देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

इटालियन सिरी ‘ए’ मा रोनाल्डोको कीर्तिमान, युभेन्टस उपाधि उन्मुख

देशान्तर

इटालियन सिरी ‘ए’ फुटबलमा शीर्ष स्थानको युभेन्ट्सले सहज जित निकालेको छ । शनिबार भएको खेलमा टोरिनोलाई ४–१ गोल अन्तरले पराजित गर्दै युभेन्ट्सले सहज जित दर्ता गरेको हो ।

गोलकिपर जियानलुइजी बुफोनले कीर्तिमान बनाएको खेलमा युभेन्ट्सलाई जित दिलाउन क्रिस्टियानो रोनाल्डो, पाउलो डिबाला र जुवान कोर्डाडोले एक एक गोल गरे ।

टोरिनोको आन्द्रे बेलोट्टीले एक गोल फर्काउदा कोफी डिज्जीले एक आत्मघाती गोल गरे । घरेलु मैदानमा खेलको तेस्रो मिनेटमा डिबालाले गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाए । २९ औं मिनेटमा जुवानले गोल गर्दा युभेन्ट्स २–० ले अघि रह्यो ।
पहिलो हाफको इन्जुरी समयमा टोरिनोका बेलोट्टीले पेनाल्टीमा गोल गर्दै खेल २–१ को स्थितिमा ल्याए ।
खेलको ६१ औं मिनेटमा रोनाल्डोले फ्रिकिकमा गोल गर्दै युभेन्ट्सलाई ३(१ को अग्रता दिलाए । युभेन्ट्स आएपछि रोनाल्डोले पहिलो पटक फ्रिकिकबाट गोल गरेका हुन् ।

यस्तै रोनाल्डो सन् १९६१ पछि एकै सिजन २५ गोल गर्ने युभेन्ट्सका पहिलो खेलाडी बनेका छन् । ६० वर्ष अघि ओमार सिभोरीले एकै सिजन २५ गोल गरेका थिए ।
त्यसपछि खेलको ८७ औं मिनेटमा टोरिनोका कोफीले आत्मघाती गोल गर्दा युभेन्ट्सले ४(१ को जित निकाल्यो । जितसँगै युभेन्ट्सले शीर्ष स्थानमा ७ अंकको अग्रता बनाएको छ ।

युभेन्ट्सले ३० खेलमा ७५ अंक जोडेको छ । दोस्रो स्थानको लाजियोको ६८ अंक रहेको छ । लाजियोले एक खेल कम खेलेको छ । टोरिनो ३१ अंक जोडेर १५ औं स्थानमा रहेको छ ।

यस्तै गोलकिपर बुफोनले यसै खेलबाट सिरी ‘ए’ लिगमा सर्वाधिक खेल खेल्ने खेलाडीको कीर्तिमान बनाए । टोरिनोविरुद्धको खेलसँगै बुफोनले सिरी ‘ए’ फुटबलमा ६ सय ४८ औं खेल पुरा गरे ।

४२ वर्षे बुफोनले एसी मिलानका पूर्व डिफेन्डर पाउलो माल्दिनीको कीर्तिमान भंग गरेका हुन् ।