देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कतार एयरको एउटै फ्लाइटमा आएका थिए तीन संक्रमित, १८ यात्रु अझै भेटिएनन्

देशान्तर

काठमाडौं । चैत ४ गते कतार एयरलाइन्सको क्युआर– ६५२ फ्लाइटमा काठमाडौं आएका तीन नेपालीमा कोरोना पुष्टि भएको छ ।

दुई युवतीमा यसअघि नै कोरोना देखिएकोमा बिहीबार अर्की एक महिलामा पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । उनी बेल्जियमबाट दोहा हुँदै आएकी थिइन्न् ।

सो उडानमा आएका एक सय ५८ मध्ये १८ यात्रु कहाँ छन् अझै पत्तो लागेको छैन । एक सय ४० यात्रु भेटाएको र अधिकांशको नमुना परीक्षण पनि भइसकेको प्रहरीले जनाएको छ । ‘विमानमा ४८ जिल्लाका यात्रु आएका थिए । १८ जना अझै भेटिएका छैनन् । सम्पर्क नगर्नेलाई पक्राउ गरेर मुद्दा चलाउने प्रहरीको तयारी छ,’ नेपाल प्रहरीका प्रवक्ता एसएसपी उमेशराज जोशीले बताए ।

त्यस्तै, ६ चैतमा शारजहाबाट आएको एयर अरेबियाको विमानका २९ यात्रु पनि भेटिएका छैनन् । उक्त विमानमा एक सय ७० सवार रहेकोमा धादिङका एक युवकमा संक्रमण पुष्टि भइसकेको छ । विमानमा ४५ जिल्लाका यात्रु रहेको र २९ जनाको सम्पर्क नम्बर समेत नपाइएकाले खोज्न समस्या भएको प्रहरीले जनाएको छ ।

६ चैतमै भिस्तारा एयरमा दिल्लीबाट आएका कैलालीका युवकमा पनि संक्रमण पुष्टि भएको छ । सो विमानमा ३० जिल्लाका एक सय ३० सवार थिए । जसमध्ये बिहीबार बेलुकासम्म ५१ जना भेटिएका छन् ।

बुद्ध र यतीका यात्रुको पनि खोजी
नेपालमा बिहीबारसम्म पुष्टि भएका ६ संक्रमितमध्ये तीन जनाले आन्तरिक उडान पनि प्रयोग गरेका थिए । बाग्लुङका दुई संक्रमित महिला ४ चैतमै यती एयरलाइन्समार्फत काठमाडौंबाट पोखरा गएका थिए ।

उक्त उडानमा ५७ यात्रु थिए । जसमध्ये ११ जनालाई प्रहरीले फेला पारेर क्वारेन्टाइनमा बस्न भनेको छ । दुवै महिला पोखराबाट जिपमा सँगै बाग्लुङ गएका थिए । गाडीमा सवार व्यक्तिहरूको पनि खोजी भइरहेको छ । त्यस्तै, धनगढीका संक्रमित युवा ८ चैतमा काठमाडौंबाट बुद्ध एयरमा नेपालगन्ज गएका थिए । जसमा ७१ यात्रु थिए । बिहीबारसम्म ३० जना मात्रै सम्पर्कमा आएको प्रहरीले जनाएको छ ।

कोरोना संक्रमण नियन्त्रणका लागि कन्टाक्ट ट्रेसिङ (संक्रमितको खोजी) प्रभावकारी हुने भए पनि नेपालमा संयुक्त संयन्त्र नहुँदा समस्या भएको छ । स्वास्थ्य सेवा विभाग र प्रहरीले छुट्टाछुट्टै टोली बनाएर आ–आफ्नै तरिकामा काम गरिरहेका छन् । नयाँ पत्रिका दैनिकबाट