देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

हनुमानढोका पुनःनिर्माण अझै सुरु भएन

देशान्तर

काठमाडौँ  । काठमाडौँको मुटुमा रहेको हनुमानढोका राजदरबार गत वर्षको वैशाख १२ मा आएको भूकम्पबाट ध्वस्त भएको एक वर्ष नाघिसक्दा पनि अझै पुनःनिर्माण कार्य सुरु भएको छैन ।  सरकारी स्तरबाट नै पुनःनिर्माण महाअभियान सुरु भएको सात महिना बितिसकेको छ, सरकारको कछुवा गतिका कारण राजधानीको केन्द्रमा रहेको हनुमानढोका राजदरबारसहित ऐतिहासिक महत्वको गद्दी बैठक अझै चारैतिर टेको लगाइएको अवस्थामा रहेको छ ।  

पृथ्वीनारायण शाहले निर्माण गरेको नौतले दरबारको तीन तला ध्वस्त भएको छ भने बाँकी ६ तलामा मानिसभित्र जानसक्ने स्थिति छैन । मल्लकालदेखि नै नेपाल अधिराज्यको शासन सञ्चालन गर्ने मुख्य केन्द्रका रुपमा रहेको हनुमानढोका राजदरबारबाट नारायणहिटी राजदरबारमा शाहवंशका राजा सर्नु अघिसम्म नेपाल अधिराज्यको शासन सञ्चालन हुँदै आएकाले यो दरबार ऐतिहासिक रुपमा निक्कै महत्वपूर्ण मानिन्छ ।  हनुमानढोका हेरचाह अड्डाका अनुसार कुल १४ वटा चोक रहेको त्यस क्षेत्रमा हाल नासल चोक, जहाँ चोक तथा भण्डारखाल चोक मात्र पर्यटक तथा सर्वसाधारणका लागि खुल्ला राखेको छ । अरू ११ वटा चोकमा भूकम्पबाट क्षतिग्रस्त भएका कारण मानिस भित्र जानसक्ने अवस्था नभएकाले बन्द गरिएको छ ।  

सो अड्डाका हेरचाह गर्न खटिएका अधिकारी सानु महर्जनका अनुसार हनुमानढोकाभित्र रहेको मोहन चोक र कालँदम चोक पनि भूकम्पबाट अस्तव्यस्त भएकाले त्यहाँ सर्वसाधारणलाई हेर्न तथा भ्रमण गर्न रोक लगाइएको छ । चारैतर्फबाट चार दिशामा अवलोकन गर्न सकिने भएकाले विदेशी पर्यटकले हनुमान ढोका छिरेपछि नौतले दरबारबाट अवलोकन गरी भरपुर आनन्द लिने इच्छा राख्ने गरेको उनले जानकारी दिए । धेरै चर्किएर क्षतिग्रस्त भएका कारण त्रिभुवनस्मृति कक्षमा पनि मानिस भित्र पस्नसक्ने स्थिति छैन ।

नौतले दरबारको पुनःनिर्माण कार्य सुरु गर्ने इच्छा जनवादी गणतन्त्र चीनले देखाएको र चीनबाट आएका विभिन्न टोलीले पटक पटक हनुमानढोका परिसरको भ्रमण गरिसकेको महर्जनले जानकारी दिए । यस परिसरभित्र हालसम्म पुनःनिर्माण कार्य सुरु गर्न सरकारले तदारुकता देखाएको छ कि छैन भन्ने रासस संवाददाताको प्रश्नको जवाफमा उनले भने– ‘सरकारका तर्फबाट हालसम्म त्यस्तो कुनै पहल भएको छैन ।’

हनुमानढोका परिसरको अवलोकनका लागि रामेछापबाट आएका रामकृष्ण ज्ञवालीले भने– ‘हनुमानढोका र नासल चोकभित्र छिरेपछि चारैतर्फ टेको लगाइएको तथा क्षतिग्रस्त राजदरबार परिसर तथा राजाको अनुपस्थिति र त्यहाँ दर्शकका लागि हेर्न राखिएको राजाको सिंहासन तथा राजपरिवारको विवाह तथा मृत्युमा प्रयोग गरिने पालकीको अवलोकनबाट जो कोही पनि विरक्त हुनेछन् ।’ तर आन्तरिक व्यवस्थापनबाट पञ्चमुखी हनुमानको पुनःनिर्माण भइसकेको अड्डाका हेरचाह गर्न खटिएका अधिकारी महर्जनले जानकारी दिए । पाँचतले सो पञ्चमुखी हनुमानको मन्दिरको तीन तला भूकम्पबाट क्षतिग्रस्त भएको थियो र सो मन्दिरसँग जोडिएको कार्यालय कक्षको पनि पुनःनिर्माण गरी कार्यालय सञ्चालनमा ल्याइएको छ ।  

]]>