देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सर्वोच्चको आदेश विपरीत पशुपति क्षेत्रमा इसाइ धर्मावलम्बीको पक्की चिहान

देशान्तर

काठमाडौं । सर्वोच्च अदालतको आदेशविपरीत विश्व सम्पदा सूचीमा सूचिकृत पशुपति क्षेत्रमा इसाई (क्रिश्चियन) धर्मावलम्बीको शव गाड्ने र पक्की चिहान बनाउने क्रम बढेको छ ।

सनातन धर्मावलम्बीको आस्थाको केन्द्र पशुपतिनाथ मन्दिर क्षेत्रमा इसाई धर्मालम्बीको शव गाडिएकोप्रति सनातन धर्म महासंघ नेपालले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

इसाई धर्मावलम्बीको उक्त काम गैरकानुनी र अवाञ्छित भएको महासंघका महासचिव अभिषेक जोशीले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । सर्वाेच्च अदालतको विसं २०६८ जेठ १ गतेको परमादेशअनुसार पशुपतिनाथको वनक्षेत्रमा इसाई (क्रिश्चियन) धर्मावलम्बीलाई शव गाड्न निषेध गरिएको छ ।

महासंघले चैत २६ मा श्लेषमान्तक वन निरीक्षण गर्दा इसाई धर्मावलम्बीद्वारा निर्माण गरिएका नयाँ पक्की चिहान फेला परेको महासचिव जोशीले बताए । यसबारे सरोकार भएका निकायको ध्यानाकर्षण गराइएको महासंघले जनाएको छ ।

सर्वाेच्च अदालतको आदेश, पशुपति क्षेत्र विकास कोष ऐन २०४४ तथा नेपालको संविधानको उल्लंघन भइरहँदा पशुपति क्षेत्र विकास कोषलाई त्यस्ता गतिविधिहरूबारे जानकारी छ/छैन भनी महासचिव जोशीले प्रश्न गरेका छन् ।

श्लेषमान्तक वनको संरक्षण, संवर्द्धन तथा सरसफाइ पनि हुन नसकेको निरीक्षणका क्रममा देखिएको उनले सुनाए । वनमा खुलेयाम रुपमा दिसापिसाब, अनैतिक क्रियाकलाप, प्लास्टिकजन्य फोहर, बेवारिसे शव, रक्सीका बोतल फेला परेका छन् ।

पशुपतिनाथजस्तो धार्मिक स्थल सबै प्रकारले सुरक्षित, मर्यादित र सफासुग्घर हुनुर्ने महासंघको माग छ । कोषले पनि यस विषयमा प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने विज्ञप्तिमा उल्लेख छ ।