काठमाडौँ – अर्थ मन्त्रालयले चालू आर्थिक वर्षका लागि बजेट प्रतिस्थापन विधेयक भदौ २४ गते संसदमा दर्ता गर्ने तयारी थालेको छ ।
पूर्ववर्ती सरकारले अध्यादेशमार्फत ल्याएको बजेट प्रतिस्थापन गर्न सरकारले विधेयक ल्याउन लागेको हो । विधेयक तयार पारेर राखिएको मन्त्रालय स्रोतले जनाएको छ । बजेट अध्यादेशमा उल्लेखित बजेटको आकारसमेत परिवर्तन गरिएको स्रोतले जनाएको छ ।
भदौ १९ गते बसेको मन्त्रिपरिषद् बैठकले भदौ २४ गते संसद बैठक बोलाउने निर्णय गरिसकेको छ ।
तयार गरिएको विधेयक संसदमा पेश गर्नुअघि सरकारले प्रतिपक्षी दल नेकपा (एमाले) का गतिविधि आंकलन गर्ने भएको छ । बुधबार बस्ने संसद बैठकमा सो दलको गतिविधि हेर्ने र बिहीबार संसदमा विधेयक दर्ता गराउने अर्थको तयारी छ ।
विधेयक दर्ता भएको एक साताभित्रै आवश्यक छलफल गरी विधेयक स्वीकृत गर्ने सरकारको योजना छ । आफू सरकारमा रहँदा ल्याएको बजेट अध्यादेश विस्थापित गर्न प्रतिस्थापन विधेयक ल्याउन खोजिएको भन्दै विरोध गरिरहेको एमालेले भने बुधबार बस्ने संसद बैठक नै अवरोध गर्नसक्ने आंकलन छ ।
ओली नेतृत्वको सरकारले निर्वाचन क्षेत्र रणनीतिक सडक कार्यक्रमअन्तर्गत पूर्वतयारी र बजेट नै सुनिश्चित नगरी अघि बढाएको २ हजारभन्दा बढी सडकमा नयाँ ठेक्का लगाउन रोकिसकेको छ । आफूले ल्याएको बजेट र योजना नै रोकिएकोप्रति एमाले असन्तुष्ट छ ।
केपी शर्मा ओली नेतृत्वको पूर्ववर्ती सरकारले अध्यादेशमार्फत चालू आर्थिक वर्षका लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँ बराबरको बजेट ल्याएको थियो । ओली सत्ताच्युत भएपछि बनेको वर्तमान सरकारले सो अध्यादेशलाई प्रतिस्थापन गर्नेगरी विधेयक ल्याउन खोजेको हो ।
प्रतिक्रिया