देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

…‘अख्तियारले उस्लाई छुन्न’…

देशान्तर

श्रीआचार्य  
‘अख्तियार लाग्ला है साथी, जथाभावी हात नहाल्’ बानेश्वर थापागाउँको एउटा चिया पसलमा एकजना ठिटोले ठट्टा गर्‍यो । साहुनीसँग सोद्धै नसोधी चुरोट झिक्दै गरेको साथीलाई लक्षित गरेर भनेको यो वाक्य खस्दाखस्दै अर्कोले जवाफ दियो: ‘उस्लाई अख्तिायारले छुने ? कहाँ छस् तँ ? भर्खरै साइनो जोडिएको थाहा छैन कि क्या हो ।’ साथीहरूले आफूप्रति गरेको छेडछाडप्रति मानौं उसको कुनै सम्बन्ध थिएन । किञ्चित नहड्बडाई उसले चुरोटका केही खिल्ली झिक्यो । साथीहरूलाई बाँड्यो र आफूले सल्कायो । निकै लामो सर्को तानेर आकाशतिर धुवाँ फुस्स फाल्यो । मग्न भयो । धुवाँले बर्तुलाकार–चक्र लिँदै गयो । धुवाँको गोल–चक्कर ठूलो र स्पष्ट भयो । अनि त्यसलाई देखाउँदै उसले फूर्तिसाथ जवाफ दियो : ‘यसरी जथाभावी नबोल् । अख्तियारको यस्तै चक्रमा तँलाई जाक्दिम्ला । कार्कीजी त हाम्रो आफन्त हुनुहुन्छ । बुझिनस् उस्ले के भन्यो’– अर्को साथीतिर हेरर उसले कुराको बिट मार्‍यो । 

म नजिकैको बेन्चमा छु । तर अब उनीहरूबीचको कुराकानी सुन्न कानले बढी नै मेहनत गर्नुपर्ने भयो । सायद त्यो ठट्टा थिएन । वास्तविकता थियो । त्यसैले उनीहरू घरी मलाई हेर्दै र घरी वरपर हेर्दै खासखुस कुरा गर्न थाले । उसो त यहाँ, अख्तियारमा मेरो मान्छे छ । प्रमुखलाई नै चिनेको छु वा उनी मेरो अत्यन्त नजिकका मित्र हुन् वा फलाना आयुक्त मेरा आफ्नै हुन् । कस्लाई फसाउन वा फसेको कस्लाई उम्काउनु छ । हामी गर्दिन्छम् भन्नेहरू पनि प्रशस्तै भेटिन्छन् । त्यसैगरी त्यो आयोगका प्रमुख आयुक्त वा आयुक्त वा सचिव वा अन्य कर्मचारी कोही कसैको नाम लिएर आफूलाई अख्तियारले छुन नसक्ने निर्धक्क बताउनेहरू नभेटिने होइनन् । भेटिन्छन् । यतिसम्म कि अदालतका मुद्दा जिताइदिने वा हराइदिने कामसमेत पैसाको बलमा हुन्छ, गराइदिन्छु वा गरिएको छ भन्ने भनाइहरू बेलामौकामा सार्वजनिक भइरहेका हुन्छन् । मन्त्री, प्रधानमन्त्री, सचिव, मुख्यसचिवलाई चिनेको छु वा ऊ मेरो आफन्त वा आफन्तको अत्यन्तै नजिकको मान्छे हो । ठेक्कापट्टा, पासफेल, विदेश भ्रमण आदिइत्यादि काम फ्याट्टै गराइदिन्छु भन्नेहरू त कति हो कति । चोकैपिच्छे भेटिन्छन् । पत्याउने नपत्याउने र त्यसको पछि लाग्ने नलाग्ने आफ्नो कुरा हो । त्यसैले चिया पसलका ठिटाहरूको वाततिर मैले श्रवणशक्ति खर्च गर्ने आवश्यकता देखिनँ । यो आमवात हो, जो चियापसलमा सजिलै सुनियो हो । हावा नहाई पात पक्कै हल्लेन । 

अख्तियार वा त्यस्ता अन्य विशेष ठाउँहरूमा कसरी काम हुन्छ मलाई थाहा छैन । तर आम नागरिक त्यहाँ निष्पक्ष र स्वतन्त्र रूपमा काम हुन्छ, दूधको दूध पानीको पानी छुट्याइन्छ भन्ने विश्वास गर्दैनन्– यो चै थाहा छ । त्यही अविश्वासको अभिव्यक्ति जही तही आम रूपमा छरपस्ट हुन्छ, भइरहेको छ । सुनिन्छ । कान बन्द गरेर हिँड्न सकिन्न । जनस्तरमा सुनिने यस्तो भनाइ र कार्यपालिका, व्यवस्थापिका, व्यवस्थापिकाप्रति जनताको यो अविश्वास अहिलेको मात्र हैन । उहिले पहिलको पनि हो, थियो । पञ्चायतकालमा प्रजातन्त्र थिएन । जनतालाई राज्यका ती तिनै अंगले मृत्यवत् ठान्थे । पेल्थे । काम आफन्त र आफन्तले ल्याएकाको मात्रै हुन्थ्यो । कालोलाई सेतो र सेतोलाई कालो बनाइन्थ्यो । जनताको कुरा सुनिँदैनथियो । पञ्चायत गएर प्रजातन्त्र आएको २६ वर्ष भयो । तर पनि राज्यका कुनै पनि अंगप्रति जनताको विश्वास छैन । अथवा यसो भनौं, ती अंगले जनताको विश्वास जित्न सकेका छैनन् । अत: ती संस्था र त्यहाँ काम गर्ने व्यक्तिप्रतिको जनआस्था गिर्दो छ । यो विद्यमानतामा अख्तियार र यसका काम कारबाहीवारे चिया पसल र चोकचोकमा माथिका कथन सुनिनु सामान्य हो । तर स्वाभाविक हैन ।

नजिकबाट चिन्नेहरू भन्छन् : ‘लोकमानजी दरो, खरो र गन्तव्यमा स्पष्ट व्यक्ति हुनुहुुन्छ ।’ तर विगतमा उहाँले जनताको सामु आफ्नो त्यो स्वभाव देखाउन सक्नु भएन । भयो के, थाहा हुने कुरो भएन । एउटा गणेश थापाको केसले उहाँका आफन्तको भनाइमा विश्वास गर्ने ठाउँ दिएन । यो केसमा उहाँ स्वयंले अख्तियारको दुरुपयोग गरेको देखिन्छ । अहिले ठूला माछा समात्ने अभियानमा उहाँले जे जस्तो दृढता व्यक्त गरे पनि– त्यसैले जनताले विश्वास गर्न सकेका छैनन् । पूर्वप्रधानमन्त्री त्रयको आफन्तको लहरो गणेश थापाको भन्दा निश्चय नै लामो र बलियो होला । उहाँ आफैंलाई यसको सुर्केनी लाग्न सक्छ । हैन, आफूलाई मन नपरेकाको राजनीतिक साख गिराइदिने, धम्काउने, तर्साउने, डाम्ने र छोड्नेमा नै लोकमानजी दरो, खरो र स्पष्ट हो भने– त्यसको के कुरा गर्नु । चिया पसलहरूमा सुनिने ठट्टाहरू सुनिँदै रहन्छन् र तिनमा विश्वास गर्नैपर्छ । गरिन्छ ।

तर..तैपनि…हेरौं न त, अख्तियारले अब यसपालि उस् उस्लाई छुन्छ कि छँुदैन । निर्णय त्यसपछि गरौंला ।

 

]]>