काठमाडौँ – तीन राजनीतिक दल र एमालेभित्रको एक पक्षको सहयोगमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव अघि बढाउने जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले बताएका छन् । मंगलबार गृह जिल्ला गोरखामा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले कांग्रेस, नेकपा माओवादी, जनता समाजवादी पार्टी र एमालेभित्रको एक पक्षको साथ र सहयोगमा प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव छिट्टै अघि बढ्ने बताए ।
‘प्रधानमन्त्रीको वैकल्पिक उम्मेदवार को भन्ने प्रश्न छ, जो पनि हुन सक्छ । कुनै पनि पार्टीको स्पष्ट बहुमत छैन । त्यति ठूलो अन्तर पनि छैन,’ उनले भने, ‘कांग्रेस माओवादी र जनता समाजवादी तीनै थरीको दाबीमा अन्यथा भन्न हुँदैन । तीनै पक्षको दाबी रहन सक्छ तर यही कारणले केपी शर्मा ओलीको लोकतन्त्र विरोधी अभियानलाई बल पुग्ने कामचाहिँ हुन दिँदैनौं ।’
तीन पक्ष र र चौथो पक्षसँग समझदारी र सल्लाह गरेर प्रधानमन्त्रीको उम्मेदवार टुंग्याउने उनले बताए । संविधान अनुसार अविश्वासको प्रस्ताव लैजाँदा प्रधानमन्त्रीको वैकल्पिक उम्मेदवार दिनुपर्ने भएकाले प्राविधिक हिसाबले माओवादीले समर्थन फिर्ता नलिएको उनले बताए ।
प्रतिक्रिया