देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

देउवाले गुट व्यवस्थापन गर्न नसक्दा मध्यपश्चिममा संस्थापन बलियो

देशान्तर

नेपालगन्ज । देउवा पक्षले गुट व्यवस्थापन गर्न नसक्दा मध्यपश्चिम विकास क्षेत्रमा पर्ने जिल्लामा हालै सम्पन्न कांग्रेस जिल्ला अधिवेशनमा संस्थापन पक्षका धेरै जिल्ला सभापतिमा निर्वाचित भएका छन् । मध्यपश्चिममा १५ जिल्लामध्ये ११ जिल्लामा संस्थापन पक्षका उम्मेदवार सभापति निर्वाचित भएका हुन् । दुईजना देउवा पक्षका उम्मेदवार सभापति भएका छन् । एक जिल्लामा खुमबहादुर खड्का निकट उम्मेदवार सभापतिमा निर्वाचित भएका छन् । डोल्पाबाहेक मध्यपश्चिमका १४ वटै जिल्ला अधिवेशन सकिएको छ । देउवानिकट कांग्रेस केन्द्रीय सदस्य किशोरसिंह राठौरले जिल्ला सभापतिमा धेरै नजिते पनि महाधिवेशन प्रतिनिधिमा भने देउवा पक्ष अगाडि रहेको दाबी गरे ।  

‘जिल्ला कम्पोजिसनले सभापतिमा काम गरेको हो तर महाधिवेशन प्रतिनिधिमा हामी अगाडि छौं’, केन्द्रीय सदस्य राठौरले भने, ‘केन्द्रमा भोट हाल्ने त महाधिवेशन प्रतिनिधिले हो, त्यो धेरै हाम्रा पक्षका छन् । महाधिवेशनमा जिल्ला सभापतिको विशेष भूमिका केही हुन्न ।’ बाँके जिल्लामा दिवंगत सभापति सुशील कोइरालाकी भाइबुहारी किरण कोइराला निर्वाचित भएकी छन् । संस्थापन पक्षकै निरञ्जनसिंह सिँजापतिलाई हराएर कोइराला विजयी भएकी हुन् । बर्दियामा संस्थापनका सञ्जय गौतम निर्वाचित भएका छन् भने देउवा पक्षका नेता पूर्णबहादुर खड्काको गृहजिल्ला सुर्खेतमा संस्थापन पक्षकै कमलराज रेग्मी विजयी भएका छन् ।
 
दैलेखमा कृष्णकुमार बीसी, मुगुमा खड्गबहादुर शाही, कालीकोटमा हर्षबहादुर बम, रोल्पाका अमरसिंह पुन संस्थापनकै हुन् । संस्थापन पक्षका रुकुममा प्रेमप्रकाश वली, सल्यानमा गणेश चन्द, जुम्लामा दीपबहादुर शाही र प्युठानमा अमर भण्डारी निर्वाचित भएका छन् । जाजरकोट र हुम्लामा मात्रै देउवा पक्षका सभापति विजयी भएका छन् । जाजरकोटमा देउवा पक्षका दीपकजंग शाह, हुम्लामा जयपति रोकाय देउवा पक्षका हुन् । तर जाजरकोटका सभापति शाह पछिल्लो समयमा संस्थापन नजिक छन् । महामन्त्री प्रकाशमान सिंह निकट हुन् ।  हुम्लामा भने सबै महाधिवेशन प्रतिनिधिसमेत देउवा पक्षकै विजयी भएका छन् । दाङमा भने खड्का निकट कृतिबहादुर खड्का निर्वाचित भएका छन् । डोल्पामा अधिवेशन स्थगित भएको छ ।

महाधिवेशन प्रतिनिधि र क्षेत्रीय सभापतिमा मिश्रित परिणाम आएको छ । देउवा पक्षबाट बर्दियामा सभापतिको उम्मेदवार भएका विद्याप्रसाद खनालले समग्र महाधिवेशन प्रतिनिधिमा भने देउवा पक्ष नै बलियो रहेको दाबी गरे ।  सभापतिका आकांक्षी देउवा पक्षमा धेरै भएकाले जिल्ला सभापतिको नतिजा भने अनपेक्षित भएको उनको भनाइ छ । ‘जिल्ला सभापतिमा एकले अर्कालाई नस्वीकार्दा परिणाम त्यस्तो आएको हो’, खनालले भने । उनले मध्यपश्चिमबाट केन्द्रीय निर्वाचन देउवालाई धेरै मत जाने बताए ।

संस्थापन पक्षका नेता रहेका सांसद वादशाह कुर्मीले मध्यपश्चिममा संस्थापन पक्ष बलियो रहेको बताए । उनले भने, ‘जिल्ला भापति त ११÷१२ जना नै हाम्रो पक्षका हुनुहुन्छ । महाधिवेशन प्रतिनिधिमा समेत हाम्रै बहुमत छ । समग्रमा मध्यपश्चिम हाम्रो पकडमा गयो ।’ मध्यपश्चिममा महाधिवेशन प्रतिनिधिमा वर्तमान सांसददेखि पूर्वमन्त्रीसम्म पराजित भएका छन् । बाँकेमा सांसदहरू आशाकुमारी विक, मैकुलाल वाल्मीकि, सर्वअतारा खातुन र अब्दुल हमिम सिद्धिकी पराजित भएका छन् भने बर्दियामा जिल्ला पूर्वसभापति अरुणसिंह राठौर, जाजरकोटमा पूर्वमन्त्री झलकनाथ वाग्ले, दैलखमा पूर्वमन्त्री शिवराज जोशी पराजित भएका छन् । अन्नपुर्ण पोष्टमा समाचार छ । 

]]>