देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपाली कांग्रेस : कस्तो नेतृत्व ? कस्को नेतृत्व ?

देशान्तर

विपुल पोख्रेल
नेपाली कांग्रेसको १३ औ महाधिवेशन जारी छ । आफ्नै पार्टी सभापति सुशील कोइरालाको नेतृत्वमा संविधान जारी गरी देशलाई ऐतिहासिक गुन लगाएको पार्टी नेपाली कांग्रेसले यो महाधिवेशनले संविधान कार्यान्वयन गर्दै देशलाई समृद्धिको मार्गमा हिँडाउने संकल्प गर्ने अपेक्षा गरिएको छ । पार्टीको नीति तथा कार्यक्रमको एउटा महत्वपूर्ण हिस्साले संघीय लोकतान्त्रिक गणतान्त्रिक संविधानलाई अझ स्वीकार्य बनाउँदै प्रभावकारी रूपमा र परिणाम निकाल्ने ढंगले कार्यान्वयनको दिशामा आफूलाई हिँडाउने संकल्प गर्न खोजेको देखिन्छ । देशको सबैभन्दा ठूलो दल, जस्ले संविधानसभाबाट संविधान बनाउने ऐतिहासिक दायित्व बहनसमेत गरेको छ, उसले गर्ने यस प्रकारको संकल्पले निश्चित रूपमा संविधानप्रति सबै पक्षको अपनत्व जगाउँदै त्यसलाई कार्यान्वयनको दिशामा लैजान सिंगो राष्ट्रलाई नै प्रेरित गर्ने अपेक्षा गर्न सकिन्छ । यो अर्थमा पनि कांग्रेसको महाधिवेशनलाई सबैले विशेष नजरले हेरिहेका छन् ।

कांग्रेसको यो महाधिवेशनले आफ्नो जीवन पद्धतिलाई पनि सुसंगठित गर्नुपर्नेछ । संरचनात्मक रूपमा पनि परिमार्जन गर्नुपर्ने भएको छ । प्रान्तीय संरचनाहरू निर्माण गर्नुपर्ने भएको छ । लोकतान्त्रिक पार्टी भएकाले पार्टीका सबै संरचनाहरूमा उचित र न्यायसंगत रूपमा प्रतिनिधित्वको सुनिश्चितता गर्नुपर्ने भएको छ । पार्टीका क्रियाशील सदस्यहरूको प्रतिनिधित्व गर्दै सबै तहका संरचनाहरू निर्माण हुने वैधानिक व्यवस्था भएको पार्टीले ती क्रियाशील सदस्यहरूको संख्याका आधारमा प्रतिनिधित्वलाई सुनिश्चित गर्न आवश्यक छ । विधान संशोधनको प्रस्ताव तयार गरी महाधिवेशनमा लैजाने विषयमा पार्टीभित्र जुन प्रकारको जुँगाको लडाइँ देखियो, त्यसले पार्टीको हित गरेन । सामूहिक नेतृत्वमा गइसकेपछि सदस्यहरूको संख्या थपिँदा संरचनाहरूमा पनि संख्या र पदाधिकारी थपिँदै जानु स्वाभाविक हुन्छ । यो विषयलाई विवादित बनाउनु भनेको पार्टीभित्र प्रतिनिधित्वको विषयलाई अस्वीकार गर्नु हो । यद्यपि १४ अञ्चलको प्रतिनिधित्वलाई प्रान्तीय बनाइएको छ । महाधिवेशनले विधान संशोधन गर्न आवश्यक थियो । महाधिवेशनपछि विधान संशोधन गर्ने भन्ने अलोकतान्त्रिक बहस पनि पार्टी पंक्तिभित्रबाट सुनियो । यो गलत हो । पार्टीको सर्वोच्च तहका रूपमा रहेको महाधिवेशनलाई संविधान संशोधन गर्न नदिई सीमित नेताहरूले महाधिवेशन पछाडि विधान संशोधन गर्ने कुरा गर्नु लोकतान्त्रिक चरित्र भएका नेताहरूलाई सुहाउने कुरा थिएन ।

