देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कोरोना संक्रमित फुटबलर माल्डिनीका बाबु-छोरा ठिक हुँदै

देशान्तर

इटली । कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएका एसी मिलान र इटालियन फुटबलका पूर्वमहान हस्ती पाब्लो माल्डिनी यो हप्तासम्ममा पूरा निको भइसक्ने मिलानले जनाएको छ।

आफ्नै पूर्वक्लब मिलानमा प्राविधिक निर्देशकका रूपमा कार्यरत माल्डिनी र उनका १८ वर्षीय छोरा ड्यानिअललाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको थियो। माल्डिनीका छोरा ड्यानिअल मिलानका वर्तमान खेलाडी हुन्।

दुवै माल्डिनी बाबु(छोरा दुई हप्तादेखि आफ्नै घरमा आइसोलेसनमा थिए। इटाली सरकारले बनाएको बाध्यकारी प्रावधानअनुसार उनीहरू अझै पनि केही समय क्वारेन्टाइनमा बस्न सक्नुपर्नेछ। तर मिलानले दुवै बाबु(छोरा ठिक भइसकेको बताएको छ।

माल्डिनी स्वयमले पनि इन्स्टाग्राममा भिडियो सन्देश पोस्ट गर्दै आफूहरूले राम्ररी स्वास्थ्यलाभ गरिरहेको र केही दिनमा पूरा ठिक हुने विश्वास व्यक्त गरेका छन्। भिडियो सन्देशमा माल्डिनीले सबै शुभचिन्तकलाई धन्यवाद पनि दिएका छन्।

‘यो भिडियोमार्फत म हाम्रो स्वास्थ्यलाभको कामना गर्ने सबै शुभचिन्तकलाई धन्यवाद दिन चाहन्छु। अहिले म र मेरो छोरा दुवै जना ठिक छौं। केही दिनमा पूरा ठिक हुनेछौं,’ माल्डिनीले भिडियोमा भनेका छन्, ‘यस्तो महामारीको बेला दिनरात काममा खटिने ती साहसी डाक्टर, नर्स, स्वास्थ्यकर्मी, सरकार, कानुन पालना गराउने अधिकारीहरू सबैलाई धन्यवाद दिन चाहन्छु। फेरि एकपटक तपाईंहरू सबैले हामीलाई इटालियन हुनुको गौरवबोध गराउनुभएको छ। धन्यवाद।’

कोरोना भाइरसको महामारीबाट सबैभन्दा बढी प्रभावित भएको इटालीमा ६ हजारभन्दा बढीले यही भाइरसका कारण ज्यान गुमाइसकेका छन्।