देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

राजनीतिक खिचातानीमा देशको अर्थतन्त्र

देशान्तर

काठमाडौं – सरकारले समयमै बजेट पास गर्न नसक्दा ‘बजेट होलिडे’ को अवस्था आएको छ।

सरकार र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबीच राजनीतिक संघर्ष चलिरहेका बेला त्यसको प्रत्यक्ष मार देशको बजेटमा परेको छ। एकले अर्कोलाई दोष लगाउँदै उम्कने प्रयास गरिरहेका छन्। सत्ता गठबन्धनका नेताहरु एमालेले संसद अवरोध गरेका कारण बजेट पास गर्न नसकेको बताउछन्।

एमालेले भने सरकारले बजेटलाई महत्व नदिई सत्तास्वार्थमा अलमलिँदा सरकारी खर्च व्यवस्थापनमा गम्भीर संकट उत्पन्न भएको जनाएको छ।

संसदबाट बजेट पारित नहुदा सरकारले राजश्व उठाउन पाउने भएपनि खर्च भने रोकिने अवस्था आएको छ। प्रतिनिधिसभाले बजेटसम्बन्धी प्रतिस्थापन विधेयक पारित नगरेपछि आजदेखि सरकारी खर्च गर्न पाइने छैन्।

प्रतिस्थापन विधेयक भदौ ३० गतेभित्र संसदबाट पारित गरिसक्नुपर्नेमा सभामुखले प्रतिनिधिसभाको बैठक असोज ४ गते मंगलबारका लागि बोलाएकोले ‘बजेट होलिडे’ को अवस्था सिर्जना भएको छ ।

तत्कालिन पुर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले असार ३० गते बजेट विधेयक पेश गरेका थिए। यो ६० दिनभित्र पास गरिसक्नुपर्ने संवैधानिक व्यवस्था छ। संसद पेश भएको ६० दिनभित्र पास नभए अनिवार्य निस्क्रिय हुने संवैधानिक व्यवस्था रहेको छ।

संवैधानिक व्यवस्थाअनुसार तत्कालीन अर्थमन्त्री पौडेलले गत जेठ १५ गते अध्यादेशमार्फत ल्याएको बजेट बुधबारसम्ममा संसदबाट अनुमोदन गरिसक्नु पर्ने अवस्था थियो। तर प्रतिनिधिसभा बैठक असोज ४ सम्मका लागि स्थगन भएपछि अध्यादेशको बजेटलाई प्रतिस्थापन गर्न ल्याइएको विधेयकमाथिको छलफल प्रक्रिया नै अघि बढेन।

बुधबार राति १२ बजेबाट सरकारी खर्च रोकिए पछि अब कहिलेसम्म रोकिन्छ भन्ने अन्योलता बढेको छ। भदौ ३१, असोज १, ४, ५ गतेसम्म सरकारी खर्च रोकिने देखिएको छ। सरकारले असोज ४ गते प्रतिनिधि सभा र असोज ५ गते राष्ट्रिय सभाबाट बजेट पास गर्ने र तुरुन्तै राष्ट्रपतिबाट प्रमाणीकरण गर्ने तयारी गरेको स्रोतले जनाएको छ।

सरकारी खर्च गर्न कानूनीरूपमा नमिल्ने भएपनि सरकारले राजस्व संकलन, अनुदान, शोधभर्ना लगायत शीर्षकमा रकम संकलन गर्न सक्नेछ। भदौ २५ गते आर्थिक अध्यादेश संसदमा पेश भई कार्यान्वयनमा गइसकेकाले राजश्व संकलनमा कुनै बाधा पर्ने छैन।

‘बजेट होलिडे’ को अवस्था तीन वर्ष अघि अमेरिकामा पनि आएको थियो। तीन वर्षअघि बजेट पारित नभएर सार्बजनिक खर्च गर्न नसक्ने अवस्था आएपछि सबै सरकारी कार्यालय ३५ दिनसम्म बन्द गरिएको थियो।

तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोसँगको सीमामा पर्खाल लगाउने कार्यक्रमसहित बजेट पेस गर्दा संसद्ले विरोध जनाउँदै तोकिएकै मितिमा बजेट पास नगरेपछि ‘बजेट होलिडे’को अवस्था सिर्जना भएको थियो।