पार्टी सभापति सुशील कोइरालाको निधनको पीडाका बीचमा अभिभावकविहीन रूपमा कांग्रेसले आफ्नो १३ औं महाधिवेशन भइरहेको छ । कोइराला, प्रजातान्त्रिक समाजवादी चरित्रलाई एउटा व्यक्तिले अँगाल्दै अरुका लागि प्रेरणा बन्न सक्छ भन्ने सन्देश दिँदै बिदा भए । उनको यो चरित्र कत्तिको अनुकरणीय हुन्छ र कांग्रेसका कार्यकर्ताहरूले यो सन्देशलाई कत्तिको ग्रहण गर्छन् भन्ने भोलिको दिनमा देखिनेछ, तर उनको अभाव केही भए पनि पूर्ति गर्न सक्ने नेतृत्व छनोट गर्न सक्यो भने यो महाधिवेशनले कांग्रेसभित्रको जीवन्त मूल्यको राजनीतिलाई जोगाउन सक्दछ । अन्यथा मूल्यको राजनीति कोइरालासँगै विसर्जन हुन बेर लाग्ने छैन । यो पक्ष सँगसँगै महाधिवेशनले न्यायको पक्षमा र कार्यकर्तालाई मूल्यांकन गर्ने सबालमा आफूलाई कसरी प्रस्तुत गर्छ भन्ने विषय पनि पर्खाइको विषय हुन पुगेको छ ।

कांग्रेसभित्र कार्यकर्ताको मूल्याकन सही रूपमा हुँदैन, कोही कार्यकर्ताले पनि आफूलाई सुरक्षित महसुस गर्न सक्दैनन् र क्षमताको आधारमा कार्यकर्तालाई जिम्मेवारी दिँदैनन् भन्ने गुनासो रहँदै आएको छ । यो सवालमा पनि यो महाधिवेशनले सकारात्मक सन्देश दिन जरुरी छ । पार्टीमा लामो समयदेखि पार्टीको संस्थापनलाई हरेक गतिविधिमा सघाउँदै र आफ्नो क्षमताको प्रत्यक्ष लाभ पार्टीलाई दिँदै आएका पात्रका रूपमा वर्तमान कार्यवाहक सभापति रामचन्द्र पौडेल चिनिन्छन् । यहाँ संस्थापन भन्नुको अर्थ गुटको कुरा होइन । पार्टीले लिने निर्णयहरू गर्ने संरचनाहरूलाई संस्थापन भनिएको हो । त्यो संरचनाभित्र रही पार्टीलाई चलायमान बनाउने र कार्यकर्तालाई काम र ऊर्जा दिने सवालमा पौडेलको भूमिका यतिबेला मुक्त कण्ठले प्रशंसा गर्न लायक छ । उनी नेतृत्वको प्रशिक्षण प्रतिष्ठानले देशभर प्रशिक्षणका क्रममा होस् वा बीपी, गणेशमानका शत्वार्षिकोत्सवका अवसरमा थालेका जागरण अभियानहरू नै होस्, देशभर दुई लाखभन्दा बढी कार्यकताहरू परिचालित भएका छन् । कार्यकर्ताको परिचालन नै संगठन निर्माण र क्रियाशीलताको आधार हो । सम्भवत: आफ्नै आन्तरिक कार्यक्रममा यति धेरै कार्यकर्ताहरू परिचालन भएको पार्टी जीवनमा नै यो पहिलो पटक हो । कांग्रेसले लोकतान्त्रिक आन्दोलनको आह्वान गर्दा देश नै होमिने पक्ष आफ्नो ठाउँमा छ । त्यो विशिष्ट चरित्रलाई जोगाउन र त्यो ऊर्जालाई अझ सञ्चित गर्न सहयोग पुग्ने रूपमा संगठन बलियो बनाउने लक्ष्यका साथ कार्यकर्ता परिचालनको यो महत्वपूर्ण कार्य पौडेलले सम्पन्न गरेका छन् । यो कार्यको परिणामस्वरूप कांग्रेस सबैभन्दा ठूलो पार्टीका रूपमा दोस्रो संविधानसभाको निर्वाचनबाट निर्वाचित हुन पुग्यो । पार्टीभित्र वैचारिक बहस चलाउँदै बीपी कोइराला प्रतिपादित प्रजातान्त्रिक समाजवादलाई मूल दर्शन मानेर आर्थिक क्रान्तिको अभियान थाल्न सकिन्छ भन्ने विषयमा पैरवी गर्दै आएका रामचन्द्र पौडेलले यो धारलाई पार्टीको मुख्य धारका रूपमा स्थापित गर्न सक्छन् भन्ने विश्वास पनि देखिएको छ । उनी स्वयं कार्यवाहक सभापति रही महाधिवेशन गरिरहँदा नेतृत्व चयनका सन्दर्भमा उनी निर्वाचित भए भने कांग्रेसमा लगानीको मूल्यांकन हुँदो रहेछ भन्ने सन्देश जान सक्छ ।

