काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रवादी नभएर अवसरवादी भएको टिप्पणी गरेका छन् । सोमबार नेविसंघको स्थापना दिवसको कार्यक्रमलाई काठमाडौंमा सम्बोधन गर्दै सभापति देउवाले ओली राष्ट्रवादी नभएर अवसरवादी भएको बताएका छन् ।
उनले ओली भारतको शरणमा परेको बताउदै भने, ‘हिजो सबभन्दा राष्ट्रवादी भन्ने ओली अहिले इन्डियाको त्वम् शरणम् भएका छन् । भारतविरोधी नाराबाट झुल्केका ओली, अहिले भारतको टाङमुनि छिरिसकेका छन् । कहाँ छ राष्ट्रवाद ?’
अहिले एमाले र माओवादी केन्द्रको सरकार रहेको भन्दै देउवाले माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नलिएसम्म नयाँ सरकार बन नसक्ने बताए ।
उनले भने, ‘प्रचण्डले फिर्ता लिएको छैन, प्रचण्डले फिर्ता नलिएसम्म बहुमतको सरकार छ, बहुमतको सरकार हुँदासम्म के गर्ने । प्रचण्डले फिर्ता लिए पनि जसपाले उसलाई समर्थन गर्न खोजिरहेका छन् ।’
प्रतिक्रिया