर्न नखोजेको अवस्था थियो भने स्थिति अर्कै हुने थियो होला । जब नागरिकको सर्वोच्चतामाथि आक्रमण भयो त्यसबेला कांग्रेसले आफ्नो स्थापनाकालको सिद्धान्त भनेर बसेन । जो गर्दा नागरिकको सर्वोच्चता कायम हुन्छ कांग्रेसले गरेको त्यही हो । कुन संस्था रहने, नरहने भन्ने गौण कुरा हो । समय, परिस्थति र त्यही संस्थाको भूमिकामा भर पर्छ । अपरिवर्तनीय भनेको राज्यमा नागरिकको सर्वोच्चता हो । यो काम प्रजातन्त्र– लोकतन्त्रले मात्र सम्भव गराउँछ । यसमा कांग्रेस कहिल्यै यताउता भएन । 

तीन : यो दल स्थापना हुँदा यसको उद्देश्य  बहुलवादमा आधारित बहुदलीय व्यवस्था तथा संसदीय शासन प्रणालीको माध्यमबाट नेपालमा न्यायपूर्ण, गतिशील र शान्तिपूर्ण समाजको निर्माण गरी सामाजिक, राजनैतिक तथा आर्थिक विकास गर्ने भनिएको थियो । २०७३ साल नेपाली कांग्रेसको स्थापनाको ७० औं वर्ष हो ।

चार : यतिबेला नै पनि  यति लामो इतिहास भएको कुनै दल छ र यी सवै कालखण्डमा नागरिकको सर्वोच्चताका लागि निरन्तर लडिरहेको कुनै दल छ भने त्यो नेपाली कांग्रेसमात्रै हो । त्यही सर्वोच्चताका लागि यो दलले २००७ को जनक्रान्ति जो फ्रान्सको राज्यक्रान्ति सरहको भनी इतिहासमा लेखिएको छ, त्यसको  आह्वान र नेतृत्व गर्‍यो । २००७ को सफल जनक्रान्ति त यो एक्लैले नै गरेको हो । त्यसपछि २०४६ र ०६३ का आन्दोलनमा अरू सहभागी भए तर नेतृत्वचाहिँ यसले नै गरेर भएको हो । २०६२/६३ मा दस वर्षदेखि हतियार बोकेको दल पनि कांग्रेसको नेतृत्वमा संसद् पुनस्र्थापनाको एकसूत्रीय प्रस्तावमा चलिरहेको शान्तिपूर्ण आन्दोलनमा आफ्ना हतियार बिसाएर सरिक भएकै हो । यो आन्दोलनमा हतियार छाडेर आएपछिमात्र कांग्रेसले त्यो पक्षलाई स्वीकार गरेको हो भन्ने बिर्सिइयो भने कांग्रेस माथि अन्याय हुन्छ र त्यसरी पुनस्र्थापित संसद्मा मनोनीत भएर त्यो पक्ष यसको एउटा अंगमा परिणत भएको वस्तुतथ्य पनि बिर्सन हुँदैन । 

पाँच : अरू दलहरू खासगरी वाम पृष्ठभूमि रहेका दलहरूको स्थापना व्यक्ति हत्याबाट भएको पाइन्छ । जस्तो अहिलेको एमाले २०२८ मा झापा हत्या काण्डबाट उदाएको हो भने माओवादीका बारेमा त उल्लेख गरिरहनै पर्दैन । वामपन्थीहरू भन्छन् नेपाली कांग्रेसले पनि त सशस्त्र संघर्ष गरेको थियो । तर यहाँ आधारभूत फरक छ । नेपाली कांग्रेसले गरेको २००७ को जनक्रान्तिमा अपवादबाहेक एकजनासम्म निहत्था सर्वसाधारणको ज्यान गएन । त्यसबेलाको शासन कति कठोर थियो भन्ने जगजाहेर छ । वामपक्षले त ताकीताकी सर्वसाधारण नै मारेका उदाहरण छन् । हामीले फलानालाई मार्न निर्देशन दिएका हौं त्यसकारण त्यो हत्या गर्नेलाई कारबाही हुनु हँुदैन भनी अस्तिसम्म भनिनै रहिएको अवस्थाले यस्तो व्यक्ति हत्या नीतिगत रूपमा नै भएको बुझाउँछ । एउटा वामले सामन्त भनेर नाम दियो र मारिदियो भने अर्को वामले सुराकी भनिदियो र मारिदियो । मारिनेले म त्यस्तो होइन एक वचन बोल्न समेत पाएनन् । कुनै पनि कांग्रेसीले वामपक्षले गरेको र कांग्रेसले गरेको सशस्त्र संघर्षको यो आधारभूत स्वरूपलाई  देखाइएन भने इतिहास र वस्तु तथ्यमा भ्रम पर्छ नै । 

