देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रदेश ५ काे राजधानी दाङ बनाउने निर्णयविरुद्ध बुटवलमा प्रदर्शन, कांग्रेसले आन्दोलन गर्ने !

देशान्तर

काठमाडौं । प्रदेश ५ को स्थायी राजधानी दाङको देउखुरीमा बनाउने प्रस्तावको बुटवलमा विरोध भएको छ । रूपन्देहीलाई राजधानी बनाउन माग गर्दै नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले विरोध प्रदर्शन गरेको हो ।

प्रदेश सभाको शुक्रबारको बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले प्रदेश सरकारको प्रदेशको नामाकरण र स्थायी राजधानीको प्रस्ताव पेश गरेका थिए । दाङको भालुवाङ बजारलाई केन्द्रमा राखेर राप्ती, गढवा र अर्घाखाँचीको शीतगंगा गाउँपालिकालाई जोडेर प्रदेश राजधानी बनाउने निर्णय गरेपछि बुटवलमा विराेध भएकाे हाे ।

नेविसंघले टायर बालेर विराेध जनाएकाे छ । साथै बुटवल ट्राफिक चोकमा कृषि मन्त्रालय योजना महाशाखाको लु १ झ ४२१ नम्बरको गाडी तोडफोड भएको छ । गाडी तोडफोड भएलगत्तै प्रहरी पुगेको कारण धेरै ठूलो क्षति हुन पाएन ।

यस्तै शुक्रबार नै कांग्रेस रूपन्देहीका सभापति अब्दुल रज्जाकले एक विज्ञप्ति जारी गर्दै दाङ राजधानी राख्ने निर्णयकाे विराेध जनाएका छन् । सरकारको प्रस्तावविरूद्ध कडा आन्दोलन गर्ने चेतावनी समेत उनले दिएका छन् ।

सभापति रज्जाकद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘संसदीय मर्यादाविपरीत विपक्षी सांसदहरूसँग विना कुनै छलफल र बहुसंख्यक जनताको भावनालाई कुल्चिँदै गरिएको प्रस्तावले हामीलाई निकै स्तब्ध र मर्माहत बनाएको छ । यस्तो प्रस्तावको खिलापमा कडाभन्दा कडा खालका आन्दोलनहरू सञ्चालन गर्ने जानकारीसमेत दिन चाहन्छौँ ।’ साथै उनले सरकारकाे निर्णयविरूद्ध चरणवद्ध आन्दोलनमा उत्रिन जिल्लावासीलाई अपिल समेत गरेका छन् ।