काठमाडाैँ – आइपिएल क्रिकेटमा चेन्नई सुपरकिंग्स लगातार तेस्रो खेलमा पराजित भएको छ। चेन्नईलाई शुक्रबार राति भएको खेलमा सनराइजर्स हैदरावादले ७ रनले पराजित गरेको हो। पहिलो खेलमा जित निकालेको चेन्नई त्यसपछिका तीन खेलमा पराजित भइसकेको छ। जसका कारण चेन्नई २ अंकसहित अंक तालिकाको पुछारमा छ। हैदरावाद भने चार खेलबाट चार अंक जोड्दै अंक तालिकाको चौथो स्थानमा छ।
दुबईमा टस जितेर पहिले ब्याटिङ गरेको हैदरावादले २० ओभरमा ५ विकेटको क्षतिमा १६४ रन जोड्यो। जोनी वायस्टो पहिलो ओभरमा रनको खाता नै खोल्न नपाइ आउट भएका थिए। त्यसपछि कप्तान डेभिड वार्नरले २८ रन र मनिष पाण्डेले २९ रन बटुले। केन विलियमसन ९ रनमै रनआउटको सिकार भए। त्यसपछि प्रियम गार्ग र अभिषेक शर्माले हैदरवादको इनिङ उकासे। प्रियमले २६ बलमा नटआउट ५१ रनको योगदान दिए। अभिषेकले २४ बलमा ३१ रन जोडे।
लिङमा चेन्नईका दिपक चाहरले २ विकेट लिए। १६५ रनको लक्ष्य पछ्याएको चेन्नईले २० ओभरमा ५ विकेटको क्षतिमा १५७ रन मात्र जोड्न सक्यो। चेन्नईका लागि रविन्द्र जडेजाले ५० रन र कप्तान महेन्द्रसिंह धोनीले नटआउट ४७ रन जोडे पनि जितका लागि पर्याप्त हुन सकेन। धोनीले ३६ बलमा ४ चौका र १ छक्का हिर्काए। जडेजाले ३५ बलमा ५ चौका र २ छक्का प्रहार गरे।
बलिङमा हैदरावादका टी नटराजनल २ विकेट लिए भने भुवनेश्वर कुमार र अब्दुल समादले १(१ विकेट लिए। आइपिएलमा शनिबार दुई खेल हुँदैछन्। रोयल च्यालेन्जर्स बेंग्लोर र राजस्थान रोयल्सबीच पौने चार बजे तथा दिल्ली क्यापिटल्स र कोलकता नाइटराइडर्सबीच पौने आठ बजे खेल हुनेछ।
प्रतिक्रिया