देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

राष्ट्रपति मुखर्जीको भ्रमण तयारी गर्न आज भारतीय टोली आउँदै

देशान्तर

काठमाडौं । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको आसन्न नेपाल भ्रमणको अन्तिम तयारीका लागि भारतीय कूटनीतिज्ञ तथा सुरक्षा अधिकारीको ‘एडभान्स’ टोली बिहीबार काठमाडौं आउने भएको छ । भारतीय विदेश मन्त्रालयका शिष्टाचार महापालको नेतृत्वमा आउने टोलीले नेपाल सरकारले गरिरहेको भ्रमण तयारी तथा स्थलगत अध्ययन गरेर प्रतिवेदन भारतीय विदेश मन्त्रालय पठाएपछि मात्र राष्ट्रपति मुखर्जीको भ्रमण कार्यक्रम सार्वजनिक हुने आजको कान्तिपुर दैनिकले समाचार प्रकाशित गरेको छ । 

मुखर्जी भाइटीकाको भोलिपल्ट अर्थात् कात्तिक १७ मा तीनदिने राजकीय भ्रमणमा नेपाल आउने तय भए पनि औपचारिक घोषणा भने भएको छैन । उनी नेपाल भ्रमण गर्ने दोस्रो भारतीय राष्ट्रपति हुनेछन् । यसअघि सन् १९९८ मा तत्कालीन भारतीय राष्ट्रपति केआर नारायणनले नेपाल भ्रमण गरेका थिए । 

सुरक्षा, राजनीतिक दलको सहमतिलगायत सबै तवरले ढुक्क नभएसम्म यो स्तरको भ्रमण हुँदैन । आन्तरिक द्वन्द्व र राजनीतिक बेमेलका कारण लामो समयदेखि भारतबाट नेपालमा उच्चस्तरको भ्रमण हुन सकेको थिएन । दुई वर्षअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी १७ वर्षको अन्तरालपछि नेपाल भ्रमण गरेका थिए । अर्को छिमेकी चीनबाट पनि यो स्तरको भ्रमण हुन सकेको थिएन । सन् २०१२ मा चिनियाँ प्रधानमन्त्री वेन जियाबाओको भ्रमणले राहत मिले पनि तत्कालीन कार्यकारी प्रमुख अर्थात् राष्ट्रपति हु जिन्ताओले आफ्नो १० वर्षे कार्यकालमा नेपाल भ्रमण गरेनन् । त्यसअघिका राष्ट्रपतिले नेपालको भ्रमण गर्दै आएका थिए । 

यसै साता चिनियाँ राष्ट्रपति सी जिनपिङको भ्रमण नेपाल हुने भनिए पनि विभिन्न स्तरमा आउने यस्ता टिमले गरेको ब्रिफिङ र नेपालमा तयारीको अभावले भ्रमण एकाएक रोकिएको थियो । सीले गोवा जाने क्रममा कम्बोडिया र बंगलादेश भ्रमण गरे तर नेपाल आएनन् । यद्यपि उनले प्रधानमन्त्री पुष्पकमल दाहालसँंग गोवामा दुईपक्षीय भेटघाट गरे । उनले त्यहाँ एक्लाएक्लै र त्रिपक्षीय भेट (भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगै) पनि गरे । त्रिपक्षीय भेटलाई सबै पक्षबाट सकारात्मक रूपमा लिइएको छ । भारतीय राजदूत राणजित रायले समेत एक अनौपचारिक छलफलमा गोवा सम्मेलन सफल रहेको र सदस्य मुलुकहरूबीच यसले निकै ठूलो सहकार्य गर्ने तथा एक अर्कामा परिचित हुने अवसर मिलेको बताए । 

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार मुखर्जीले लुम्बिनी भ्रमण गर्ने या नगर्ने भन्ने विषयमा ‘एडभान्स’ टोलीले गर्ने अध्ययनमा निर्भर हुनेछ । मुखर्जीलाई जनकपुरमा नागरिक अभिनन्दन गर्ने, पोखरा भ्रमण गराउने निश्चितजस्तै छ । उनी धुलिखेलसमेत जाने कार्यक्रम तय भएको छ । धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयलमा उनले नेपाल–भारत सम्बन्धबारे प्रवचन दिनेछन् । उनले काठमाडौंमा समेत सम्बोधन गर्ने तयारी छ । उनले जनकपुरमा पनि सम्बोधन गर्नेछन् । 

दूतावास स्रोतका अनुसार मुखर्जीको भ्रमणकै समयमा राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमणसमेत निश्चित हुनेछ । यसअघि राष्ट्रपति भण्डारीको भारत भ्रमण अन्तिम समयमा आएर स्थगन भएको थियो । भ्रमण स्थगनले दुईपक्षीय सम्बन्धमा तिक्ततासमेत ल्याएको थियो । ‘अब पुरानो अवस्था छैन । हामी सबै सन्तुलित भएर अघि बढ्न सक्नुपर्छ । अब भ्रमण हुन्छ,’ भारतीय दूतावासका अधिकारीले भने । पछिल्लो समय नेपाल र भारतबीच विविध क्षेत्रमा सहकार्यको थालनी भए पनि भारतले नेपालको संविधान संशोधन गरेर सबैलाई स्वीकार्य बनाउने वातावरण तयार गर्न सन्देश दिइरहेको छ । 

परियोजना अनुगमन गर्न संयन्त्र 
भारतीय सहयोगमा सञ्चालित परियोजना अनुगमन गर्न नेपाल–भारतबीच उच्चस्तरीय संयन्त्र बनेको छ । टोलीमा नेपालका तर्फबाट परराष्ट्र सचिव शंकरदास बैरागी र भारतका तर्फबाट भारतीय राजदूत रणजित राय रहने निश्चित छ । टोलीमा पाँच–पाँच सदस्य रहनेछन् । दूतावासको आर्थिक सहायता महाशाखा हेर्ने र नेपालको पुनर्निर्माणसम्बन्धी अधिकारी त्यसमा रहनेसमेत जनाइएको छ । संयन्त्रले द्विपक्षीय आर्थिक तथा विकास सहयोगका परियोजनामा देखा परेका अप्ठ्यारालाई सम्बोधन गरी समयबद्ध रूपमा शीघ्र कार्य सम्पन्न गर्नका लागि त्यस्ता परियोजनाको प्रगति अनुगमन गर्नेछ । प्रधानमन्त्रीको राजकीय भारत भ्रमणका क्रममा संयन्त्र बन्ने निर्णय भएको थियो ।

भारतले विनाशकारी भुकम्पबाट क्षति भएका स‌ंरचना पुनर्निर्माणका लागि सहयोग टोली समेत बनाएको छ । उक्त टोलीले नुवाकोट र गोरखामा भारतको सहयोगमा नेपाल सरकारले निर्माण गर्ने परियोजना अनुगमन तथा सहकार्य गर्नेछ ।

]]>