छ : कांग्रेसको संघर्ष सफल हुँदा राणा, राजादेखि वामधारले पनि अवसर पाए तर उनका संघर्ष वा भनौं सिद्धान्त सफल भएको भए के हुन्थ्यो त्यो बिर्सन हुँदैन । राजाले दरबारबाट र माओवादीले जंगलबाट दलहरूलाई प्रतिबन्ध लगाउन खोजेका धेरै भएको छैन र अर्को वाम राजाको शासन ठीक हो भन्दै त्यो शासनलाई सघाउन गएको पनि धेरै भएको छैन । यो यस्तो बेला थियो जुन कांग्रेस जनताको सार्वभौमसत्ता फिर्ता गर्न सडकमा थियो र गिरिजाप्रसादजस्ता वृद्ध व्यक्तिका टाउका फुटिरहेका थिए । यो पनि बिर्सन नहुने मै पर्छ । 
कांग्रेसको एजेन्डामा मुलुक 

सात : यतिखेर नेपालमा नेपाली कांग्रेसले ७० वर्षअघि प्रस्ताव गरेको  त्यही बहुलवादमा आधारित बहुदलीय व्यवस्था, संसदीय शासन प्रणाली र त्यसबाट  न्यायपूर्ण, गतिशील र शान्तिपूर्ण समाजअन्तर्गत सामाजिक, राजनैतिक तथा आर्थिक विकास गर्ने पद्धति र नीति सबैका लागि अकाटय र सर्वमान्य तहमा छ । अहिले कसैले पनि यी कुरालाई अलिकति पनि खण्डन गर्दैनन् । खण्डन गरे भने उनको अस्तित्व नै रहँदैन । अनुमान गरौं यतिबेला कोही एक दुईजना पनि आफू नागरिकको सार्वभौमसत्ताको पक्षमा छैन भनी कतै प्रकट हुन सक्छन् ? दलको त कुरै छाडौं व्यक्ति पनि यसरी प्रकट हुने अवस्था छैन । सार्वजनिक स्थलमा त कुरै नगरौं आफ्नो घरकोठामा पनि यस्तो कुरा गरिँदैन । यस्तो वातावरण नेपाली कांग्रेसको त्यही ७० वर्षअघिको प्रस्तावनाबाट बनेको हो । 

आठ : कल्पना गरौं कांग्रेस इतर धारको, उसको स्थापनाकालको सिद्धान्त लागू भएको भए यतिबेला देशमा कस्तो राजनीतिक पद्धति हुने थियो होला । पक्का छ त्यो कि निर्दलीय हुने थियो कि एकदलीय । उनका स्थापनाकालीन प्रस्ताव त यही नै हो । कतिसम्म भने एउटा वामपन्थी दलले त संविधानसभा निर्वाचन सन्दर्भको घोषणापत्रमा आफूबाहेकका दलहरूलाई प्रतिबन्ध लगाउने प्रस्ताव नै ल्यायो । त्यो लिखित रूपमा रहेको हुँदा अहिले पनि र जो कोहीले पनि हेर्न सकिन्छ । त्यस्तो प्रतिबन्धका लागि आरोप पनि आफैंले लगाउने जो अमूर्त छ अर्थात् यो यो अवस्थामा प्रतिबन्ध लाग्छ नभनीकन साम्राज्यवादी र विस्तारवादी भनिदिए पुग्नेगरी । यो कुरा यस्तो बेला आयो जो आफैं संसद्को एउटा अंग छ र संसद् भनेको बहुलवादी व्यवस्था हो भन्ने उसैले मानेको छ, त्यस्तो बेला यस्ता कुरा आउनु आपत्तिको विषय हो । यो भनेको कुन कालखण्डमा कसले के गर्छ भन्ने  अनुमान गर्न ठाउँ नै नरहने अवस्था हो । अरू दललाई प्रतिबन्ध लगाउनु भनेको वा त्यस्तो सोच राख्नु भनेको एकदलीय मान्यताको अवशेष नै भन्नु पर्छ । यो दल स्थापनाकालको मात्र नभएर कार्यान्वयन कालको कुरा हो । 

