देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

यात्रुवाहक सवारी भाडा २८ प्रतिशतले बृद्धि

देशान्तर

काठमाडौँ — सरकारले यात्रुवाहक सवारीमा २८ प्रतिशत भाडा बढाएको छ । पहाडी बाटोमा चल्ने मालवाहक सवारीमा २० र तराईमा सञ्चालन हुने मालवाहक सवारीमा २६ प्रतिशत भाडा वृद्धि गरिएको यातायात व्यवस्था विभागले जनाएको छ ।

सार्वजनिक यातायात सञ्चालनसँग सम्बन्धित लगानी तथा खर्च सम्बन्धमा विभागले गरेको बजार अध्ययन, विश्लेषण र सरोकारवाला पक्षसँग गरिएको परामर्शअनुसार भाडा वृद्धि गरिएको विभागको भनाइ छ ।

श्रमिकको पारिश्रमिक, इन्धन, टायर, ब्याज, सञ्चालन खर्च ह्रासकट्टी, सञ्चालन मुनाफालगायत मुख्य सूचकमा देखिएको मूल्यवृद्धिका आधारमा भाडा समायोजन गरिनुपर्ने सम्बन्धमा असार २७ मा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट सहमति प्राप्त भएको विभागले जनाएको छ ।

विभागले समायोजन गरेको भाडालाई आधार मानी स्थानीयस्तरमा भाडा समायोजनका लागि सम्बन्धित प्रदेश यातायात मन्त्रालयमा निवेदन दिन भनिएको छ । स्थानीयस्तरको भाडा समायोजनका लागि आवश्यक काम गर्न जानकारी गराइएको पनि विज्ञप्तिमा उल्लेख छ ।

महासंघ र यातायात मजदुर संगठनले लामो समयदेखि पेट्रोलियम पदार्थको मूल्य बढेको भन्दै भाडा समायोजनको माग गर्दै आएका थिए ।