देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

संविधान नेपालको ठूलो उपलब्धिः प्रथम राष्ट्रपति यादव

देशान्तर

बर्दिवास । पूर्वराष्ट्रपति डा रामवरण यादवले वर्तमान संविधान सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको ठूलो उपलब्धि भएको बताएका छन् । महोत्तरीको बर्दिवासमा बुधबार नगर पत्रकार सञ्जाल बर्दिवास र बर्दिवास नगरपालिकाले आयोजन गरेको चुरेक्षेत्र संरक्षण र संवद्र्धन विषयक एकदिने कार्यशाला गोष्ठीको उद्घाटन गर्दै डा यादबले अब मधेसका माग सम्बोधन गरेर यो संविधानलाई अझ समृद्ध बनाउनुपर्ने बताए ।

मुलुक अब आर्थिक समृद्धिको चरणमा प्रवेश गरेकाले यो राष्ट्रिय अभिभारा सम्पूर्ण नेपालीको सामूहिक प्रयत्नबाट पूरा गर्न सकिने डा यादवको भनाइ थियो । यसका लागि संविधानमा आफ्ना माग सम्बोधनको कुरा उठाइरहेकालाई राजनीतिको मूलधारमा ल्याउन सरकार र राजनीतिक दलले तत्परता देखाउनुपर्ने उनले बताए । ‘मधेसका दलले संविधानमा आफ्ना कुरा सम्बोधन हुन बाँकी रहेको बताउँदै आएका छन्’, पूर्वराष्ट्रपति डा यादवले भने,  ‘यो अवस्था लम्बिरहनु मुलुकको राष्ट्रिय एकताको मजबुतीका लागि हितकर हुन सक्दैन ।’

मधेसवादी दलले संविधान ऐतिहासिक उपलब्धि भएको आत्मसात् गरेर आफ्ना थप कुराबारे माग उठाउने र सरकार र मुख्य राजनीतिक दल मधेसवादी दलको मागमा लचिलो भए समस्याको समाधान हुने डा यादवको निचोड थियो ।  कार्यक्रममा डा यादवले पहाडी र मधेसी मूलका नेपालीको बसोबास क्षेत्रको साझा चासो रहेको चुरे क्षेत्रको संरक्षण र संवद्र्धन पनि साझा प्रयत्नबाटै हुनसक्ने बताए । चुरे पर्वत शृङ्खला मधेसको कृषि, खेतबारीको सुरक्षा, खानेपानी, वनसम्पदाको उपभोग र स्वस्थ जीवनसँग जोडिएकाले यसको संरक्षणमा खासगरी मधेसका बासिन्दाको पहलकदमी बढ्नुपर्ने डा यादवले औँल्याए ।

कार्यक्रममा चुरे जलाधारसम्बन्धी विज्ञ डा विजयकुमार सिंह र सागरनाथ वन विकास परियोजना महोत्तरी, सर्लाही र रौतहट, सागरनाथका प्रबन्धक ज्ञानेन्द्र मिश्रले चुरे क्षेत्र, यहाँको वन क्षेत्र, नदीनाला र जलाधार क्षेत्रको मानव मात्र नभएर जीवजगत्मा पर्ने प्रभाव र आवश्यकताबारे कार्यपत्र प्रस्तुत गरेका छन् । कार्यक्रम बर्दिवास नगरपालिकाका कार्यकारी अधिकृत रामकुमार कार्कीको अध्यक्षतामा सम्पन्न भएको थियो । 

]]>