काठमाडौँ – नेपाल र बंगलादेशबीचको दोस्रो अन्तराष्ट्रिय मैत्रीपूर्ण खेल आज हुँदैछ । ढाकास्थित बंगबन्धु रंगशालामा हुने खेल नेपाली समायानुसार अपराह्न ४:४५ बजे सुरु हुनेछ । ‘मुजिब वर्ष फिफा अन्तर्राष्ट्रिय फुटबल सिरिज’ अन्तर्गत रहेको दोस्रो मैत्रीपूर्णमा नेपाल जित निकाल्ने लक्ष्यमा हुनेछ । पहिलो खेलमा पराजित नेपाल दोस्रो खेलमा जित निकाल्दै मैत्रीपूर्ण खेलको सुखद अन्त्य गर्न चाहन्छ ।
शुक्रबार भएको पहिलो खेलमा नेपाल बंगलादेशसँग २-० ले पराजित भएको थियो । नेपाल त्यस हारको बदलासमेत लिन चाहन्छ । नेपाली टिमका मुख्य प्रशिक्षक बल गोपाल महर्जनले जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने बताएका छन् । बंगलादेशविरुद्धको दोस्रो खेलमा रजिन धिमाल सुरुवाती-११ रहँदै मैदान उत्रने सम्भावना रहेको छ । कोरोना पोजेटिभ देखिएपछि धिमालले अघिल्लो खेल गुमाएका थिए । धिमाल कोरोना मुक्त भईसकेका छन् ।
यता, बंगलादेश भने नेपालविरुद्ध लगातार दोस्रो खेलमा जित निकाल्न चाहन्छ । यस्तै बंगलादेश जित निकाल्दै ‘मुजिब वर्ष फिफा अन्तर्राष्ट्रिय फुटबल सिरिज’ को ट्रफी आफैँ राख्न चाहन्छ । फिफा विश्वकप छनोटको दोस्रो चरण खेलिरहेको नेपालले तयारीका लागि मैत्रीपूर्ण खेल खेलिरहेको हो । कतारमा २०२२ मा हुने विश्वकप र चीनमा २०२३ मा एसियन कप छनोटमा नेपालले अब ३ घरेलु खेल खेल्न बाँकी रहेको छ । अब नेपालले अष्ट्रेलिया, जोर्डन र चाईनिज ताईपेसँग खेल्न बाँकी रहेको छ ।
प्रतिक्रिया