देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

लागू औषध कारोबारको आरोप लागेको आर्या फर्मास्युटिकल्सका पाँच सञ्चालकविरुद्ध मुद्दा

देशान्तर

काठमाडौं । लागु औषध तस्करीको आरोपमा आर्या फर्मास्युटिकल्सका पाँच सञ्चालकविरुद्ध प्रहरीले बुधबार मुद्दा दायर गरेको छ । तर, सरकारी वकिल कार्यालयले दबाबका भरमा मुद्दालाई कमजोर बनाई दर्ता गरेको भन्दै प्रहरी असन्तुष्ट बनेको छ ।

रुघाको औषधि बनाउन भनेर युरोपबाट आयात गरिएको सहायक रसायन अन्तर्राष्ट्रिय लागुऔषध कारोबारीलाई बिक्री गरेको आरोपमा व्यवसायी पवन संघाईसहित नौजनाविरुद्ध मुद्दा दायर गरेको हो । पवनका दाइ रतनलाल संघाई, मोहित हलान, शंकर हलान तथा कमल अग्रवालविरुद्ध मुद्दा दायर गरेको हो । रतनबाहेक अन्यलाई फरार अभियुक्त बनाई प्रहरीले मुद्दा दायर गरेको छ । रतन पक्राउ परेकै दिनदेखि हिरासत छल्न अस्पतालमा बस्दै आएका छन् ।

लागुऔषध कारोबार ऐनअनुसार मुद्दा
प्रहरीले उनीहरूलाई १५ वर्षसम्म कैद सजायको माग गरी मुद्दा चलाउन माग गरेको भए पनि जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले मुद्दालाई कमजोर बनाई पेस गरेको छ । सरकारी वकिल कार्यालयले संगठित अपराध मुद्दा नचलाई लागुऔषध कारोबार ऐनअनुसार मात्र मुद्दा दायर गरेको हो । संगठित अपराध मुद्दासमेत जोडेको खण्डमा लागुऔषध कारोबारमा हुने सजायको ५० प्रतिशत सजाय थप हुने प्रावधान छ । तीन वा सोभन्दा बढी व्यक्ति मिलेर कुनै अपराध गरेमा संगठित अपराध मुद्दा चल्ने प्रावधान छ । तर, दबाबको भरमा सरकारी वकिल कार्यालयले संगठित अपराध मुद्दा चलाउन नमानेको हो ।

१३ साउमा भएको थियो प्रहरीको छापा
गत १३ साउनमा प्रहरीले संघाईको आर्या फर्मामा छापा हानी चार सय ७२ किलोे सिउडोइफेड्रिन बरामद भएको थियो । एमफेटामाइन (आइस ड्रग) बनाउने समूहलाई संघाई समूहले बिक्री गर्दै आएको लागुऔषध नियन्त्रण ब्युरोका एसएसपी गणेश केसीले बताए ।
संघाईको लगानी रहेको आर्या फर्मास्युटिक्सले सो सहायक रसायन नेपाल भित्राई अवैध रूपमा बिक्री गर्दै आएको हो । सहायक रसायन चीन र बर्मामा तस्करी हुने गरेको प्रहरी अनुसन्धानले देखाएको छ । सिउडोइफेड्रिनको प्रतिकिलो करिब सय डलर पर्दछ । तर, नेपालमा उनीहरूले एक किलोको ८० हजार रुपैयाँमा बिक्री गर्दै आएका थिए । आठ गुना बढी नाफा हुने भएकाले उनीहरूले यस्तो काम गर्दै आएका थिए ।

ब्युरोले ललितपुरको पाटन औद्योगिक क्षेत्रभित्र रहेको संघाई ग्रुपको चार सय ७१ केजी दशमलव ८८ केजी  रसायन बरामद गरेको थियो । सुरुमा प्रहरीले आर्य फर्मा ल्याबका कर्मचारी दिलीप मण्डललाई २० केजी रसायनसहित पक्राउ गरेको थियो । उनीमाथि अनुसन्धान गर्ने क्रममा पाटनस्थित प्लास्टिक उद्योगमा लुकाएको अवस्थामा थप रसायन बरामद भएको हो । आर्या फर्मास्युटिक्सको उद्योग बाराको जितपुरमा छ । तर, काठमाडौंमा ल्याएर सो रसायन बिक्रीका लागि राखिएको थियो ।

आर्या फर्मास्युटिकल्सका प्रबन्ध निर्देशक मोहित हलनसमेत प्रहरी हिरासतमै छन् । हलनलाई बाराको जितपुरबाट तथा पण्डितलाई ज्ञानेश्वरस्थित आर्य फर्मा ल्याबबाट पक्राउ गरिएको हो । मण्डल भारतीय नागरिक हुन् । रसायन कारोबारमा संलग्न दुई युवकसमेत प्रहरी हिरासतमै छन् ।

संघाई प्लास्टिक इन्डस्ट्रिज प्रालिको गोदाममा कोठाभित्र एकै किसिमका नौ सय ५२ डिब्बामा लुकाइराखेको अवस्थामा लागुऔषध बरामद भएको हो । प्राविधिकसहित प्रहरीले कम्पनीमाथि अनुसन्धान अघि बढाएको छ । आर्या फर्मास्युटिकल्स नेपालका विभिन्न क्षेत्रमा लगानी गर्दै आएको संघाई ग्रुपकै कम्पनी हो । सो कम्पनीका सञ्चालक रतन एचपी ग्यासका सञ्चालक पनि हुन् । कमसल सिलिन्डर बिक्री गरेको आरोपमा गत महिना एचपी ग्यासमाथि कारबाही भएको थियो ।

उनी प्राइम र एभरेस्ट इन्स्योरेन्सका पूर्वअध्यक्षसमेत हुन् । त्यस्तै लक्ष्मी बैंकका पूर्वसञ्चालक हुन् । खेतान समूहसँग मिलेर उनले व्यवसाय गर्दै आएका छन् ।

भारत हुँदै चीन र बर्मामा तस्करी
सो रसायन स्विट्जरल्यान्डबाट नेपाल आयात हुने गरेको  छ । नेपालबाट काँकरभिट्टा नाका हुँदै भारत प(याई त्यहाँबाट चीन र बर्मा पुग्ने गरेको हो । यसमा विभिन्न तहका लागुऔषध कारोबारीको गिरोह संलग्न छ । दुरुपयोग हुनसक्ने भएकाले गृह मन्त्रालयको स्वीकृतिमा मात्र यस्तो सहायक रसायनको आयात गर्न पाइन्छ । तर, सो कम्पनीले अत्यधिक मात्रामा सिउडोइफेड्रिन आयात गर्दै गरेपछि प्रहरी अधिकारीले शंका गर्दै आएका थिए । दुई महिनाअघि पक्राउ परेका एक आइसड्रगका कारोबारीबाट पनि प्रहरीले त्यससम्बन्धी थप सूचना पाएको आजको नयाँ पत्रिका दैनिकले समाचार प्रकाशित गरेको छ ।

]]>