देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

संविधान संशोधन प्रस्ताव पारित गर्नुपर्ने काँग्रेसको निष्कर्ष

देशान्तर

काठमाडौं । नेपाली काँग्रेसले यसअघिको आफू नेतृत्वको सरकारले संसद्मा दर्ता गरेको समानुपातिक र समावेशीसम्बन्धी संविधान संशोधन प्रस्ताव तत्काल पारित गर्नुपर्ने निष्कर्ष निकालेको छ ।

काँग्रेस पदाधीकारीको आज बसेको बैठकले सोमबार हुने सत्तारुढ दल, प्रमुख प्रतिपक्षी दल काँग्रेस र आन्दोलनरत दल सम्मिलित त्रिपक्षीय वार्तामा पार्टीले राख्ने कार्यसूचीबारे छलफल गरेको थियो ।

बैठकपछि काँग्रेस प्रवक्ता दिलेन्द्र बडूले भने, “मधेस आन्दोलनको प्याकेजमै समाधान खोजे ढिलो हुन्छ, त्यसैले तत्काललाई संसद्मा दर्ता भएको प्रस्ताव पारित गर्ने र सीमाङ्कनका विषमा राजनीतिक तहमा थप वार्ता र संवादमार्फत सहमति खोज्नुपर्छ ।”

आजको बैठकमा सभापति सुशील कोइरालाले शुक्रबार आन्दोलनरत तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, शनिबार एकीकृत नेकपा (माओवादींं)का अध्यक्ष पुष्पकमल दाहालसँग भएको छलफलबारे जानकारी गराएका थिए ।

बैठकले सोमबारको त्रिपक्षीय वार्तामा सभापति कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेल सहभागी हुने निर्णय गरेको छ ।

काँग्रेसले शनिबार वीरगञ्जमा पार्टीको कार्यक्रममा मधेसवादी पार्टीले आक्रमण गरी पार्टीको झन्डा जलाउने कार्य गरेकामा त्यसको भत्र्सना गरेको छ ।

सभापति कोइराला र राजदूत रायबीच भेटवार्ता

काँग्रेस सभापति सुशील कोइराला र नेपालका लागि भारतीय राजदूत रणजीत रायबीच आज भेटवार्ता भएको छ ।

राजदूत राय सभापति कोइरालालाई भेट्न उनको निवास महाराजगञ्ज पुगेका थिए ।

भेटमा कोइरालाले भारतद्वारा गरिएको अघोषित नाकाबन्दीका कारण नेपालीको जनजीवन कष्टकर बन्दै गएको भन्दै तत्काल नाकाबन्दी फिर्ता लिन आग्रह गर्नुभएको काँग्रेस प्रवक्ता बडूले जानकारी दिए ।

सभापति कोइरालाले अहिलेको अवस्थाले दुई देशबीचको सदियौँदेखिको सम्बन्ध बिगार्ने र कसैको हितमा नहुने बताएका थिए ।

उनले मधेसमा जारी आन्दोलनको समाधानका लागि आफूहरु प्रयासरत रहेको राजदूतलाई जानकारी दिँदै छिट्टै सहमति हुने बताएका थिए ।

]]>