उनको भूमिकाको सन्दर्भमा एउटा सन्दर्भ उल्लेख गर्न उपयुक्त हुने छ । उनी पार्टीभित्र एकता र न्यायका लागि सँगसँगै लड्ने साहसिक नेता हुन् भन्ने कुरा उनको एउटा घटनाले पुष्टि गर्दछ । नेपाली कांग्रेस विभाजन हुनुपूर्व पार्टीले तात्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई कारबाही गर्‍यो । उनले तत्कालीन पार्टी सभापति गिरिजाप्रसाद कोइरालासँग कारबाही फिर्ताका लागि अनुनय विनय नै गरे । देउवाले देशभरबाट भेला बोलाए । पौडेलले देउवालाई कारबाही फिर्ताका लागि दबाब दिन भेला बोलाउने कुरासम्ममा साथ दिए र स्पष्ट रूपमा भने, ‘त्यो भेला पार्टी फुटाउने भेलामा परिणत हुनु हँुदैन, त्यसो भयो भने म तपाईंसँग रहँदैन ।’ पौडेलको अनुनय, विनय र आक्रोशपछि पनि गिरिजाप्रसाद कोइराला कारबाही फिर्ता गर्न तयार नभएको सूचनाहरू छन् । बरु जवाफमा कोइरालाले ‘देउवा निकै गलत बाटोमा गइसकेका छन्, अहिले कारबाही फिर्ता नगरौं, एकदुई वर्षमा उनलाई पार्टीमा ल्याइहालिन्छ, उनी कति दिन बाहिर बस्न सक्छन् र’ भनेका थिए । यो सन्दर्भले कसैलाई अति नै बढी गरियो भने न्यायका लागि नेतृत्वसँग पैरवी गर्ने र दबाबका लागि कार्यक्रमसम्म गर्ने कुरामा पौडेल उभिए, तर पार्टी विभाजन गरेर लोकतान्त्रिक आन्दोलन, प्रजातान्त्रिक समाजवादी आन्दोलनलाई कमजोर गराउने कुरामा उनी कहिल्यै उभिएनन् । यो रूपमा आफू कहाँसम्म अगाडि बढ्ने र उपयुक्त निर्णय कसरी गर्ने भन्ने सवालमा स्पष्ट नेताका रूपमा पौडेलले आफूलाई प्रस्तुत गरेका छन् । यो महाधिवेशनले नेतृत्व चयनका सन्दर्भमा पार्टीभित्र न्याय हुन्छ, मूल्यांकन हुन्छ र पार्टीको मूल नीतिका रूपमा रहेका प्रजातान्त्रिक समाजवादी धारलाई बचाउने पक्षमा निर्णय लिन्छ भन्ने विश्वास गर्ने हो भने सभापतिमा पौडेललाई चुन्नेछ ।

पौडेलको पक्षमा वकालत गर्ने कुरा कुनै व्यक्तिको पक्षमा वकालत गरेका ठानिनु हुँदैन । उनी समकालीन राजनीति र कांग्रेसको जीवनमा एउटा यस्ता पात्रका रूपमा उभिन पुगेका छन्, जसले मूल्यको राजनीतिसँग सम्झौता गर्दैन, कांग्रेसका मध्यमार्गी धारलाई बचाइराख्न सक्दछ, बीपी कोइरालाको प्रजातान्त्रिक समाजवादको कुरा गर्दा उत्साहित हुने आम नेपालीलाई त्यो धार जीवित रहेको सन्देशका साथै त्यसको समयानुकूल व्याख्या गर्ने हैसियत राख्छ । त्यसैगरी संविधान कार्यान्वयनका लागि उदारताका साथ सबैलाई समन्वयनमा ल्याएर भूमिका खेल्न सक्छ । समयले माग गरेको पात्रको पक्षमा पैरवी गर्नु नागरिक दायित्व पनि हो । यस अर्थमा पनि पौडेलको पक्षमा यतिबेला कांग्रेसजनहरू, जसले मूल्यको राजनीति चाहन्छन्, प्रजातान्त्रिक समाजवादको निरन्तरता चाहन्छन् र पार्टीलाई परिचालित गर्दै जनताको घरआँगनसम्म पुगेका देख्न चाहन्छन्, उनीहरू मुक्त कण्ठले रामचन्द्रको पक्षमा उभिन सक्नु पर्दछ । नेतृत्व चयन भइसकेपछि सबै नेता हुन् सबैप्रतिको समान सम्मान गर्ने कुरा कांग्रेसभित्रको संस्कृति नै हो, त्यो संस्कृति निभ्न कार्यकर्ताले दिने छैनन् नै ।

 

]]>