नौ : कांग्रेसलाई सबैभन्दा ठूलो र भरपर्दो लोकतन्त्रवादी दल किन भनियो होला भन्ने खुल्ने ठाउँ पनि यहीनेर हो । अरू दलको स्थापनाकालको सिद्धान्त कुनैबेला लागू भयो भने अरू जे होस लोकतन्त्र रहँदैन । कांग्रेसको स्थापनाकालको सिद्धान्त कायम हुँदा चाहिँ लोकतन्त्र यसरी एउटा जीवनपद्धति बन्दो रहेछ । यसको स्थापनाकालदेखि नै कसैले पनि लोकतन्त्रका सन्दर्भमा कांग्रेसमाथि कहिल्यै र कसैले पनि शंका गर्न परेन । त्यसकारण कांग्रेस र लोकतन्त्र पर्याय मानिएका हुनुपर्छ । यसले कहिल्यै निर्दलीय वा एकदलीय व्यवस्थासँग सम्झौता गरेन । जस्तो २०१७ सालमा राजाको कदमको समर्थन र २०४६ सालको परिवर्तनपछि त्यसलाई कमजोर पार्न कथित सशस्त्र विद्रोह । यी दुवै कालखण्डका कामले लोकतन्त्र पुनस्थापित हुन समय लगायो र स्थापित भइसकेपछि त्यसलाई कमजोर पार्ने काम भयो ।  

१० : हो, कांग्रेसले २००७ आफ्नै नेतृत्वमा जनक्रान्ति गर्‍यो र त्यसबाट जो पराजित भए तिनकै नेतृत्व मान्यो भन्ने आरोप छ । त्यसपछि २०४६ को परिवर्तन पछि ३० वर्षसम्म लडेर जुन पार्टीलाई पराजित गरेको थियो पछि फेरि उनैको नेतृत्व मान्न तयार भयो भन्ने पनि छ । तर यी कामले कांग्रेसको यो कामले लोकतन्त्र माथि कतै आँच पुर्‍याएन । यस्तो नेतृत्व त्यही अवस्थामा मानिएको होइन जसका विरुद्ध लडिएको थियो । उनीहरू एउटा लोकतान्त्रिक फ्रेमवर्कमा आएपछि मात्र नेतृत्व मानिएको हो । यहाँनेर पनि कांग्रेस र अरू दलमा फरक देखिन्छ । अरू दलमा आफूबाहेक अरूको अस्तित्व हुँदैन थियो । कांग्रेसको सिद्धान्तमा अरू दलको पनि अस्तित्व हुन्छ । २०६२–६३ को आन्दोलन पछिल्लो उदाहरण छ । त्यसताका पनि अरू दललाई निषेध गर्नेहरू यो परिवर्तन पछि संसद्को तेस्रो चौथो शक्ति भएका छन् । उनीहरू यस्तो शक्ति बन्दा आफ्नो दलको स्थापनाकालको सिद्धान्तबाट होइन नेपाली कांग्रेसको मूल्य र मान्यताका कारण भएका हुन् । 

एघार : कांग्रेस र अरू दलका बीचको यो अन्तर कुनै अक्षरमा लेखिएर देखिएको होइन । यी पंक्ति संयोजन भएको बेला देशमा जोकोहीले पनि एउटा स्वरमा कुनै कुरा भनिरहेका छन भने त्यो हो आवधिक निर्वाचन होस । निर्वाचनले मात्रै जनताको सार्वभौमसत्ता कायम गराउँछ भन्ने यस्तो स्वरको मूल आसय हो जसका लागि ७० वर्षअघि स्थापना भएर एक सय चार वर्षको राणा र ३० वर्षको राजाको शासन तथा १० वर्षको सशस्त्र द्वन्द्वबाट देशलाई मुक्ति दिलाएर बहुलवादमा आधारित पद्धतिमा छिराएर आवधिक निर्वाचन सबैको साझा गन्तव्य बनाएको छ । 

बाह्र : यी विवरणहरूले नै बताउँछन् समग्र देश नेपाली कांग्रेसको राजनीतिक एजेन्डामा लामबद्ध भएको छ । निर्दलवादीहरूले निर्दल  र एकदलवादीहरूले एक दल छाडे । पहिले कांग्रेसले संवैधानिक राजतन्त्र भन्थ्यो । त्यसबेला निर्दलवादीहरू राजाको प्रत्यक्ष शासन भनिरहेका थिए । अहिले उनीहरूका लिखित दस्तावेजमै संवैधानिक राजतन्त्र भन्ने छ तर यो ढिलो भइसकेको अवस्था हो । पछिल्लो समय उनीहरू नै छिटो आवधिक निर्वाचन गर भनिरहेका छन् । शासन निर्वाचनबाट आउँदैन भनेर १० वर्षसम्म संसदीय पद्धतिविरुद्ध हतियार उठाए, १७ हजारको त हत्या नै गराए, उनीहरू पनि अहिले त्यसको सम्झनासमेत गर्न चाहँदैनन् । बरु संसदीय पद्धतिअन्तर्गत दुईदुईपटक सरकारको नेतृत्व गरिसकेका छन् । 
(लेखक सांसद् हुन्)

 

]]>